global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सन् २०२५ मा विश्व वाइन उत्पादन सामान्य सुधारतर्फ

सन् २०२५ मा विश्व वाइन उत्पादन सामान्य सुधारतर्फ

सन् २०२५ मा विश्व वाइन उत्पादन सामान्य सुधारतर्फ

गत वर्षको तीव्र मन्दीपछि सन् २०२५ मा विश्वव्यापी वाइन उत्पादन सामान्य सुधारको दिशामा रहेको उद्योगको अन्तर्राष्ट्रिय निकायले बुधबार जानकारी दिएको छ ।

तर, जलवायु परिवर्तन र उपभोक्ताहरूको बदलिँदो उपभोग बानीका कारण उत्पादन हालसालैको औसतभन्दा अझै तल रहिरहने अनुमान गरिएको भाइन र वाइनको अन्तर्राष्ट्रिय सङ्गठन (ओआइभी) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिअनुसार, यस वर्ष विश्वमा करिब २३ करोड २० लाख हेक्टलिटर वाइन उत्पादन हुने सम्भावना छ । यो सन् २०२४ को तुलनामा तीन प्रतिशतले वृद्धि हो । गत वर्षको उत्पादन सन् १९६१ यताकै सबैभन्दा न्यून वार्षिक स्तरमा पुगेको थियो ।

ओआइभीले विश्वका २९ प्रमुख उत्पादक देशहरूबाट प्राप्त तथ्याङ्कका आधारमा यो मूल्याङ्कन गरेको हो । ती देशहरूले विश्व वाइन उत्पादनको करिब ८५ प्रतिशत हिस्सा ओगट्छन् ।

सन् २०२५ को दृष्टिकोणले ‘जलवायु चुनौती र बदलिँदो उपभोग मोडेलका कारण विश्वव्यापी आपूर्तिमा भइरहेको लगातार कमीको पुष्टि गरेको’ ओआइभीले जनाएको छ ।

विश्व वाइन उत्पादनको ६० प्रतिशत हिस्सा ओगट्ने युरोपेली सङ्घ ९इयु० ले अहिले पनि ‘उच्च जलवायु परिवर्तनशीलता’ को सामना गरिरहेको छ । फ्रान्स र स्पेनले यस वर्ष उल्लेखनीय रूपमा कम फसल रेकर्ड गरेका छन् भने इटालीले उत्पादनलाई लगभग सामान्य स्तरमा ल्याउन सफल भएको छ । केही मध्य तथा दक्षिणपूर्वी युरोपेली देशहरूले पनि पछिल्ला वर्षको तुलनामा सुधार देखाएका छन् ।

उत्तरी गोलार्धका अन्य क्षेत्रहरूमा संयुक्त राज्य अमेरिकाले सन् २०२४ को स्तरबाट ‘केवल आंशिक पुनरुत्थान’ हासिल गरेको छ ।

दक्षिणी गोलार्धमा भने दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र ब्राजिलजस्ता देशहरूले मध्यम सुधार देखाएका छन् । यी देशहरूको पुनरुत्थानले चिलीमा भएको उल्लेखनीय गिरावटलाई केही हदसम्म सन्तुलनमा ल्याएको छ । चिलीमा गर्मीको असामान्य लहर, न्यून वर्षा र पानीको अभावले उत्पादनमा ठूलो असर पारेको थियो ।

यद्यपि जलवायु परिवर्तनका कारण केही उत्पादक देशहरू गम्भीर रूपमा प्रभावित भए पनि समग्र तस्बिर भने पूर्णतः नकारात्मक छैन । ओआइभीका महानिर्देशक जोन बार्करका अनुसार विश्वव्यापी वाइन आपूर्ति अहिलेको कमजोर मागसँग सन्तुलनमा आउँदैछ । यो उद्योगका लागि दीर्घकालीन रूपमा सकारात्मक सङ्केत हो ।

“हामीले यो कहिल्यै बिर्सनु हुँदैन कि ती जलवायु प्रभावहरूबाट व्यक्तिहरू र क्षेत्रहरू प्रत्यक्ष प्रभावित छन्”, बार्करले भने, “तर जब हामीले विश्वव्यापी आपूर्ति र मागको अवस्थालाई समग्र दृष्टिकोणबाट हेर्ने हो भने यो सन्तुलित र सकारात्मक तस्बिर हो—जसले वाइनको निर्यात मूल्य निर्धारणलाई थप मजबुत बनाइरहेको छ ।”

ओआइभीको तथ्याङ्कअनुसार हालैका वर्षहरूमा विश्वव्यापी वाइन खपत लगातार घट्दै गएको छ र गत वर्ष यो खपत छ दशकपछि पहिलो पटक सबैभन्दा न्यून स्तरमा झरेको छ ।

प्रकाशित समय : १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु