global ime bank Long Banner Ad

गृहपृष्ठ थोरै वर्षामा विद्यालय परिसर जलमग्न हुँदा पठनपाठनमा समस्या

थोरै वर्षामा विद्यालय परिसर जलमग्न हुँदा पठनपाठनमा समस्या

थोरै वर्षामा विद्यालय परिसर जलमग्न हुँदा पठनपाठनमा समस्या

शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित कालिका माध्यमिक विद्यालयमा बिहान घण्टी बज्नेबित्तिकै विद्यार्थी सरस्वती बन्दना वा पिटी कवाज गर्न नपाइ सीधा कक्षा कोठामा प्रवेश गर्छन् । शिक्षकले पनि कक्षाभित्रै हाजिरी गरी पठनपाठन सुरु गर्ने गरेका छन् ।

विद्यालय परिसर वर्षा लागेसँगै जलमग्न र हिलाम्मे हुने भएकाले विद्यार्थीलाई बाहिर लामबद्ध गर्ने गतिविधि गर्न नसकिने अवस्था छ । करिब चार महिनासम्म विद्यालय परिसर डुबानमा पर्ने गरेको छ । पानी निकासको व्यवस्था नहुँदा समस्या झन चर्किएको विद्यालय व्यवस्थापन समितिका पदाधिकारी नवीन धानुक बताउछन ।

“जलमग्न र हिलाम्मे परिसर टेक्दै शिक्षक–विद्यार्थी कक्षामा पस्ने गरेका छन्, समस्या वर्षौंदेखि देखिएको हो, तर समाधान अझै हुन सकेको छैन”, उनले भने । पूर्व–पश्चिम राजमार्गदेखि करिब ७०० मिटर दक्षिणतर्फ अवस्थित विद्यालयमा २०० बढी विद्यार्थी अध्ययनरत छन् । करिब ९० प्रतिशतभन्दा बढी विद्यार्थी दलित र आदिवासी जनजाति समुदायका रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक गोपिन्दसिंह नायकका अनुसार विद्यालयका दुई भवन ‘बिल्ड अन’ र भारतीय दूतावासको सहयोगमा बनेका हुन् । ती मात्रै प्रयोगयोग्य छन् । बाँकी भवन जीर्ण भएकाले जोखिम मोलेर प्रयोग गर्नुपरेको छ । “विद्यार्थीको चापअनुसार दुई भवन पर्याप्त छैनन्, बाध्य भएर पुरानै जीर्ण भवनमा पढाउँदै आएका छौँ”, उनले भने ।

विद्यालयमा १७ शिक्षक र करिब २०० विद्यार्थी भए पनि प्रयोगयोग्य शौचालय भने एक मात्र छ । त्यो पनि वर्षौं पुरानो भएकाले टालटुल गरेर चलाइँदै आएको प्रधानाध्यापक नायकको भनाइ छ । “विद्यार्थीहरू लाइनमा उभिएर शौचालय प्रयोग गर्न पालो कुर्न बाध्य छन्, शिक्षकहरूले पनि त्यही प्रयोग गर्नुपरेको छ, जसले गर्दा पठनपाठमा अबरोध हुने गरेको छ”, प्रधानाध्यापक नायकले भने ।

विद्यालय हाताभित्रै रहेको कालिका मन्दिरमा हुने पूजापाठ र बलि चढाउने कार्यले पनि शिक्षण प्रभावित हुने गरेको छ । छुट्टै प्रवेशद्वार नभएकाले विद्यालय समयमै मन्दिरमा हुने भीडले समस्या थपिएको शिक्षकहरूको भनाइ छ । खेलमैदान भए पनि वर्षा लागेपछि चार महिनासम्म हिलाम्मे भएर प्रयोगविहीन हुन्छ । निजी स्रोतबाट नियुक्त शिक्षको तलबको व्यवस्था विद्यालयले आफैँ गर्नुपर्ने बाध्यता रहेको छ । आर्थिक अभावका कारण तलब दिन कठिनाइ भएको प्रधानाध्यापक नायकले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष कमल ठकुल्लाका अनुसार शौचालय व्यवस्थापन खानेपानी र खेलमैदान सुधारका लागि पहल गरिने छ । “वडाको सानो बजेटले पर्याप्त काम गर्न सकिँदैन, ठूलो बजेट चाहिन्छ, त्यसका लागि नगरदेखि प्रदेशसम्मलाई गुहारी सकेका छौँ, तर सुनुवाइ भएको छैन”, उनले भने ।

विद्यालयमा नियमित पठनपाठन मात्र नभई निर्वाचनका बेला उम्मेदवारी दर्ता गर्ने तथा मतदानस्थलका रूपमा पनि प्रयोग हुँदै आएको छ । यस्तै यस विद्यालयलाई एसइई परीक्षा केन्द्रको रूपमा समेत प्रयोग गर्ने गरिएको छ । पूर्वाधार विकासमा भने निरन्तर बेवास्ता हुँदै आएको अभिभावकहरुको गुनासो छ ।

प्रकाशित समय : १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु