गृहपृष्ठ सय वटा संस्थाद्वारा संयुक्त रूपमा ‘पठन संस्कृति अभियान’ प्रारम्भ
सय वटा संस्थाद्वारा संयुक्त रूपमा ‘पठन संस्कृति अभियान’ प्रारम्भ
झापामा क्रियाशील विभिन्न एक सय वटा सामाजिक संस्थाले सन् २०२६ लाई ‘पठन संस्कृति वर्ष’ घोषणा गर्दै वर्षौंभरि रचनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता जनाएका छन् ।
पठन संस्कृतिलाई सामाजिक अभियानको रूपमा अघि बढाउने उद्देश्यले यहाँका विभिन्न संस्थाका प्रतिनिधिको उपस्थितिमा बिर्तामोडमा आज आयोजित विशेष कार्यक्रममा ‘पठन संस्कृति अभियान’ शुभारम्भ गरिएको हो । विभिन्न सामाजिक अभियानमा जोडिएकाका लागि एक अभियान, सहारा नेपाल, नेपाल पत्रकार महासङ्घ झापा, प्याब्सन नेपाल, झापा गोल्डकप, चलचित्र पत्रकार सङ्घ झापा, नेपाल रेडक्रस सोसाइटी झापा, झापा जिल्ला सहकारी सङ्घ, झापाली साहित्य समाज, रिडर्स अभियान नेपाललगायत संस्थाले पठन संस्कृतिलाई गतिशील बनाउन आफ्नो संस्थाको हरेक कार्यक्रममा उपहारको रूपमा पुस्तक प्रदान गर्ने, स्थानीय लेखकका प्रकाशित कृति खरिद गर्नेलगायत विषयमा सामूहिक प्रतिबद्धता जनाएका छन् ।
पठन संस्कृति वर्ष सफलतापूर्वक सञ्चालन गर्न प्रकाश गुरुङको अध्यक्षतामा समितिसमेत गठन गरिएको छ । सामाजिक अभियन्ता महेन्द्र गिरीले पठन संस्कृतिको दिगोपनाका लागि साहित्य, कला र संस्कृतिको संरक्षण गर्न अक्षयकोष स्थापना गर्न अभियानमा संलग्न संस्थालाई आग्रह गरेका छन ।
दुई कृति विमोचन
सोही कार्यक्रममा झापाबाट प्रकाशित दुई कृतिको विमोचन गरिएको छ । पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘त्यो झापा’ र हेम गुरागाईँद्वारा लिखित उपन्यास ‘दिगो समाधान’ को विमोचन गरिएको हो । लेखक तथा वरिष्ठ अधिवक्ता लिला उदासीले ‘त्यो झापा’मा जिल्लाको पुरानो राजनीतिक र सामाजिक इतिहासको गहन उत्खनन गरिएको बताए ।
यसैगरी ‘दिगो समाधान’ मा भुटानी शरणार्थीहरूले थाकथलोबाट लखेटिएपछि भारत, नेपाल र तेस्रो मुलुकमा भोग्नुपरेको परिस्थितिलाई आख्यानका रूपमा वर्णन गरिएको साहित्यकार खगिन्द्रा खुसीले बताए ।
प्रकाशित समय : २१:२० बजे



















