काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उत्तर कोरियाको आणविक क्षमता बढ्दो : दक्षिण कोरियाली राष्ट्रपति

1.93K
shares

उत्तर कोरियाले प्रत्येक वर्ष १० देखि २० वटा आणविक हतियार बनाउन पुग्ने मात्रामा आणविक सामग्री उत्पादन गरिरहेको दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले बुधबार बताएको छ । नयाँ वर्षको अवसरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति लीले प्योङयाङको आणविक र मिसाइल क्षमताले क्षेत्रीय मात्र नभई विश्वव्यापी सुरक्षा चुनौती सिर्जना गरिरहेको धारणा राखे ।

“अहिले पनि उत्तर कोरियामा वर्षमा १० देखि २० वटा आणविक हतियार उत्पादन गर्न पर्याप्त आणविक सामग्री तयार भइरहेको छ”, राष्ट्रपति लीले पत्रकारहरूसँग भने। उनका अनुसार उत्तर कोरियाले अमेरिकाको मुख्य भूमिलाई लक्षित गर्ने उद्देश्यले लामो दूरीका ब्यालेस्टिक मिसाइल प्रविधि निरन्तर परिष्कृत गरिरहेको छ ।

राष्ट्रपति लीले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) क्षमताको सन्दर्भमा उत्तर कोरियाले आफ्नो शासन जोगाउन आवश्यक ठानिएको आणविक शस्त्रागार सुरक्षित गरिसकेको उल्लेख गरे ।

“एक समय यस्तो आउन सक्छ, जब उत्तर कोरियाले संयुक्त राज्य अमेरिकालाई मात्र होइन, विश्वव्यापी रूपमा नै खतरा उत्पन्न गर्ने क्षमतायुक्त आइसिबिएम र आणविक शक्ति हात पार्नेछ”, उनले चेतावनी दिँदै भने, “यदि आवश्यकताभन्दा बढी आणविक सामग्री संचित भयो भने, त्यो देशबाहिर निर्यात हुनसक्छ । त्यसपछि समस्या केवल कोरियाली प्रायद्वीपमा सीमित रहने छैन, विश्वव्यापी खतरा देखा पर्नेछ ।”

उत्तर कोरियाको आणविक कार्यक्रमलाई समाधान गर्न व्यावहारिक र यथार्थपरक दृष्टिकोण आवश्यक रहेको राष्ट्रपति लीको भनाइ छ । उनका अनुसार आणविक सामग्री उत्पादन र आइसिबिएम विकासलाई निलम्बन गर्नुका साथै विदेश निर्यातमा रोक लगाउन सके सबै पक्षका लागि लाभदायक हुनेछ ।

“यो सबैका लागि फाइदाजनक उपाय हुनेछ”, उनले भने । उनले यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ दुवैसँग आफ्ना तर्कहरू राखिसकेको जानकारी दिए ।

गत जुन महिनामा पदभार सम्हालेदेखि नै राष्ट्रपति लीले कुनै पूर्वशर्त नराखी उत्तर कोरियासँग संवाद सुरु गर्न जोड दिँदै आउनुभएको छ, जुन उनका पूर्ववर्तीको कठोर नीतिभन्दा फरक मानिन्छ । तर प्योङयाङले अहिलेसम्म उक्त प्रस्तावप्रति कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

यसैबीच उत्तर कोरियाले हालै दक्षिण कोरियाले सीमावर्ती सहर केसोङ क्षेत्रमा ड्रोन उडाएको आरोप लगाएको छ । राष्ट्रपति लीको कार्यालयले उक्त आरोप अस्वीकार गर्दै दक्षिण कोरियाली सरकारको संलग्नता नरहेको स्पष्ट पारेको छ, यद्यपि सो कार्य कुनै निजी व्यक्तिबाट हुनसक्ने सम्भावनालाई भने नकारिएको छैन । रासस