global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ हर्क साम्पाङलाई हेर्दा लाग्छ, ‘कार्यकारी निर्वाचित अभिशाप बन्नसक्छ’

हर्क साम्पाङलाई हेर्दा लाग्छ, ‘कार्यकारी निर्वाचित अभिशाप बन्नसक्छ’

हर्क साम्पाङलाई हेर्दा लाग्छ, ‘कार्यकारी निर्वाचित अभिशाप बन्नसक्छ’

जब सत्तामा भएको कुनै व्यक्तिका कतुर्तहरु प्रमाणसहित सार्वजनिक हुन थाल्छन्, त्यसपछि त्यो व्यक्ति एकाएक बर्बराउन थाल्छ । के बोल्ने, नबोल्न होस् हराउन थाल्छ । तथ्यलाई छोप्न आवेग, आक्रोश र निम्नस्तरको गालीगलौजमा उत्रिन थाल्छ । तपाईँलाई लाग्दैन, ठ्याक्कै यस्तो अहिले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गर्दैछन् ।

आजभन्दा झण्डै दुईबर्षअघि चुनावको सरगर्मी चढेको थियो । धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ स्वतन्त्र उम्मेदवारको हैसियतमा मैदान छिरेको थिए । दलहरुभन्दा अलि भिन्न उनको चुनावी प्रचारको शैलीले धेरैलाई प्रभावित पारेको थियो । उनी एक्लै एउटा माइक समाएर चुनावी प्रचारमा निस्किन्थ्ये । न कुनै कार्यकर्ताको भीड, न कुनै तडकभडक । सामान्य ढंगबाट आफ्ना एजेन्डा सुनाउँदै टेम्पो चढेर हिड्ने साम्पाङ त्यसैकारण जनतालाई मन परेका हुन् । तथापी साम्पाङलाई राष्ट्रिय मुलधारको मिडियाले ‘स्पेस’ दिएको थिएन । तर हामीले त्यो बेला पनि ‘आन्दोलनको अर्काे नाम हर्क साम्पाङ’ भन्दै सामाग्री प्रकाशित गरेका थियौं । जुन अहिले पनि अरकाईभमा खोज्दा भेटिन्छ । जसले निकै चर्चा पनि पाएको थियो । खानेपानीकै मुद्दा उठाएर धराने जनताका पक्षमा उनले गरेको कामकै कारण उनी धरानको नेतृत्वमा आउनुपर्छ भन्ने अरुजस्तै चाहना हाम्रो पनि थियो । तर दुईबर्ष बित्यो मेयर साम्पाङ आन्दोलनको नभई विवादको अर्काे नाम बन्दैछन् ।

अहिले उनीमाथि केही गम्भीर आरोपहरु सार्वजनिक भएका छन् । श्रमदानका नाममा धरानको करोडौं रकम स्वाहा पारेको आरोप छ । सुम्निमा-पारुहाङ प्रतिमा निर्माणस्थल नजिकै प्लटिङ गरि जग्गा दलालीलाई सहयोग गर्न खोजेको आरोप छ । अरु त अरु, नक्कली माओवादी बनेर साम्पाङले चन्दा उठाएको विगतसमेत ताजा बनेर सार्वजनिक भएको छ ।

अहिले जति पनि विषयहरु सार्वजनिक भएका छन्, यी हचुवाका भरमा सार्वजनिक भएका होइनन् । खोज पत्रकारिता केन्द्रको लामो अनुसन्धान र प्रमाणसहित तथ्यलाई केलाएर सार्वजनिक गरिएको हो । तर साम्पाङले यसलाई गालीगलौजको विषय बनाए । जबकि गलत कुरा कसैले सार्वजनिक गर्छ भने पत्रकार नै भएपनि उसलाई कारबाही गर्ने बाटो छ । त्यसका लागि उनी तथ्य प्रमाणसहित आफुलाई निर्दाेष सावित गर्न अड्डा अदालत जान सक्छन् । तर त्यसमार्फत प्रतिवाद गर्नुको सट्टा उनी आफैमाथि प्रश्न उठ्ने गरि ‘लातको भूत बातले मार्न’ खोज्दैछन् ।

सार्वजनिक व्यक्ति भएर आफ्नो विरोध गर्ने जोहीमाथि भिड्नै पर्ने उनको स्वभाव छ । अदालतले दिएको आदेशलाई समेत ‘मान्दिन’ भन्छन् । सरकारले केन्द्रमा बनाएका ऐन कानुनलाई ‘त्यस्ता नाथे’को संज्ञा दिएर ‘मान्दिन’ भन्छन् । के एउटा जनताको नेतालाई नियमविपरित चल्ने छुट छ ?

तर यसले उनको व्यक्तित्व र भोलिको राजनीतिक भविष्यमाथि सिधा असर गर्नेछ । हर्क साम्पाङ त्यो व्यक्ति बन्नुपर्छ, जसबाट प्रभावित भएर भोलि सयौं स्वतन्त्रहरु देश बनाउने अभियानमा जुट्न प्रेरित हौउन् । तर अवस्था यस्तो बन्दैछ, हर्क साम्पाङको कार्यशैली देखेरै स्वतन्त्रप्रति मानिसहरुको विश्वास उडिरहेको छ । स्थानीय निकायमा स्वतन्त्रप्रति जुन खाले आकर्षण बढिरहेको थियो, त्यो हर्क साम्पाङहरुकै कारण माटोमै धूलिसात बन्दैछ । यिनीहरुमा देखिएको अहंकारले गर्दा जनताले चाहेको प्रत्यक्ष निर्वाचित कार्यकारी भोलि गएर देश र जनताको लागि अभिशाप बन्नसक्छ भन्ने संकेत गर्दैछ ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु