काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

1.85K
shares

मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ । माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

यसैगरी यहाँको तल्लो मुस्ताङमा वर्षासँगै हिमपात भएको छ । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बस्ती र उच्चलेंकमा भारी हिमपात भएको हो । एक्याप लोमान्थाङका कर्मचारी सलिना नेपालीले लोमान्थाङमा बस्तीमै दुई फिट हिउँ परेको बताए । “भारी हिमपातका कारण यहाँको जनजीवन निकै कष्ठकर छ, बस्तीभित्र बाक्लो हिउँ जमेकाले बाहिर निस्कन सक्ने अवस्था छैन”, कर्मचारी नेपालीले भने, “घरका धाराहरू सबै जमेका छन्, हिउँकै पानी तताएर खानेकुरा पकाएर खानुपर्ने अवस्था छ, पशु गोठाला र स्थानीय नागरिकलाई निकै ठूलो समस्या देखिएको छ ।”

भारी हिमपातका कारण स्थानीय नागरिकको घर माथिको छतमाथि बाक्लो हिउँ थुप्रिएकाले यहाँका परम्परागत घर चुहिने भत्किने जोखिम बढेको सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । कोरलास्थित सीमा सुरक्षाका लोमान्थाङ–२ न्हेचुङ छोसेरमा बसेका बिओपी सशस्त्र प्रहरीको सुरक्षाकर्मीको टोलीले स्थानीयवासीका केही घरमाथि थुप्रिएको हिउँ पन्छ्याइको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

यसैगरी मङ्गलबार राति परेको भारी हिमपातका कारण जोमसोम–कोरला सडक र कागबेनी–मुक्तिनाथ सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । हिमपातका कारण सडक अवरुद्ध भएसँगै दर्जनौँ सवारीसाधन मुस्ताङको कागबेनीमै राकिएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।

यता जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना प्रकाशित गरी हिमपातका कारण यात्रा जोखिम हुने भएकाले उच्च सर्तकता अपनाउन यात्रुलाई अनुरोध गरेको छ । कोरला सडक, मुक्तिनाथ सडक अवरुद्ध भएको र मुस्ताङ–डोल्पा सडक, मनाङ मुस्ताङ पदमार्ग, मनाङ–मुस्ताङ सरिबुङ पदमार्ग, मुस्ताङ–मनाङ मेसोकोन्दो पदमार्ग, धौलागिरि पदमार्ग अन्तर्गत धम्पुस पिक पदमार्ग लगायतका स्थानमा तत्काल यात्रा नगर्न नगराउन हुन पदयात्रीलाई अनुरोध गरिएको छ ।