गृहपृष्ठ रवि पक्राउले अराजक बनेको रास्वपा
रवि पक्राउले अराजक बनेको रास्वपा
पूर्वगृहमन्त्री समेत रहेका आफ्ना पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा वृत्त दुई दिनदेखि सडक आन्दोलनमा छ । यो पक्राउलाई प्रथमदृष्टिमै प्रतिशोध र नयाँ दलमाथिको निषेधका रुपमा रास्वपाले हेरेको छ । हुन पनि गिरिबन्धु जग्गा प्रकरणका आरोपी नै प्रधानमन्त्री भएर सरकार चलाइरहेको, नक्कली भुटानी शरणार्थी प्रकरणजस्तो मानव बेचबिखनमा पटकपटक नाम जोडिएर पनि परराष्ट्रमन्त्री बन्ने सौभाग्य पाएको र लैनचौरको जग्गा हडप्दा पनि केही व्यक्तिले मन्त्रीका रुपमा झण्डा हल्लाउने अवसर पाएको योबेला रास्वपाले प्रतिशोध भन्नुलाई अन्यायपूर्ण मान्नु अन्याय नै हुन जान्छ ।
त्यसमा पनि सहकारी ठगीको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता तथा संसदीय लेखा समितिका सभापति ऋषिकेश पोखरेल अनुसन्धानको दायरामै आएका छैनन् । मुख्य ठगहरु फरार रहँदा सहकारीको रकम अपचलनमा प्रत्यक्ष संलग्नता नभेटिएका लामिछानेको पक्राउमा प्रतिशोध देख्नु रास्वपाका लागि स्वभाविक नै हो । फलतः पक्राउ परेको दुई दिनपछि अदालतमा हाजिर हुँदै गर्दा रविले सरकारले झुटा मुद्दामा आफुलाई फसाएको दाबी गर्नसम्म भ्याए । उनले भने, ‘मलाई केपी ओलीको सरकारले फसायो । अदालतले न्याय दिन्छ । डेढ बर्ष छानबिन गर्ने हो भने केपी ओली नै सबैभन्दा बढी भ्रष्ट ठहरिन्छन् । त्यसैले केपी ओलीको सरकार ढाल्न लागिपर्न म सबैलाई आग्रह गर्दछु।’
तर, यहाँ रविमाथि प्रश्न के हो भने उनी पक्राउ पर्दैमा सरकार ढाल्नुपर्ने आवश्यकता के ? हिजो आफु गृहमन्त्री हुँदा आरजु राणालाई पक्राउ गर्न खोज्दा सरकार ढलेको बताउने रवि अहिले आफै पक्राउ पर्दा सरकार ढाल्न किन कार्यकर्ता उचाल्दैछन् ? प्रश्न यो पनि हो । नत्र भने उनलाई कानुनी प्रक्रियाबाट दोषमुक्त हुने र चोख्खिने अवसर हो यो ।
केपी शर्मा ओली आफै गिरिबन्धु जग्गा प्रकरणका आरोपी हुन् यसमा दुईमत रहेन । किनकि सर्वाेच्च अदालतले नै ओलीको निर्णय गलत छ भन्दै बदर गरेको छ र यसमा जोडिएकालाई कारबाही गर्न भनेको छ । तर, हिजो गृह मन्त्रालय दिँदा ओलीजस्तो नेता हुनु सौभाग्य मान्ने रवि आज तिनै ओलीको सरकारले अनुसन्धानमा ल्याउँदा ओली प्रधानमन्त्री हुनु नै दुर्भाग्य भएको ठोकुवा गरिरहेका छन् । अर्थात, जुन शैली पुराना राजनीतिक दलहरुले छाडिसकेका छन्, त्यही शैली रास्वपाले अपनाएको छ । र कसरी रास्वपा विकल्प भयो भन्ने गम्भीर प्रश्न उठेको छ । एकातर्फ अदालतमाथि विश्वास रहेको बताउने र अर्कोतर्फ अदालत पनि नांगिसकेको टिप्पणी गर्ने रास्वपाले आफु वैकल्पिक भएको भाष्य आफैँले काटिरहेको छ । किनकि रवि पक्राउको विरोध गर्दा रास्वपाका केही सांसदले अदालत पनि नाङगिएको भन्दै प्रश्न उठाएका छन् ।
रास्वपा र रवि लामिछानेप्रति अहिले पनि जनताको विश्वास उडेको छैन । अहिले पनि लामिछानेले देश बनाउँछन् भन्नेमा धेरै जनता विश्वस्त छन् । तर, सामान्य कानुनी प्रक्रियामा सभापतिलाई सहभागी गराउँदा कार्यकर्ता उतार्ने स्तरको रास्वपाको निर्णय कच्चा देखिन्छ । सबैभन्दा पहिले त रविलाई पोखरा लैजाँदा नै प्रहरीसँगै रास्वपाका नेताको पनि स्कर्टिङ थियो । सरकारले प्रतिशोध साँधेको भनेपछि बाटो बाटोमा कार्यकर्ता उतारेर प्रहरीको गाडी रोक्न लगाइयो । रातारात बाटोमै नाराबाजी गर्न लगाइयो । सरकारले पक्राउ पुर्जी नलिइ पक्राउ गर्नु प्रतिशोध साध्न खोजेको भन्ने देखिन सक्थ्यो । तर, अदालतले नै आवश्यकता देखेर प्रक्रिया अनुसार नै सबै काम गर्नु र त्यसमा सघाउने स्वयंम् रास्वपाकै अभिव्यक्तिका बीच कार्यकर्ता उतारेर निषेधाज्ञासमेत तोड्दै गरिएको आन्दोलन आफैमा नयाँ दलका लागि नयाँ र पृथक संस्कार थिएन । बरु खुमबहादुर खड्का पक्राउका समयमा यसैगरी कार्यकर्ता उतार्ने कांग्रेस सुध्रिदै गयो । बालकृण खाण पक्राउ पर्दा कार्यकर्ता उतारेन । माओवादी र एमालेले पनि आफ्ना नेता पक्राउ पर्दा कार्यकर्ता उतारेन । तर, नयाँ भनिएको रास्वपाको चरित्रमा नयाँ देखिएन ।
शनिबारसम्म अवस्था सामान्य नै थियो । रास्वपाका कार्यकर्ताहरुको सामान्य विरोध पनि भएको थियो । तर, अनुसन्धानमा सहयोग पुर्याउने बताउने रास्वपा भीड कम देखिएपछि रातारात सर्कुलर गर्दै देशभरबाट कार्यकर्ता बोलाएर अनावश्यक हुलदंगा गर्न थप हौसिएको छ । यसले मानवीय क्षतिसमेत निम्त्यिाउन सक्छ । किनकि शान्ति सुरक्षा खल्बलिने महसुस भएपछि लगाइएको निषेधाज्ञा तोड्न रास्वपाकै कार्यकर्ता अग्रसर छन् । निषेधज्ञा क्षेत्र तोडेको भिडियो खिचेपछि पत्रकारमाथि नै कुटपिटमा उत्रिए । तर स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा प्रहार गर्दा त्यसलाई रास्वपाले पञ्चायती शासनसँग जोडिरहेको थियो ।
छोटो समयकै लागि भएपनि दुई पटक गृहमन्त्री भइसकेका रविमा जुन राजनीतिक परिपक्कता देखिनुपथ्र्यो त्यो अहिले पनि देखिएन । सडकबाटै सरकार ढाल्न कार्यकर्तालाई उनले गरेको आह्वानले यसको शान्तिपूर्ण निरुपण र अनुुसन्धानमा सहयोग नभई थप तनाव र अराजताका पक्षमा स्वयंम पूर्वगृहमन्त्री देखिएको स्पष्ट हुन्छ । अर्थात् पुराना नेता जेल कोच्ने रास्वपाको सपना तब मात्रै पूरा हुन्छ, जब आफु सफा हुन्छ । तर, बारम्बार रविमाथि नै प्रश्न उठ्नु र त्यसको निरुपणभन्दा बढी कार्यकर्ताको बलमा अराजकता निम्त्याउन खोज्नु रास्वपाकै लागिसमेत प्रत्यूत्पादक बन्दैछ ।
हिजो रविलाई निर्दोष देखाउनेहरु नै आज कसरी दोषी देखाइरहेका छन् ? यो फरक पाटो छ । जवाफ माग्नुपर्छ । तर, जिम्मेवार राजनीतिक दलले प्रश्न उठेपछि न्यायिक निरुपणको प्रक्रियामार्फत सफाई पाउनुपर्छ । जुन उसकै लागि फाइदा हो । किनकि सहकारी ठगको घण्टी झुण्ड्याइदिँदा आफुलाई निर्दोष सावित गर्नु रास्वपाकै लागि फाइदाजनक हुनेछ ।
प्रकाशित समय : १८:४१ बजे




















