काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दोस्रो राष्ट्रिय मोही दिवस देशभर भव्य रूपमा सम्पन्न

1.93K
shares

काठमाडौं । ‘मोहीको विश्वास, स्वास्थ्यको विकास; घरघरमा फैलाऔं अभियानको प्रयास’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय मोही दिवस २०८२ देशभर उत्साहपूर्वक मनाइएको छ ।
नेपाल डेरी एसोसिएसनको नेतृत्वमा आयोजित यस दिवसका अवसरमा सातै प्रदेशमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएका थिए । हिजो सार्वजनिक गरिएको कार्ययोजनाअनुसार देशव्यापी रूपमा निःशुल्क मोही वितरण, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक गतिविधिहरू सम्पन्न भएका हुन् ।

एसोसिएसनका अनुसार, दिवसका अवसरमा देशभर स्थानीय डेरी उद्योगी र सरोकारवालाको सहकार्यमा सर्वसाधारणलाई निःशुल्क मोही वितरण गरिएको थियो । काठमाडौं उपत्यकामा विशेष अभियान सञ्चालन गर्दै काठमाडौं र ललितपुरका प्रमुख चोक, अस्पताल तथा सार्वजनिक स्थलहरूमा करिब ५ हजार लिटर मोही वितरण गरिएको जनाइएको छ । सातदोबाटोस्थित ट्राफिक कार्यालयलगायतका क्षेत्रमा भएको वितरण कार्यक्रममा उपभोक्ताको उल्लेखनीय सहभागिता देखिएको थियो ।

त्यसैगरी, लुम्बिनी प्रदेशमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो। नेपाल स्वयंसेवी रक्तदाता समाज र नेपाल मगर संघ रुपन्देहीसँगको सहकार्यमा बुटवलस्थित ब्लड बैंकमा आयोजित कार्यक्रममा उल्लेख्य संख्यामा रक्तदान गरिएको आयोजकले जनाएको छ ।

नेपाल डेरी एसोसिएसनले मोहीलाई नेपाली मौलिक संस्कृति र स्वास्थ्यसँग जोडिएको पेय पदार्थका रूपमा प्रवद्र्धन गर्दै विदेशी तथा कृत्रिम पेय पदार्थको स्वस्थ विकल्पका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

एसोसिएसनले मोहीको उपभोग बढाउँदा ग्रामीण किसानले दूधको उचित मूल्य पाउने र विदेशी पेय पदार्थको आयातमा खर्च हुने रकम बचत हुने उल्लेख गर्दै सरकारी तथा गैरसरकारी बैठक, शैक्षिक संस्था र पारिवारिक कार्यक्रममा स्वदेशी मोही प्रयोग गर्न आग्रह गरेको छ ।
दिवस सफल बनाउन सहयोग पुर्याउने नेपाल सरकार, सुरक्षा निकाय, सञ्चारकर्मी, उपभोक्ता तथा किसानहरूलाई एसोसिएसनले धन्यवाद व्यक्त गरेको छ ।