global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ विशेष महाधिवेशन आवश्यकतामाथि कांग्रेसभित्र कानुनी बहस

विशेष महाधिवेशन आवश्यकतामाथि कांग्रेसभित्र कानुनी बहस

विशेष महाधिवेशन आवश्यकतामाथि कांग्रेसभित्र कानुनी बहस

नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशनको पक्षमा दुई धार देखिएपछि संस्थापन इतर पक्षले विशेष महाधिवेशनका विषयमा कानुनी विमर्श सुरु गरेको छ ।

आज भीमसेनगोलास्थित आनन्द इभेन्ट्समा ‘विशेष महाधिवेशनसम्बन्धी कानुनी विमर्श’ शीर्षकमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता, अधिवक्ता तथा कानुनविद्हरूले विशेष महाधिवेशनको वैधानिकता, राजनीतिक आवश्यकता र पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियासम्बन्धी धारणा राखेका थिए ।

नेपाली कांग्रेसका नेता देवराज चालिसेले केन्द्रीय समितिले आफूहरूसहितको हस्ताक्षरको मर्म बुझ्नुपर्ने उल्लेख गर्दै भने, “पार्टी विधानअनुसार चल्नुपर्छ, यही नै आन्तरिक लोकतन्त्रको मर्म हो ।”

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष उपेन्द्र केशरी न्यौपानेले नेपाली कांग्रेस हाल प्रजातान्त्रिकवादविपरीत विचारधारातर्फ उन्मुख भएको टिप्पणी गर्दै पार्टीलाई पुनः सिद्धान्तिक स्पष्टतामा फर्कन आवश्यक रहेको बताए।

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले कांग्रेसको विधानअनुसार ४० प्रतिशतभन्दा बढी हस्ताक्षर भएमा विशेष महाधिवेशन आह्वान गर्न सकिने कानुनी व्यवस्था स्पष्ट रहेको बताए । उनले कानुनी दृष्टिकोण मात्र होइन, यस विषयमा राजनीतिक निकास पनि खोजिनु जरुरी रहेकोमा जोड दिए ।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले आगामी निर्वाचनअघि नै विशेष महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनका अनुसार माओवादीसँगको गठबन्धन कांग्रेसको दीर्घकालीन राजनीतिक हितविपरीत भएको र यही कारणले पार्टीभित्र असन्तुष्टि बढेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश तथा जिल्ला सभापतिहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु