गृहपृष्ठ सामाजिक सुरक्षाबारे सचेतना आवश्यक
सामाजिक सुरक्षाबारे सचेतना आवश्यक
सबैका लागि सामाजिक सुरक्षा आधारभूत मानवअधिकार विषयमा अन्तर सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएको छ । सो अन्तरक्रियामा सरोकारवालाले सामाजिक सुरक्षा कोषमा आबद्धता वृद्धि गर्न नागरिकलाई सचेतना जरुरी रहेकामा जोड दिएका छन् ।
इन्सपायर नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र होमनेट नेपालको आयोजनामा आज यहाँ सामाजिक सुरक्षामा सबै नागरिकलाई आबद्ध बनाउने विषयमा अन्तक्रिया गरिएको हो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका सहायक निर्देशक चिरञ्जीवी न्यौपानेले योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकलाई आबद्ध गराइएको भए पनि कार्यविधिको जटिलताले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेट्न कठिन भएको बताए ।
श्रम विभागका अधिकृत रामसुन्दर थापाले विभागले श्रमिकको लेखाजोखा गर्नेदेखि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको र नभएको विषयमा बेला बखत अनुगमन गर्ने गरेको जानकारी दिए ।
संविधानसभा सदस्य पेम्बा लामाले सामाजिक सुरक्षामा श्रमिकको उपस्थिति अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा उनले अधिकांश महिला श्रमिक सुरक्षा कोषबाट वञ्चित भएको बताउँदै लैङ्गिकमैत्री बनाउन सरकारले विशेष कार्य योजना ल्याउनुपर्नेमा जोड दिए ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष डोल्मा तामाङले सन् २०१२ देखि सुरु भएको सामाजिक सुरक्षा योजनाले अझै श्रमिकको पहुँचसम्म पुग्न नसकेको बताइन । यसका लागि जनचेतनालाई नागरिकस्तरसम्म पु-याउने अभियानमा जोड दिनुपर्ने उनको धारणा थियो ।
प्रकाशित समय : २०:१८ बजे




















