गृहपृष्ठ प्रथम दीक्षान्त समारोहको तयारीमा गण्डकी विश्वविद्यालय
प्रथम दीक्षान्त समारोहको तयारीमा गण्डकी विश्वविद्यालय
गण्डकी । नेपालकै पहिलो प्रदेशस्तरीय विश्वविद्यालय गण्डकी विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह यही चैत २८ गते आयोजना हुने भएको छ । पोखरा महानगरपालिका–३२ स्थित विश्वविद्यालय प्राङ्गणमा हुने दीक्षान्त समारोहको तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दीक्षान्त समारोहमा ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) कार्यक्रमका ११, ‘ब्याचलर्स इन इन्फर्मेशन टेक्नोलोजी’ (बिआइटी)का १८, ‘ब्याचलर्स अफ् फार्मेसी’ (बिफार्म)का १५ गरी कुल ४४ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालका उपकुलपति सहप्राध्यापक डा कृष्णराज अधिकारीले जानकारी दिए ।
विसं २०७६ मा स्थापना भएको यस विश्वविद्यालयमा ‘ब्याचलर्स अफ् आट्र्स ब्याचलर्स अफ ल’ (बिएएललबी)ं र ‘मास्टर्स अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स’ (एमआइटी एआई) र ‘ब्याचलर्स अफ् बिजनेस एडमिनिस्ट्रेसन’ (बिबिए)कोसमेत पढाइ हुने गरेको छ ।
प्राज्ञिक परिषद्को सिफारिसमा कार्यकारी परिषद्बाट दीक्षान्त समारोह आयोजनाको निर्णय गरिएको उपकुलपति डा अधिकारीले बताए । गत माघमा उपकुलपतिको संयोजकत्वमा गठित ‘दीक्षान्त समारोह समिति–२०८२’ ले दीक्षान्त समारोहको तयारीलाई अगाडि बढाएको थियो ।
दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रमुख दीक्षान्त वक्ताका रूपमा प्राध्यापक केदारभक्त माथेमा उपस्थित रहने विश्वविद्यालयले जनाएको छ । सो अवसरमा विश्विद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा सुशासनमा विश्वविद्यालय केन्द्रित रहेको बताए ।
स्नातकदेखि स्नातकोत्तर तहमा थप कार्यक्रम एवं विद्यावारिधि कार्यक्रम सञ्चालनको तयारीमा विश्वविद्यालय रहेको उनको भनाइ छ । प्रदेश सरकारको अनुदान र विश्वविद्यालयको आफ्नै आन्तरिक स्रोतबाट विश्वविद्यालय सञ्चालन भइरहेको उपकुलपति प्राडा तिवारीले बताए । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले ऐन बनाएर गण्डकी विश्वविद्यालय स्थापना गरेको थियो । विश्वविद्यालयमा अहिले सात सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।
प्रकाशित समय : १९:२७ बजे




















