global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ महिला मैत्री कार्यस्थलका लागि नीति परिवर्तनमा डा.संग्रौलाको जोड

महिला मैत्री कार्यस्थलका लागि नीति परिवर्तनमा डा.संग्रौलाको जोड

महिला मैत्री कार्यस्थलका लागि नीति परिवर्तनमा डा.संग्रौलाको जोड

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले पछिल्ला दशकहरूमा कार्यस्थल र वित्तीय क्षेत्रमा महिला श्रमिकहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको बताएकी छिन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा अहिले यी क्षेत्रमा कार्यरत महिलाहरूले व्यावसायिक र पारिवारिक भूमिकाबीच सन्तुलन कायम गर्नुपर्ने दबाब, लैंगिक असमानता, कार्यबोझ र यौन दुव्र्यवहारजस्ता समस्याहरूका कारण गम्भीर मानसिक स्वास्थ्य चुनौतीहरू झेलिरहेको पनि टिप्पणी गरेकी छिन् ।

नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवि विभागकी प्रमुखसमेत रहेकी केन्द्रीय सदस्य संग्रौलाले महिलाहरूले कार्यस्थलमा उच्च तनाव, डिप्रेसन, आन्तरिक अपराधबोध र थकान जस्ता समस्याहरूको सामना गर्नु परेको उल्लेख गरिन् ।

उनले संस्थाको डेडलाइन र लक्ष्य हासिल गर्ने दबाब, पारिवारिक जिम्मेवारी, र लैंगिक विभेदका कारण तनाव र डिप्रेसन बढ्दो रहेको बताउँदै समाधानका लागि सबैको सामूहिक पहलको आवश्यकतामा जोड दिइन् ।

उनले भनिन् ‘महिलाहरूले कार्यस्थलमा आफ्नो आवाज दबाइएको र मूल्यांकन नभएको महसुस गर्छन्, जसले उनीहरूको आत्मविश्वास र उत्पादकतामा असर गर्छ ।’

अहिले पनि सामाजिक दृष्टिकोणले महिलालाई घरायसी जिम्मेवारीको ‘प्राकृतिक भूमिका’ मा मात्रै सीमित राख्ने मान्यता कायमै रहेको चर्चा गर्दै कार्यस्थलमा लैंगिक पूर्वाग्रह, निर्णय तहमा महिलाको न्यून सहभागिता र मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको अभावले यी समस्याहरूलाई थप जटिल बनाएको उल्लेख गरिन् ।

उनले भनिन् ‘अहिले पनि हाम्रा दिदी वहिनीहरूले डर र लाजका कारण आफ्ना मानसिक समस्याहरू खुलेर व्यक्त गर्न सकिरहनु भएको छैन ।’

संग्रौलाले महिलाहरूको मानसिक स्वास्थ्य सुधारका लागि संस्थागत र सामाजिक स्तरमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै कार्यस्थलमा मानसिक स्वास्थ्य नीति र यौन उत्पीडनविरुद्ध शून्य सहनशीलताको नीति अवलम्वन गर्न आग्रह गरिन् ।

यसैगरी प्रत्येक संस्थामा गोप्य मनोपरामर्श सेवा र सहकर्मी सहयोग समूहको व्यवस्था गर्दै। मानव स्रोत विभाग (एचआर)मार्फत महिला मैत्री वातावरणका लागि तालिम र वर्कशप आयोजना गर्नु पर्ने तर्क पनि गरिन् ।

कुनै पनि संघ संस्थाहरुले मानसिक स्वास्थ्यलाई कमजोरी नठान्ने सोच विकास गर्न र नियमित रूपमा मानसिक स्वास्थ्य मूल्यांकन तथा लैंगिक समानतासम्बन्धी तालिम अनिवार्य गर्नु पर्ने मत पनि उनको छ ।

संग्रौलाले सरकार, निजी क्षेत्र, मिडिया र सामाजिक संस्थाहरूको संयुक्त प्रयासले मात्र समस्याको समाधान सम्भव हुने बताउँदै सरकारले महिला मैत्री श्रम नीति निर्माण गर्नुपर्ने, निजी क्षेत्रले समावेशी कार्यसंस्कृति स्थापना गर्नुपर्ने, मिडियाले सकारात्मक महिला भूमिका प्रस्तुत गर्नुपर्ने र सामाजिक संस्थाहरूले मनोपरामर्शको पहुँच सहज बनाउनुपर्नेमा जोड दिइन् ।

उनले अगाडि भनिन् ‘कार्यस्थललाई महिला मैत्री, सुरक्षित, र समावेशी बनाउन सक्यौं भने महिलाहरूको मात्र होइन, समग्र संस्थाको उत्पादकता र रचनात्मकता अभिवृद्धि हुन्छ ।’
मानसिक स्वास्थ्य सुधारका लागि नीति, व्यवहार र सामाजिक सोचमा व्यापक परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्दै यस्ता प्रयास गर्दा कार्यस्थलमा कार्यरत महिलाहरूको मानसिक स्वास्थ्य सुनिश्चित गर्नुका साथै समग्र विकासमा योगदान पुग्ने उनको विश्वास छ ।

प्रकाशित समय : ०७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु