गृहपृष्ठ छुवाछूत उन्मूलन दिवसका अवसरमा सार्वजनिक बिदा दिन माग
छुवाछूत उन्मूलन दिवसका अवसरमा सार्वजनिक बिदा दिन माग
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जातीय भेदभाव तथ छुवाछूत उन्मूलन दिवसको दिन प्रत्येक वर्ष जेठ २१ गते सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिएको छ ।
उन्नाइसौँ जातीय भेदभाव तथ छुवाछूत उन्मूलन दिवस दिवसको अवसरमा राष्ट्रिय दलित आयोगले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले भने “सरकारले आजको दिनलाई सार्वजनिक बिदा दिनुपर्छ भनेर माननीय सदस्यहरुले संसद्मा आवाज उठाइरहेको छ, त्यसतर्फ सरकारले आवश्यक निर्णय गरोस् भन्ने मैले यस अवसरमा आग्रह गर्दछु ।”
आज पनि हाम्रो समाजमा दलित समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सेवा र राज्यका निकायमा सहज पहुँच अपेक्षा गरेअनुसार सुनिश्चित हुन नसकेको उहाको भनाइ छ । अध्यक्ष दाहालले दलित समुदायबारे संविधानले प्रत्याभूत गरेका अधिकारहरू व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै बहुसङ्ख्यक दलित समुदायका बालबालिका अझै पनि गुणस्तरीय शिक्षाबाट वञ्चित भएको बताए।
स्वास्थ्य सेवामा पहुँच कमजोर छ र रोजगारीका अवसरहरूमा उनीहरूको सहभागिता न्यून रहेको उहाको भनाइ छ । हिजोको छुवाछूत र असमान व्यवहार कानुनी रूपमा निषेध भए तापनि व्यावहारिक जीवनमा अझै हिंसा, सामाजिक बहिष्कार र अपमानजनक व्यवहारको रूपमा देखिने गरेका हामीले देख्दै भोग्दै आइरहेका छौँ, उनले भनेको छ ।
सार्वजनिक ठाउँमा पहुँचबाट वञ्चित गरिनु, धर्म, संस्कार वा परम्पराका नाममा सामूहिक कार्यमा सहभागी हुन अवरोध पु¥याउनु, दलित समुदायभित्र पनि दलित महिलामाथि हुने दोहोरो शोषणले नेपाली सामाजिक अवस्था चित्रण गरेको उहाले बताए ।
यस्ता व्यवहार अन्त्य गर्न कानुनी प्रावधानहरू पर्याप्त भए तापनि कार्यान्वयनमा चुनौती कायमै छन, छुवाछूत तथा जातीय भेदभावसम्बन्धी मुद्दाहरूमा अनुसन्धान ढिलो हुने, विभिन्न कानुनी छिद्रहरूको प्रयोग गरेर दोषीहरूले उन्मुक्ति पाउने स्थिति, कतिपय सन्दर्भमा सरकारी निकायहरुमै देखिने पक्षपातपूर्ण व्यवहार र पीडितमैत्री संरचनाको अभावले पीडित समुदायलाई थप पीडित बनाएको यथार्थलाई हामी सबैले भोगेका छौँ, उनले भने । सामाजिक सांस्कृतिक रूपमा रहेका खराब सोचलाई बदल्न कानुनी प्रावधानका साथसाथै व्यापक रूपमा जनचेतना फैलाउन परिवर्तनको सुरूआत आफैँबाट गर्नुपर्ने पनि उनले बताए ।
यस्ता समस्यालाई मध्यनजर गर्दै राष्ट्रियसभाले दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक९सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धमा सङ्कल्प प्रस्तावमा छलफल गरी सरकारलाई कार्यान्वयनका लागि निर्देशन गरेको उहाले जानकारी दिए। त्यस्तै विभिन्न समयमा राष्ट्रिय सभामा दलित समुदायका हक, अधिकारका लागि माननीय सदस्यहरूले गम्भीर रूपमा सवलाहरू उठाइरहनुभएको उल्लेख गरे ।
उनले भने, “यहाँ हामीले गम्भीर ङ्गले ध्यान दिनुपर्ने छ कि नेपाली जनताले सदियौँदेखि वर्गीय, लिङ्गीय, क्षेत्रीय मुख्यतः जातीय रुपमा अमानवीय र दर्दनाक विभेदको अवस्थाबाट मुक्ति पाउन ठूला ठूला बलिदान र कठिन सङ्घर्ष गर्दै त्यो राजसंस्थाकाल होस् वा राणाकाल, पञ्चायतीकालका कालकोठरीबाट मुक्त भएर भर्खर अधिकारसम्पन्न समाज निर्माण गर्न संविधानअनुसार ऐन कानुन बनाएर वामे सर्न लागेको बेला उच्च वर्ग एकात्मक सामन्ती सोच र जातीय अहङ्कारपूर्ण योजनासाथ गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी व्यवस्थामाथि हिलो छ्याप्तै सिङ्गो देशलाई गलत दिशातिर लैजान खोज्ने हर्कतहरू सडकमा देखिन थालेका छन् ।
उनले गलत प्रवृत्ति र सोचलाई निस्तेज पार्न सबै उत्पीडित दलित समुदाय अरू उत्पीडित समुदायसँग एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आबस्यकता औँल्याए ।
छुवाछूत र जातीय भेदभावको निगरानी, अनुसन्धान, नीति निर्माणमा सल्लाह तथा सिफारिस प्रदान गर्ने, पीडितलाई संरक्षण प्रदान गर्ने र उनीहरूको न्यायमा पहुँच सुनिश्चित गर्न दलित आयोगले सकारात्मक भूमिका खेलेको उनको भनाइ छ । अध्यक्ष दाहालले तर, त्यस कार्यमा राज्य र राजनीतिक दलहरूको पनि प्रतिबद्धता आवश्यक रहेको नीति निर्माण, विकास कार्यक्रम र बजेट विनियोजनमा समावेशी दृष्टिकोण अङ्गिकार गर्नुपर्ने आवश्यकता औँल्याए । निर्णायक तहमा दलित नेतृत्वको प्रतिनिधित्व गराई निर्णय प्रक्रियामा सहभागी गराउने कार्यले सामाजिक न्यायको आधार बलियो बनाउने उनको तर्क छ ।
युगौँदेखि जातीय छुवाछुत र आत्मसम्मानको पीडा खेपेर बाँचिरहेका दलित समुदायको अवस्था गणतन्त्र स्थापना भएपछि पनि अपेक्षित सुधार हुन सकेको छैन, दलित सर्मु इतिहासदेखि नै हुँदै आएको विभेदको परिपूरण गर्न, क्षतिपूर्ति दिन, विशेषाधिकार दिन राज्यले कन्जुस्याइँ गदैन । आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायबारे संवैधानिक अधिकारलाई कानुन बनायर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
जातीय छुवाछूत उन्मूलन राष्ट्रिय दिवस भव्य रुपमा मनाऔँ, सामाजिक सद्भावसहितको समतामूलक समाज निर्माण गरौँ भन्ने मूल नारासहित आज देशैभरि यो दिवस मनाइएको छ ।
प्रकाशित समय : १४:०७ बजे


















