nmb bank

गृहपृष्ठ राजनीति दलको सिफारिसमा भएका नियुक्तिले वास्तविक साहित्यिक प्रतिभा उपेक्षित : कवि न्यौपाने

राजनीति दलको सिफारिसमा भएका नियुक्तिले वास्तविक साहित्यिक प्रतिभा उपेक्षित : कवि न्यौपाने

राजनीति दलको सिफारिसमा भएका नियुक्तिले वास्तविक साहित्यिक प्रतिभा उपेक्षित : कवि न्यौपाने

काठमाडौं । छन्द कवि चन्द्रप्रसाद न्यौपानेले साहित्य क्षेत्रमा राजनीतिक नियुक्ति र राज्यले साहित्यकारप्रति देखाएको उदासीनताबारे गम्भीर टिप्पणी गरेका छन् ।

उनले साहित्यिक संस्थाहरूमा योग्यताको आधारमा नभई राजनीतिक पहुँचका आधारमा नियुक्ति हुने प्रवृत्तिले नेपाली साहित्यको गुणस्तर र संस्थागत विश्वसनीयता कमजोर बनाएको आरोप लगाए ।

न्यौपानेले नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका साहित्यिक निकायहरूमा हुने नियुक्तिमा राजनीति हाबी भएको आरोप लगाए । उनका अनुसार साहित्य, काव्य, समालोचना, लोकसाहित्यलगायत विभिन्न विधामा गहिरो ज्ञान भएका व्यक्तिलाई अवसर दिनुको सट्टा दलगत निकटता र सिफारिसका आधारमा नियुक्ति हुने परम्परा बढ्दै गएको छ । प्रज्ञा प्रतिष्ठानजस्ता संस्थामा नियुक्त हुने व्यक्तिहरू सबै विधामा दक्ष र सक्षम हुनुपर्ने हो । तर व्यवहारमा राजनीतिक प्रभावका कारण यस्तो योग्यता मापन नहुने अवस्था रहेको उनले बताए ।

उनले भने,‘छन्द साहित्य नेपाल प्रज्ञा प्रतिष्ठानमा कुन राजनीति दलले कस्ता मान्छे पठाउँछ, छन्द मात्र नभएर साहित्य सम्बन्धि जुनसुकै विधामा छनोट गरेर नियुक्ति गर्यो भने प्रज्ञा प्रतिष्ठानमा त्यो राजनीति नियुक्ति हुन्छ । काव्य विधामा सबै किसिमले पोख्त हुनुपर्यो । जस्तो छन्द, गद्य–पद्य हरेक किसिमका छन्, त्यो ज्ञान हुनुपर्छ । कुनै पनि टिका टिप्पणी नहेरी जवाफ दिनसक्ने सक्षम व्यक्ति त्यहाँ हुनुपर्छ । त्यस्तो खालको नियुक्ति अहिले छैन, अहिले राजनीति नियुक्ति छ ।’

उनले राज्यले साहित्य र साहित्यकारलाई प्राथमिकतामा नराखेको पनि बताए । उनका अनुसार साहित्य समाजको चेतना निर्माण गर्ने महत्वपूर्ण आधार भए पनि राज्यस्तरमा यसको योगदानलाई पर्याप्त मूल्यांकन नगरिएको देखिन्छ । योग्य साहित्यकारहरू अवसरबाट वञ्चित भइरहँदा पहुँच भएका व्यक्तिहरूले मात्र स्थान पाउने अवस्था चिन्ताजनक भएको उनले उल्लेख गरे ।

उनले भने,‘कवि भनेको सर्वशक्तिमान सर्वधन सम्पत्ति सबै हो । उसको कवित्व शक्ति नै हो । जीवन चलाउने भनेको कविताबाटै हो । छन्द कविले योगदान दिएको, जीवनभर लागेका साहित्यकारहरुलाई राज्यले प्रमोट गरिरहेको छैन् । कतै कतै गरिएको होला तर त्यसमा पनि राजनीतिक दलहरुको सिन्डिकेट छ । वास्तविक प्रतिभालाई हेर्ने दृष्टिकोण नै छैन् । प्रतिभा अनुसारको मूल्यांकन भएको देखिदैन।’

न्यौपानेले साहित्यकारलाई केवल सम्मानको रूपमा होइन, नीति निर्माणमा समेत सहभागी गराउनुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार साहित्यकार समाजका मार्गदर्शक हुन्, जसले विचार, नैतिकता र चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्छन् । तर राज्यले उनीहरूको भूमिकालाई गम्भीर रूपमा नलिँदा सिर्जनात्मक क्षेत्र कमजोर हुँदै गएको उनले टिप्पणी गरे ।

उनले कवि र साहित्यकारको जीवन भौतिक सम्पत्तिसँग तुलना गर्न नमिल्ने बताए । उनका अनुसार सच्चा कवि सिर्जनामा तल्लीन हुन्छ र उसको सम्पत्ति भनेको विचार, ज्ञान र सिर्जना हो । तर राज्यले यस्तो योगदानको मूल्यांकन नगर्दा धेरै प्रतिभा निरुत्साहित हुने अवस्था आएको उनले उल्लेख गरे । उनले भ्रष्टाचारको परिभाषा केवल आर्थिक लेनदेनमा सीमित नराखी प्रतिभाको अवमूल्यन पनि भ्रष्टाचार हो भन्ने धारणा राखे ।

उनले साहित्य क्षेत्रमा राजनीतिक हस्तक्षेप घटाउँदै योग्यताको आधारमा नियुक्ति प्रणाली लागू गर्न राज्यलाई आग्रह गरे । साहित्यलाई प्राथमिकतामा राखेर मात्र समाज र राष्ट्रको बौद्धिक तथा सांस्कृतिक विकास सम्भव हुने उनको निष्कर्ष छ ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु