काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रपति ट्रम्पको एसिया भ्रमण प्रारम्भ, सी जिनपिङसँग उच्चस्तरीय वार्ता र किमसँग सम्भावित भेटप्रति उत्सुकता

3.17K
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार आफ्नो एसिया भ्रमणका लागि वासिङ्टनबाट प्रस्थान गरेको छ । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय व्यापार वार्ता गर्नु रहेको छ । ट्रम्पले प्रस्थानअघि पत्रकारहरूसँग कुरा गर्दै उत्तर कोरियाली नेता किम जोङ–अनसँग पनि सम्भावित भेटप्रति इच्छा व्यक्त गरे ।

राष्ट्रपति ट्रम्पले विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्ध अन्त्य गर्नका लागि सीसँग दक्षिण कोरियामा हुने आगामी भेटलाई ‘निर्णायक क्षण’ का रूपमा चित्रण गरे। जनवरीमा ह्वाइट हाउस फर्किएपछि यो उहाँको पहिलो एसिया भ्रमण हो । भ्रमणअन्तर्गत उहाँ मलेसिया, जापान र दक्षिण कोरियामा आधिकारिक कार्यक्रमहरूमा सहभागी हुनेछ ।

ट्रम्पले एयर फोर्स वनमा सवार पत्रकारहरूलाई बताउँदै भने, “म सीसँग धेरै राम्रो बैठकको अपेक्षा गर्छु । चीनले सम्झौता गर्न चाहन्छ, किनभने नोभेम्बर १ देखि लागु हुने अतिरिक्त १०० प्रतिशत भन्सार शुल्क उनीहरूका लागि हानिकारक हुन सक्छ ।”

वासिङ्टन छोड्ने क्रममा ट्रम्पले कोरियाली प्रायद्वीपमा सन् २०१९ पछि पहिलो पटक किम जोङ–अनसँग भेट हुने सम्भावनाबारे पनि सङ्केत गरे । “म त्यसका लागि खुला छु”, उनले हाँस्दै भने, “मेरो उनीसँग निकै राम्रो सम्बन्ध थियो ।”

दुई नेताबीच अन्तिम भेट ट्रम्पको पहिलो कार्यकालमा भियतनामको हनोईमा भएको थियो । उत्तर कोरियाली नेता किमले वासिङ्टनले आफ्नो आणविक हतियार त्याग्ने माग खारेज गरेपछि मात्र नयाँ वार्ताको सम्भावना खुल्ने बताएको थियो ।

सियोलका पुनर्मिलन मन्त्रीले पनि राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा हुँदा क्षेत्रीय सम्मेलनको अवसरमा ट्रम्प र किमबीच भेट हुने ‘उल्लेखनीय सम्भावना’ रहेको बताएको छ ।

शान्ति र व्यापार सम्झौतामा ध्यान

राष्ट्रपति ट्रम्पको भ्रमणको पहिलो गन्तव्य मलेसिया हुनेछ । आइतबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) शिखर सम्मेलनमा सहभागी हुनेछ । आफ्नो पहिलो कार्यकालमा यो बैठकले बारम्बार अस्वीकार गरेको थियो, तर यसपटक उनको सहभागिता विशेष ध्यानाकर्षणको विषय बनेको छ ।

मलेसिया भ्रमणका क्रममा ट्रम्पले दुई देशबीचको नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गर्ने र थाइल्यान्ड तथा कम्बोडियाबीचको शान्ति सम्झौता प्रक्रियामा साक्षी रहने कार्यक्रम रहेको छ । उनले यसलाई ‘एसियाली स्थायित्व र अमेरिकी नेतृत्व’ सुदृढ गर्ने अवसरका रूपमा वर्णन गरेको छ ।

ट्रम्पले भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पनि भेट्ने तयारी गरेको छ । भेटमा वामपन्थी नेतृत्वसँग सम्बन्ध सुधारका विषयमा छलफल हुने बताइएको छ ।

मलेसियापछि ट्रम्प सोमबार जापान पुग्नेछ । मङ्गलबार जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइचीसँग भेट्नेछ । राष्ट्रपति ट्रम्पले ताकाइचीलाई ‘साहसी नेत्री र पूर्व प्रधानमन्त्री सिन्जो आबेकी निकट सहयोगी’ भनेर प्रशंसा गर्नुभयो । जापानले अमेरिकी करहरूबाट आंशिक रूपमा छुट पाएको भन्दै ट्रम्पले टोकियोसँगको आर्थिक सम्बन्धलाई ‘न्यायोचित र सन्तुलित’ बताए ।

सीसँगको निर्णायक भेट

राष्ट्रपति ट्रम्पको भ्रमणको मुख्य आकर्षण दक्षिण कोरिया हुनेछ । त्यहाँ उहाँ बुधबार दक्षिणी बन्दरगाह सहर बुसानमा अवतरण गर्नुपर्नेछ । त्यहाँ दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङसँग भेट्ने, एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका व्यापारिक सत्रहरूमा सम्बोधन गर्ने र अमेरिकी प्राविधिक उद्योगका शीर्ष व्यक्तिहरूसँग रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।

बिहीबार राष्ट्रपति ट्रम्प र राष्ट्रपति सी जिनपिङबीचको भेट तय गरिएको छ । यो ट्रम्प ह्वाइट हाउस फर्किएपछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुनेछ । बेइजिङको हालैको दुर्लभ–पृथ्वी (खनिज तत्व) निर्यात प्रतिबन्ध र अमेरिकाले लगाएका नयाँ करहरूका कारण सम्बन्ध पुनर्सन्तुलनका लागि यो वार्ता अत्यन्तै संवेदनशील मानिएको छ ।

ट्रम्पले अघिल्ला हप्ताहरूमा बैठक रद्द गर्ने धम्की दिएको थियो र त्यसै क्रममा चीनमाथि नयाँ १०० प्रतिशत भन्सार शुल्कको घोषणा पनि गरेको थियो, तर अन्ततः वार्तालाई अगाडि बढाउने निर्णय गरे ।

राष्ट्रपति ट्रम्पले राष्ट्रपति सीसँग फेन्टानिलको अवैध तस्करी र ल्याटिन अमेरिकी लागु औषध गिरोहहरूमा चीनको भूमिकाबारे पनि विस्तृत रूपमा छलफल गर्ने बताए । “फेन्टानिलका कारण अमेरिकामा हजारौँ जीवन गुमिरहेका छन् । यो रोक्न चीनले निर्णायक कदम चाल्नुपर्छ”, राष्ट्रपति ट्रम्पको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।