global ime bank Long Banner Ad

गृहपृष्ठ सेती नदीमा बाढीको पूर्वसूचना दिन १७ स्थानमा साइरन जडान

सेती नदीमा बाढीको पूर्वसूचना दिन १७ स्थानमा साइरन जडान

सेती नदीमा बाढीको पूर्वसूचना दिन १७ स्थानमा साइरन जडान

तनहुँ जलविद्युत् आयोजनाले सेती नदी तटीय क्षेत्रका बासिन्दालाई बाढीको सम्भावित खतराबाट जोगाउन पूर्वसूचना प्रणाली जडान गरेको छ । नदी किनारका १७ विभिन्न स्थानमा साइरन जडान गरी बाढी आउनुअघि नै जानकारी दिने आधुनिक ‘अर्ली वार्निङ सिस्टम’ सञ्चालनमा ल्याइएको हो ।

गत वर्ष असार २२ गते सेती नदीमा आएको ठुलो बाढीबाट पाठ सिक्दै यो प्रणाली जडान गरिएको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए । उनका अनुसार सम्भावित क्षतिलाई रोक्न तीन महिनाअघि नै यो प्रविधि जडान गरिएको थियो ।

१४० मेगावाट क्षमताको यस आयोजनाले १४० मिटर अग्लो बाँध निर्माण गरिरहेको छ । मुख्य बाँध बनाउने ठाउँलाई सुक्खा राख्न नदी फर्काउनका लागि बनाइएको करिब ३७ मिटर अग्लो अस्थायी बाँध (कफर ड्याम) लाई लक्षित गरी यो सूचना प्रणाली जडान गरिएको हो । वर्षायाममा नदीमा पानीको सतह बढेर अस्थायी बाँधबाट पानी बग्न थालेमा वा बाँध नै भत्किने अवस्था आएमा प्रणालीले तुरुन्तै सूचना दिने गौतमले बताए ।

गौतमका अनुसार, हाल सेती नदीमा पानीको सतह औसतमा ३१० देखि ३११ मिटर रहेको छ । पानीको सतह बढेर ३२४ मिटर पुगेपछि सेन्सरले काम गर्न थाल्छ । सतह ३३० मिटर पुग्दा त्यसलाई ‘वार्निङ लेभल’ मानिन्छ र आयोजनाले उच्च निगरानी सुरु गर्छ । पानीको सतह ३३५ मिटरभन्दा माथि पुगेपछि त्यसलाई जोखिम (खतराको तह) मानिन्छ र सेन्सरले करिब ४ किलोमिटर टाढा रहेको आयोजनाको कार्यालयमा स्वचालित रूपमा जानकारी पठाउँछ ।

खतराको सूचना प्राप्त हुनासाथ आयोजनाले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउन साइरन बजाउँछ । बाँधस्थलदेखि त्रिशूली नदीको घुमाउनेसम्मका १७ स्थानमा जडान गरिएका साइरनले स्थानीयलाई सुरक्षित स्थानमा जान पूर्वजानकारी दिनेछन् ।

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु