गृहपृष्ठ वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात
वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात
वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १० अर्ब १९ करोडअर्थात् १५ प्रतिशत बढी आयात भएको हो। जबकी गत आवको नौ महिनामा भने ६९ अर्ब ३५ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै १५ प्रतिशत निर्यात बढेको बताए। यो नाका हुँदै चालु आवको नौ महिनामा ४३ अर्ब ६१ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ। जबकि गत आवको सोही अवधिमा भने ३६ अर्ब ६२ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको थियो।
चालु आवको नौ महिनामा पाँच अर्ब ८४ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ भने गत आवको सोही अवधिमा भने पाँच अर्ब ७७ करोड मूल्य बराबरको निर्यात भएको थियो।
त्यस्तै, चालु आवको नौ महिनामा पाँच अर्ब २४ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने ५९ करोड मूल्यको मात्रै भएको थियो। चालु आवको नौ महिनामा पाँच अर्ब पाँच करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने छ अर्ब ६१ करोड मूल्यको भएको थियो। चालु आवको नौ महिनामा दुई अर्ब ६९ करोड मूल्यको विभिन्न किसिमका कपडा निर्यात भयो।
त्यस्तै, चालु आवको नौ महिनामा एक अर्ब ९४ करोड मूल्य पर्ने सिन्थेटिक यार्न निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ। रासस
प्रकाशित समय : ११:५८ बजे



















