global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्र्दै उनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको हो । बैठकले यही मङ्सिर २९, पुस १ र २ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेता उपाध्यायको काठमाडौँको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा यही मङ्सिर २७ गते शनिबार साँझ ९१ वर्षको उमेरमा निधन भएको थियो । बैठकले उनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

यसैगरी बैठकले आगामी पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा उनको गृह जिल्ला मोरङमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ । उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ ।

विसं २०४८ मा राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएका उपाध्याय विसं २०५६ मङ्सिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । विसं २०५६ मा उनि शिक्षा तथा खेलकुदमन्त्री हुनुहुन्थ्यो भने विसं २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात पुनःस्थापित व्यवस्थापिका संसद्को सदस्य थिए । त्यसैगरी विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित भएका थिए ।

शालिन र वौद्धिक व्यक्तित्वका रूपमा पार्टीमा परिचित स्व उपाध्याय विसं २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । राजनीतिक सङ्घर्षका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताएका उपाध्यायले निर्वासित जीवनसमेत बिताएका थिए । समाजसेवा र अध्ययनमा विशेष रुची राख्ने उपाध्यायका विभिन्न पत्रपत्रिकाहरूमा लेख रचनासमेत प्रकाशित भएका छन् ।

पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता उपाध्यायको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ ।

प्रकाशित समय : १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु