प्रधानमन्त्री कप : लगातार दुई हारपछि गण्डकीले खोल्यो जितको खाता
वि.सं.२०८२ चैत १५ आइतवार १७:१९
shares

काठमाडौं । लगातार दुई हारपछि गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा जितको खाता खोलेको छ ।
गण्डकीले आइतबार सम्पन्न आफ्नो चौथो खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४३ रनले पराजित गरेको हो । काठमाडौंको मूलपानीस्थित तल्लो क्रिकेट मैदानमा सम्पन्न उक्त खेलमा गण्डकीले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याएको एपीएफले १८.३ ओभरमा सबै विकेट गुमाएर १०७ रन मात्र बनाउन सकेको थियो ।
खेल वर्षका कारण ढिला सुरु भएपछि एम्पायरले २१ ओभरमा सीमित गरेका थिए ।
एपीएफलाई सस्तैमा रोक्न गण्डकीका अप्रजित पौडेल र क्रिविन श्रेष्ठले समान तीन विकेट लिए । सुवास भण्डारीले दुई विकेट लिँदा कमल परियारले एक विकेट लिए ।
सुमित महर्जनले २२ रन जोडे । कमल ऐरिले १७ रन बनाउँदा लोकेश बम, आसिफ शेख र अविजित रहेका अभिषेक गौतमले समान १४ रन बनाए ।
त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको गण्डकी प्रदेशले एपीएफविरुद्ध २१ ओभरमा सात विकेट गुमाएर १५० रनको योगफल खडा गरेको थियो ।
गण्डकीका गौरव बिकेले ३७ रन बनाए । दीपक डुम्रेले ३४ रन जोडे । ओपनर अर्जुन कुमालले २५, अविजित रहेका कप्तान विपीन खत्रीले २० र दिनेश बुढामगरले १९ रन बनाए ।
एपीएफका अभिनाश बोहराले सर्वाधिक तीन विकेट लिए । पाँच ओभर बलिङ गरेका अभिनाशले ३५ रन खर्चिए । कमल ऐरि, युवराज खत्री र अभिषेक गौतमले समान एक विकेट लिए ।

























