दाङको समग्र विकासका लागि सकारात्मक छुः महामन्त्री आचार्य
वि.सं.२०८३ असोज १९ सोमवार १७:११
shares

सारांश
- महामन्त्री विपिन आचार्यले दाङको पूर्वाधार विकाससहित हरेक विकासका लागि आफू सकारात्मक रहेको बताएका छन।
- फरक प्रसङ्गमा उनले संसद्लाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
- राज्यका संरचनालाई दलीयकरणबाट टाढा राख्न पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिएको उनको भनाइ छ ।
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले दाङको पूर्वाधार विकाससहित हरेक विकासका लागि आफू सकारात्मक रहेको बताएका छन। आज घोराहीमा पत्रकारसँगको भेटमा उनले आफ्नो कार्यकालमा जिल्लामा रहेका विद्यमान समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महामन्त्री आचार्यले टरिगाउँ विमानस्थल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाल संस्कृत विश्वविद्यालयको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । यहाँका नागरिकलाई हरेक सेवा सुविधाको पहुँचमा पुर्याउन आफू प्रतिबद्ध रहेको उनले उल्लेख गरे।
भरपर्दो हवाई तथा स्वास्थ्य सेवा नभएसम्म दाङको विकासले गति लिन नसक्ने भन्दै महामन्त्री आचार्यले जिल्लाको समग्र विकासका लागि यी क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए । टरिगाउँ विमानस्थल र स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नति गरी जिल्लामै गुणस्तरीय सेवा उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।
प्रतिष्ठानको विकासका लागि बजेट विनियोजन भइसकेको जनाउँदै महामन्त्री आचार्यले भवन निर्माणको प्रक्रिया पनि छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरे। हवाई सेवा विस्तारले दाङसँगै साविक राप्ती क्षेत्रलाई समेत फाइदा पुग्ने भन्दै विमानस्थलसँगै छिमेकी जिल्लासँग जोडिने प्रमुख सडकको स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।
टरिगाउँ विमानस्थलको वास्तविक अवस्था र विस्तारको सम्भावनाबारे प्राविधिक टोलीसँग छिट्टै छलफल गरिने महामन्त्री आचार्यले प्रतिबद्धता जनाए । फरक प्रसङ्गमा उनले संसद्लाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । संसद्मा सरकारका कमीकमजोरीबारे उठाइने प्रश्न सरकारलाई कमजोर बनाउन नभई अझ जनताप्रति जवाफदेही बनाउनका लागि हुने उनको भनाइ छ ।
सरकारले स्वतन्त्र रूपमा काम गरिरहेको भन्दै महामन्त्री आचार्यले पार्टीले सरकारका काममा हस्तक्षेप नगरेको उल्लेख गरे । राज्यका संरचनालाई दलीयकरणबाट टाढा राख्न पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिएको उनको भनाइ छ ।






















