काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जब ‘आइम्याक्स’मा देखाइयो ‘गोर्खा वारियर’

2.39K
shares
आधुनिक चलचित्र भवनका लागि विकसित गरिएको अत्याधुनिक प्रदर्शन प्रणाली ‘आइम्याक्स’ हो । साधारणभन्दा धेरै ठूलो पर्दा, उच्च रेजोल्युसनका ‘क्यामेरा र प्रोजेक्सन’, शक्तिशाली ध्वनि प्रणाली तथा उत्कृष्ट चित्र गुणस्तर यसको विशेषता हुन् । विशेषतः ‘आइम्याक्स’कै लागि छायाङ्कन गरी तयार गरिएको चलचित्र यस्तो प्रविधि भएको हलमा हेर्दा पर्दामा देखिने दृश्य अझ जीवन्त, विस्तृत र वास्तविक जस्तै अनुभव हुने दर्शकको भनाइ छ ।
विश्वभर लोकप्रिय मानिने ‘आइम्याक्स’ प्रविधि भएको चलचित्र भवन नेपालमा भने छैन । चलचित्र भवन नभएकै कारण ‘आइम्याक्स’ प्रविधिमा नेपाली चलचित्र प्रदर्शन हुने कुरा कल्पनाभन्दा परको सपना जस्तै हो । तर करिब दुई वर्षअघि २०८० भदौको अन्तिम साता नेपाली चलचित्र बेलायतको लन्डनस्थित लेस्टर स्क्वायरमा रहेको ‘आइम्याक्स सिने वल्र्ड’ मा देखाइयो । बेलायतमा आफ्नो छुट्टै प्रभाव छाड्न सफल गोर्खा सैनिकको कथामा तयार गरिएको ‘गोर्खा वारियर’ पहिलोपटक ‘आइम्याक्स’ प्रविधिमा प्रदर्शन हुने नेपाली चलचित्र बन्यो ।
पूर्वगोर्खा सैनिक रहिसक्नुभएका निर्देशक मिलन चाम्सले निर्देशन गरेको उक्त चलचित्रमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाइएको छ । भारतीय चलचित्रले समेत ‘वल्र्ड प्रिमियर’ को अनुमति पाउन सङ्घर्ष गर्नुपर्ने लेस्टर स्क्वायरको ‘आइम्याक्स’ मा नेपाली चलचित्र प्रदर्शन हुनु नेपालका लागि गौरवको विषय भएता पनि यसका लागि निकै समय लागेको थियो । निर्देशक चाम्सले विदेशी चलचित्रको ‘प्रिमियर’ हुँदा नेपाली चलचित्रलाई त्यहाँ प्रदर्शन गर्ने र नेपाली कलाकर्मीलाई त्यहाँ ‘रेड कार्पेट’ मा हिँडाउने सपना देख्ने गरेको बताए ।
“विदेशी कलाकार र उनीहरुले अभिनय गरेको चलचित्रको तामझाम हेर्दा एक दिन म आफैँ यहाँ नेपाली चलचित्र ल्याउँछु भन्ने लाग्थ्यो । त्यसका लागि मैले चलचित्र निर्देशन गरेदेखि नै प्रयास नगरेको होइन तर ‘आइम्याक्स’ प्रविधि रहेको चलचित्र भवनको आफ्नै नीतिनियम हुन्छ । सोही कारणले सुरुआती दिनमा आफ्ना चलचित्रलाई त्यहाँ प्रदर्शन गर्न सकिन”, उनले भने ।
‘गोर्खा वारियर’ अगाडि निर्देशक चाम्स आफैँले निर्देशन गर्नुभएको अन्य नेपाली चलचित्र ‘प्रिमियर’ गर्न गरिएको प्रस्तावलाई ‘आइम्याक्स सिने वल्र्ड’ ले अस्वीकार गरिरहेको थियो । उनीहरूले विषयवस्तु, भाषागत क्षमता, प्राविधिक सहजता लगायतका विविध पाटोलाई हेर्ने गर्थे । निर्देशक चाम्स आफैँले पनि यी तथ्यलाई धेरैपछि बुझ्नुभयो ।
“लन्डनमा रहेको आइम्याक्समा प्रिमियर गर्न पैसा भएर मात्र हुँदैन । उनीहरूले कुन भाषा, स्टार वा कम्पनीको चलचित्रलाई ‘प्रिमियर’ ग-यो भन्ने हुन्छ । सम्भवतः म आफैँ पनि अन्य चलचित्र त्यहाँ प्रदर्शनी गर्न सक्दिन । त्यहाँ खर्चालु मात्र नभएर धेरै कुरा मिलाउनुपर्ने हुन्छ । मैले ‘गोर्खा वारियर’ को प्रिमियर गर्न पाउनाका कारण गोर्खालीप्रति बेलायतीको सम्मान र हाम्रो वीरताको गाथा नै हो”, निर्देशक चाम्सले भने ।
पटकपटकको प्रयासमा असफल भएका निर्देशक चाम्सले ‘गोर्खा वारियर’ चलचित्र ‘आइम्याक्स’ प्रविधिमा ‘प्रिमियर’ गर्न एक वर्षको समय नै छुट्याएर तयारी गरे । चलचित्र भवनलाई गोर्खा सैनिकको वीरताको कथामा बनेको चलचित्र प्रिमियर गर्ने भनेर चिठी लेखे । बेलायतमा नेपाली र गोर्खा सैनिकलाई गर्ने सम्मानका कारण चलचित्र भवनले एउटा समय दियो । उक्त समयका लागि आर्थिकसँगै त्यहाँ मिलाउनुपर्ने प्राविधिक पक्षहरूले कैयौँ रात निर्देशक चाम्सलाई निदाउन दिएनन् । फलतः एक दशकको एउटा सपनाले मूर्तरुप पायो ।
“गोर्खा सैनिकको कथा नभएको भए संवत ‘प्रिमियर’ गर्ने अनुमति पाउने थिएनौँ । त्यसपछि त्यहाँ ‘रेड कार्पेट’ गरिने स्थानमा रहेका पसलहरूसँग सहमति लिनुपर्छ । त्यहाँ आउने विशिष्ट अतिथिका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउनु पर्छ । सबैभन्दा महत्वपूर्ण हामीले हाम्रो प्रविधिमा तयार गरेको चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा रुपान्तरण गर्नुपर्छ । यी सब सपनालाई मूर्तरुप दिन धेरै रात अनिदो बसेर काम गरेको छु”, निर्देशक चाम्सले भने ।
नेपाली चलचित्र लेस्टर स्क्वायरमा ‘प्रिमियर’ हुने खबरले लन्डनमा निकै चर्चा पाएको थियो । लेस्टर स्क्वायर त्यसै पनि विभिन्न चलचित्र भवन, नाटक मञ्चन गरिने रङ्गमञ्चलगायतका लागि प्रसिद्ध छ । त्यहाँ हरेक कोणमा चलचित्र र कला देखिन्छ । लन्डन मात्र नभई इङ्ग्ल्यान्डकै ‘सिनेमा हब’ का रुपमा परिचित उक्त स्थानमा भएको नेपाली चलचित्रको गतिविधिले बजार विस्तारको सम्भावनालाई पनि सघाएको थियो । त्यहाँ आइपुग्ने चलचित्र पारखीले नेपाली चलचित्रको प्रदर्शनी हुँदैछ भन्दा निकै चासोपूर्वक बुझ्न खोज्थे ।
“मैले २० वर्षअघि देखेको यो सपना पूरा गरेँ । त्यसको प्रभाव नेपालमा के कस्तो प-यो त्यो भन्न सक्दिन तर नेपाली चलचित्र अत्याधुनिक प्रविधिसँगै बेलायतको मुख्य स्थानमा प्रदर्शन भयो, जहाँ विश्वका प्रसिद्ध निर्देशकका चलचित्र प्रदर्शन हुन्छन् । यसले कालान्तरमा सम्पूर्ण नेपाली चलचित्रलाई टेवा पु-याउने छ”, निर्देशक चाम्सले भने । ‘आइम्याक्स सिने वल्र्ड’ मा प्रदर्शनी गर्ने तय भएपछि निश्चित शुल्क लिएर चलचित्र भवनले नै ‘गोर्खा वारियर’ लाई ‘आइम्याक्स’ प्रविधिमा रुपान्तरण गरेको निर्देशक चाम्सले जानकारी दिए ।
लन्डनमा उक्त प्रदर्शनीको चर्चा अझै हुने गर्छ । त्यहाँ आठ सयको हाराहारीमा दर्शकले चलचित्र हेरका थिए । नेपाली चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा हेर्नुको अनुभव छुट्टै रहेको भनाइ उक्त प्रदर्शनीमा सहभागी हुनुभएका नेपालका सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले बताए।