काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बिओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार

2.13K
shares

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बल नेपालको जिमुवा बोर्डर आउट पोष्ट (बिओपी)स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण गरिएको छ ।

सीमा निगरानीका लागि विसं २०७७ असोजमा स्थापना भएको उक्त बिओपीमा आवास, अतिथि गृहसहितका पूर्वाधार निर्माण गरिएको हो ।  सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको योजनाअन्तर्गत निर्माण गरेको अतिथि गृह भवनको आइतबार उद्घाटन गरिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले अतिथि गृह भवनको उद्घाटन गरे ।

अतिथि गृह भवनको उद्घाटन गदैँ मन्त्री सार्कीले मन्त्रालयले बिओपीमा पूर्वाधार सुधार गर्ने योजनाअन्तर्गत भवन निर्माण गरिएको बताए । बिओपीमा पूर्वाधार नहँदा सीमा सुरक्षार्थ खटिएका प्रहरीले आफैँ सुरक्षित हुने अवस्था नरहेकाले प्रदेश सरकारले प्राथमिकताका साथ पूर्वाधार निर्माण गरिरहेको बताुए ।

साथै उनले प्रदेश सरकारले प्रहरीलाई सुरक्षा र विपद् उद्धारका लागि आवश्यक सामग्री प्रदेशभर वितरण गरेको जानकारी दिए । पूर्वाधार निर्माणले सशस्त्र प्रहरी आवास व्यवस्थापनमा सहज हुने बताउँदै सीमा निगरानी, अवैध ओसारपोसार नियन्त्रण र राजस्व छली नियन्त्रणमा सक्रियताका साथ काम गर्न उहाँले निर्देशन दिए । सशस्त्र प्रहरी बलको सुदूरपश्चिम प्रमुख प्रदीपकुमार पालले पूर्वाधार निर्माणले प्रहरीको सेवा प्रवाहमा सहज हुने बताए ।  स्रोतसाधनको अभावमा प्रहरीले सेवा प्रदान गरिरहेको बताउँदै सबै बिओपीमा आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग आग्रह गरे ।

प्रदेश सरकारद्वारा विनियोजित ४० लाख बजेटमा २९ लाख ७३ हजारमा ठेक्का सम्झौता भई अतिथि गृह निर्माण गरिएको मन्त्रालयका निमित्त सचिव आमोद दहालले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा थप तीन वटा बिओपीहरुमा पूर्वाधार निर्माण गर्ने प्रदेश सरकारको योजना छ । जिमुवामा गत वर्षको सङ्घीय योजनाअन्तर्गत दुई वटा प्रहरी ब्यारेक भवनको  निर्माण सम्पन्न भएको छ । जिमुवा क्षेत्रको दुर्गम टोल श्रीलङ्कामा रहेको बिओपी यसअघि खानेपानी कार्यालयको भवनमा बस्दै आएको थियो ।

वर्षाद्को समयमा बाढीको उच्च जोखिम रहेको यस क्षेत्रमा भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुनेछ । त्यसैगरी शनिबार मात्रै बेलौरीको खड्डाकंकडमा रहेको बिओपी भवनको मन्त्री सार्कीले उद्घाटन गरेको थियो ।