global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ लुम्बिनी प्रदेशमा तथ्यांक व्यवस्थापन सूचना प्रणाली शुभारम्भ

लुम्बिनी प्रदेशमा तथ्यांक व्यवस्थापन सूचना प्रणाली शुभारम्भ

लुम्बिनी प्रदेशमा तथ्यांक व्यवस्थापन सूचना प्रणाली शुभारम्भ

रूपन्देही । लुम्बिनी प्रदेश सरकारलाई प्रदेश तथ्यांक व्यवस्थापन सूचना प्रणाली हस्तान्तरण गरिएको छ ।

प्रदेश योजना आयोगको तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यलाई उक्त प्रणाली हस्तान्तरण गरिएको हो । साथै मुख्यमन्त्री आचार्यले सो सूचना प्रणालीको सोमवार शुभारम्भ गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रमाणमा आधारित निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन तथ्यांक व्यवस्थापन सूचना प्रणालीले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।

तीन तहका सरकारले सम्पादन गरेका कामबारे नागरिक सुसूचित हुन पाउनुपर्ने मान्यताका आधारमा प्रदेश सरकारले पारदर्शिता अभिवृद्धि गर्न विभिन्न उपाय अपनाइरहेको उनले जनाए ।

प्रदेशका लागि तथ्यांक व्यवस्थापन प्रणाली महत्त्वपूर्ण पूँजी भएको भन्दै उनले तीनै तहका सूचना तथा विवरण यस प्रणालीमा समेटिने र प्रदेशका १०९ पालिकालाई यसमा जोडिने जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले प्रणालीको नियमित अद्यावधिक र सञ्चालनका लागि प्रदेश सूचना प्रविधि प्रतिष्ठानलाई जिम्मेवारी दिइएको बताए । उद्घाटनमै सीमित नराखी यसको प्रभावकारी कार्यान्वयनमा प्रतिष्ठानले अगुवाइ गर्नुपर्नेमा उनले जोड दिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लीराज अर्यालले सुशासन प्रवर्द्धन, सेवा प्रवाह र जबाफदेहितालाई केन्द्रमा राखेर प्रणाली निर्माण गरिएको बताए। तथ्यमा आधारित योजना निर्माण, आवधिक योजनाको कार्यान्वयन तथा नियमित अनुगमनलाई यस प्रणालीमार्फत सुदृढ बनाइने उनको भनाई छ । प्रदेश स्थापना भएदेखि हालसम्मका कार्यसम्पादन र उपलब्धिहरूको तथ्यांकगत विश्लेषण समेत यसमा समेटिएको छ ।

प्रणालीमा कुल १ हजार १ सय ९६ तथ्यांक चरणहरू समेटेर ३४ वटा क्षेत्र विकास गरिएको छ । यसका अतिरिक्त ४२ चरहरू समावेश गरिएको छुट्टै राष्ट्रिय स्तरको तथ्यांक सेट पनि तयार गरिएको छ । ड्यासबोर्डमार्फत सहज र स्पष्ट रूपमा जानकारी प्रस्तुत गर्न १ सय ६४ सूचकहरू विकास गरिएको छ ।

प्रकाशित समय : १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु