गृहपृष्ठ प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस
प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज आदिवासी जनजाति आयोगले छैटौँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।
प्रदेश प्रमुख खापुङलाई आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रमुखको कार्यालय विराटनगरमा नेपालको संविधानको धारा २९४ को उपचारा(३) बमोजिम आयोगको आव २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाए ।
प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै नेपालको राष्ट्रिय एकतालाई बलियो बनाउन आयोग निर्माण भएको र यसले संविधानको मर्मअनुसार समानता र समावेशीताको क्षेत्रमा काम गरिरहेको बताए ।
उनले हाम्रोजस्तो विभिन्न भौगोलिक विशेषता भएको देशमा बसोबास गर्ने सबै क्षेत्रका जनताको सबै क्षेत्रमा उचित प्रतिनिधित्व होस् भन्ने उद्देश्यले संविधानको परिकल्पनाअनुसार आयोगले मेहनतका साथ कार्य गरिरहेको जानकारी दिए ।
आयोगका अध्यक्ष मगरले स्थायी सरकारको रुपमा रहेको निजामती सेवामा आदिवासी जनजातिको प्रतिनिधित्व १६ दशमलव नौ प्रतिशत र शिक्षक सेवामा ११ दशमलव तीन प्रतिशत मात्र रहेकाले यसले समावेशी राज्य निर्माण हुन नसकेको धारणा राखे ।
उनले आयोगले हालसम्म पाँच वटा प्रतिवेदन पेस गरिसक्दा पनि प्रदेशसभामा एक पटक पनि छलफल नभएकोतर्फ ध्यानाकर्षण गराउँदै आयोगको प्रदेशस्तरीय कार्यालय स्थापनाका लागि सरकारले सहयोग नगरेकोले कामकारबाही प्रभावित भएको गुनासो गरे ।
प्रकाशित समय : १८:५४ बजे




















