global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सम्पादकिय “बजेटको बुट्टा, फुलको सुगन्धकि काँडाको चिरा”

सम्पादकिय “बजेटको बुट्टा, फुलको सुगन्धकि काँडाको चिरा”

सम्पादकिय “बजेटको बुट्टा, फुलको सुगन्धकि काँडाको चिरा”

नेपालका अर्थमन्त्री विष्णु पौडेलले २०८२ जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट नेपाली अर्थतन्त्रलाई गतिशील बनाउने घोषणा सहित सार्वजनिक गरे । “स्थायित्व, समावेशिता र प्रवद्र्धनमुखी अर्थतन्त्र ” भन्ने नारासहित आएको यो बजेटले राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्ने प्रयास त गरेको छ, तर त्यो प्रयास कागजमा कति चम्किलो छ र व्यवहारमा कति सम्भव छ, त्यसले यसको मूल्य निर्धारण गर्नेछ ।
हाम्रो विगतको तथ्यांक बोल्छ: २०८०/८१ मा सरकारले विनियोजन गरेको पूँजीगत बजेटमध्ये ८०% मात्र खर्च भएको थियो । उदाहरणका लागि, ‘स्मार्ट सिटी’को घोषणा भएका १७ सहरमध्ये हालसम्म एउटा सहरमा पनि न योजना पक्कापक्की भएको छ न अन्य प्रभावकारी प्रगति ।  कृषिमा सिँचाइको दाबी गरे पनि सिंचाई विभागले कर्णालीमा शुरु गरेको दुई ठूला योजनाको काम सन्तोषजनक छैन ।
पौडेलको बजेटमा “आधारभूत संरचना निर्माणमा प्राथमिकता दिइने” भनिए पनि वर्षको अन्तिम त्रैमासिकमा हतार हतारमा गरिने खर्च बाहेक ठोस प्रगति कतै पनि देखिदैन ।

सार्वजनिक खरिद ऐनलाई दोसी देखाएर विकास आयोजना यति धेरै लम्ब्याइन्छ कि त्यसको कुनै सिमा छैन ।  बजेटले राजस्वबाट १३ खर्ब ५० अर्ब उठाउने महत्वाकांक्षी योजना बनाएको छ । तर, विगतमा यो लक्ष्य बारम्बार चुकेको छ । कारण हामीले घरेलु उत्पादन होइन, आयातमा निर्भर भएर भन्सार राजस्व बटुल्ने नीति अँगालेका छौ । उदाहरणका लागि, भारतबाट मात्रै आयात गरिने पेट्रोलियम, खाद्यान्न, सवारीसाधन आदिबाट कुल भन्सार राजस्वको ठुलो हिस्सा हुन आउँछ । जब आयात घट्छ, बाढी, चुनाव, मूल्यवृद्धि वा अन्य संकटका कारण त्यसको सीधा असर हाम्रो राजस्वमा पर्छ । त्यसैले, उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राजस्वको भरपर्दो भविष्यको कल्पना आफै भ्रमपूर्ण हुनेछ ।
बजेटले “ युवाशक्तिलाई उत्पादन र उद्यममा लगाउने”, “विदेशमा जानेलाई सीपयुक्त बनाएर पठाउने”, “देशमै रोजगारी सिर्जना गर्ने” जस्ता आकर्षक नारा बोकेको छ , तर व्यवहारमा के हुन्छ हेर्न बाँकी नै छ ।
२०८०/८१ मा लाखौं नेपालीले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएका थिए । बजेटले भनेजस्तै युवा रोजगारी सिर्जना गर्न सक्ने हो भने यो संख्या घट्नुपर्ने हो, तर बढ्दै गएको छ ।  उदाहरणका लागि, सोलुखुम्बुको एक युवाले कृषि उद्यम थाल्ने योजना बनाए, सरकारको ’उद्यमशीलता अनुदान’मा आवेदन दिए, तर तीन पटक फाइल हरायो, अन्तमा उनले कतार रोजे । जब प्रक्रियामा भ्रष्टाचार, ढिलासुस्ती र जटिलता हुन्छ, तब नीति घोषणाहरू खोक्रा सिद्ध हुन्छन । संघीयता कार्यान्वयनको ८ वर्षपछि पनि बजेटको व्यवस्थापन अझै केन्द्र, प्रदेश, स्थानीय सरकारबीचको समन्वयविहीन देखिन्छ ।
यो बजेटमा पनि ’सङ्गीयता सुदृढीकरण कोष’ स्थापना गर्ने भनिएको छ, तर यसले अधिकारको स्पष्ट बाँडफाँड र योजना कार्यान्वयनमा प्रभाव पार्छ भन्ने ग्यारेन्टी छैन । उदाहरणस्वरूप, शिक्षा र स्वास्थ्य स्थानीय तहको अधिकारमा आए पनि बजेटको ठुलो हिस्सा अझै केन्द्रमै छ । जब नीति र कार्यान्वयनको जिम्मेवारी फरक तहमा हुन्छ, तर स्रोत र निर्णय सत्ताको एउटै तहमा केन्द्रित रहन्छ, तब संघीयता सधै कमजोर बनिरहन्छ ।
बजेटले निजी क्षेत्रलाई “अर्थतन्त्रको मूल इन्जिन“ को रूपमा परिभाषित गरेको छ, जुन स्वागतयोग्य हाो तर, निजी क्षेत्रको विश्वास जित्न सरकार आफैं जिम्मेवार हुनुपर्छ । नीति स्थिरता, कर स्पष्टता, न्यायिक पहुँच, र श्रम नियमहरूमा सुधार आवश्यक छ । २०८० यता थुप्रै विदेशी लगानी , हाइड्रोपावर र औद्योगिक क्षेत्र ब्यूरोक्रेसीको जालमा अड्किएर फर्किएका छन् । जब लगानीकर्ताले नेपालमा स्थिरता र पारदर्शिता पाउँदैन, तब नारा जतिसुकै राम्रो भए पनि आर्थिक वृद्धिको अपेक्षा भ्रम बन्न जान्छ ।
अर्थमन्त्री विष्णु पौडेलको बजेट नारा, आकांक्षा र प्राथमिकताले भरिएको छ । तर, विगतका उदाहरणहरूले देखाएको छ कि कार्यान्वयन नै हाम्रो सबैभन्दा कमजोर कडी हो । यदि सरकारले बजेट घोषणापछि पनि पुरानै शैलीमा काम गर्छ । ढिला, अस्पष्ट र अमलहीन रह्यो भने यो बजेट पनि ‘मौसमी घोषणाको थाक’ मा परिणत हुनेछ । स्थिर सरकारको वातावरण बनाएर कार्यान्वयन गरे सम्भावना नभएको पनि होइन त्यसैले सफल कार्यान्वयनको शुभकामना ।
अब समय आइसकेको छ  “घोषणा होइन, परिणाम”  मा फोकस गर्ने । जनताले बजेटको भाषणमा हैन, आफ्नो खेतमा पानी, बजारमा मूल्य, अस्पतालमा सेवा, र छोराछोरीलाई स्वदेशमै रोजगारीमा देख्न चाहन्छन् । जब बजेट तिनको जीवनमा प्रत्यक्ष देखिन्छ, तब मात्र यो सफल मानिनेछ शुभकामना  ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु