गृहपृष्ठ बिदाको दिन सरकारी सवारी दुरुपयोग : भैँसे–तिलखण्डीमा मदिरा सेवन र निजी प्रयोग, स्थानीयको आपत्ति र छानबिनको माग
बिदाको दिन सरकारी सवारी दुरुपयोग : भैँसे–तिलखण्डीमा मदिरा सेवन र निजी प्रयोग, स्थानीयको आपत्ति र छानबिनको माग
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित तिलखण्डी क्षेत्रमा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग गरिएको घटना सार्वजनिक भएको छ ।
कार्यालयको कामबाहेक पारिवारिक घुमघामका लागि सरकारी गाडी प्रयोग गरिएको देखिएपछि स्थानीयवासीले कडा आपत्ति जनाएका छन् । प्रत्यक्षदर्शी सुनिल वाइबाका अनुसार बिदाको दिन बागमती प्रदेश ०१–००२ झ ७१८४, बा २ भ १३९१ र प्रदेश ३–०३–००१ झ ००२८ नम्बरका सरकारी सवारीसाधनहरू होटल, भट्टी तथा मनोरञ्जनस्थलअगाडि लामो समयसम्म रोकिएका देखिएका थिए ।
ती सवारीमा आएका व्यक्तिहरू मदिरा सेवन तथा खानपिनमा संलग्न रहेको र कतिपय अवस्थामा परिवारका सदस्यसँगै घुमघाममा निस्किएको समेत देखिएको उनले बताए ।
स्थानीय कुमारी स्याङतानले जनताको करबाट सञ्चालन हुने सरकारी सवारीलाई निजी प्रयोजनमा प्रयोग गर्नु गम्भीर दुरुपयोग भएको बताइन् । ‘बिदाको दिनमै मदिरा सेवन र पारिवारिक घुमघामका लागि सरकारी गाडी प्रयोग हुनु निन्दनीय छ,’ उनले भनिन् ।
स्थानीयका अनुसार त्रिभुवन राजमार्ग अन्तर्गत पर्ने उक्त क्षेत्रमा बिदाका दिन ‘खाजा ब्रेक’का नाममा सरकारी सवारी रोकेर घण्टौँ बिताउने प्रवृत्ति बढ्दै गएको छ । साँझपख भट्टी तथा बारहरूमा समेत सरकारी गाडीको उपस्थिति देखिनु दुरुपयोगको स्पष्ट संकेत भएको उनीहरूको भनाइ छ ।
कानुनी व्यवस्थाअनुसार सरकारी सवारीसाधन कार्यालयीय प्रयोजनबाहेक अन्यत्र प्रयोग गर्न पाइँदैन । तथापि, व्यवहारमा यसको खुलेआम उल्लङ्घन भइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् । यस्ता गतिविधिमा प्रहरी तथा सम्बन्धित नियमन निकायबाट प्रभावकारी निगरानी र कारबाही नदेखिएको भन्दै उनीहरूले प्रश्न उठाएका छन् ।
एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने, ‘सामान्य नागरिकलाई सानो गल्तीमा कारबाही गर्ने निकायले सरकारी सवारी दुरुपयोगमा किन मौन रहन्छ ? कानून सबैका लागि समान हुनुपर्दैन ?’
स्थानीय अगुवा छिरिङ लामाले घटनाबारे तत्काल छानबिन गर्न माग गरेका छन् । ‘उक्त सवारी कुन निकायका हुन्, किन प्रयोग भए र कसको निर्देशनमा प्रयोग गरिए यसको यथाशीघ्र छानबिन हुनुपर्छ । दोषीमाथि कडा कारबाही नगरेसम्म यस्तो प्रवृत्ति रोकिन्न,’ उनले भने ।
उक्त घटनाले सरकारी स्रोत–साधनको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ । स्थानीय बासिन्दाले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूको भनाइमा यस्ता घटनामा बेवास्ता गरिए सरकारी स्रोतको दुरुपयोग अझ बढ्दै जानेछ र राज्यप्रति नागरिकको विश्वास कमजोर हुँदै जानेछ ।
प्रकाशित समय : १०:०० बजे



















