global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ भानुभक्तका पाण्डुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

भानुभक्तका पाण्डुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

भानुभक्तका पाण्डुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो
“भर् जन्म घाँस तिर मन् दिई धन कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ।
म भानुभक्त धनी भैकन किन यस्तो ।।”
नेपाली साहित्य क्षेत्रमा आदिकवि भानुभक्तले घाँसीबाट पाएको प्रेरणालाई लिपिबद्ध गरी लेखेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै चासो र चर्चामा छ ।
तनहुँको चुँदी रम्घामा जन्मेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका भानुभक्तले नेपाली साहित्यको प्रारम्भिक चरणमा कविता र काव्यका माध्यमबाट नेपाली साहित्याकाशमा ठूलो गुन लगाएका छन ।
नेपाली भाषाको एकीकरणकर्ताका रूपमा रहेका उनले आजभन्दा दुई शताब्दी अघि तत्कालीन समयको सांस्कृतिक, धार्मिक र सामाजिक विशिष्टतालाई आफ्ना रचनामा उतारेका त छन् नै नेपाली भाषाको समुन्नतिसँगै राष्ट्रिय एकता र सद्भावका लागि पनि अतुलनीय योगदान पुर्‍याएका छन ।
भानुका योगदानलाई जीवन्त राख्नका लागि भानु जन्मस्थल विकास समिति निरन्तर रूपमा लागिरहेको समितिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । भानु जन्मस्थलको संरक्षण र विकासका लागि २०३३ सालमा गोपाल पाण्डे (असिम), धरणीधर कोइराला लगायतका साहित्यप्रेमी आएर उनका सन्ततिसँग जग्गा मागेर भानु सङ्ग्रहालय स्थापना गरेको उनले जानकारी दिए ।
उक्त क्रममा उनका सन्ततिसँग मागिएको करिब चार रोपनी क्षेत्रफलमा विभिन्न पूर्वाधार निर्माणसँगै सङ्ग्रहालय स्थापना गरिएको थियो । उक्त जग्गा भानु स्मारक सङ्ग्रहालयकै नाममा रहेकामा २०५२ सालमा भानु जन्मस्थल विकास समिति गठन भएपछि उक्त जग्गा समिति मातहत रहेको छ ।
सङ्ग्रहालयमा रहेको पुस्तकालयमा भानुभक्तका सन्नतिबाट प्राप्त २०० भन्दा पुराना भानुभक्त स्वयम्ले लेखेका रामायण र वधुशिक्षाका पाण्डुलिपि राखिएको समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ । उक्त सङ्ग्रहालयमा भानुभक्तकालीन अन्य विभिन्न सामग्रीहरू पनि रहेको जानकारी दिँदै उनले ती सामग्रीहरूको पुरातात्विक प्रमाणीकरण गर्न भने बाँकी रहेको बताए ।
सङ्ग्रहालयमा रहेका रामयाण र वधुशिक्षाको पाण्डुलिपि कसरी जोगाउने भन्ने चिन्ता भने आफूहरूमा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । “यी पाण्डुलिपि झुत्रा हुन् र किराले खानबाट कसरी जोगाउने भन्ने विषयले हामीलाई चिन्तित बनाएको छ”, उनले भने, “संरक्षणका लागि माइक्रोफिल्मिङ गरी राख्ने प्रयास गरिए पनि साधनस्रोतको अभाव आदिका कारण अहिलेसम्म हुन सकेको छैन ।” यी ऐतिहासिक महत्त्वका पाण्डुलिपिको संरक्षणमा राज्यको नै चासो पुग्नु जरुरी रहेको समितिका अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।
भानुभक्तको रामायण केवल धार्मिक ग्रन्थ मात्र नभई यो नेपाली भाषाको साहित्यिक प्रगतिको एक सेतु रहेको साहित्यकार डा अशोक थापा बताउछन । भानुभक्तको रामायणले भाषा प्रयोगका नयाँ आयामहरू खुला गरिदिएको बताउँदै उनले नेपाली साहित्यमा मौलिकता र रचनात्मकतालाई अघि बढाउनका लागि यसको विशेष योगदान रहेको बताए ।
भाषा, साहित्य र संस्कृतिका लागि भानु जन्मस्थल चुँदीरम्घा आफैँमा खुला सङ्ग्रहालय भएको बताउँदै उनले भानुभक्तका योगदानलाई समेटेर यस स्थललाई विश्वकै साहित्यानुरागीहरूको प्रतिष्ठित साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने योजना रहेको बताए । यहाँको विकाससँगै यो क्षेत्र साहित्यिक पर्यटनको आकर्षक गन्तव्य बन्ने उनको भनाइ छ ।

प्रकाशित समय : १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु