global ime bank Long Banner Ad

गृहपृष्ठ विपदमा लुक्ने नेतृत्व : के राजा – के नेता ?

विपदमा लुक्ने नेतृत्व : के राजा – के नेता ?

विपदमा लुक्ने नेतृत्व : के राजा – के नेता ?

जनताको लागि राजा हौंउन् कि दल । दरबार होस् कि बालुवाटार । अफ्ठ्यारो पर्दा कोही काम लाग्दैन भन्ने पाठ, फेरि यो विपद्ले पनि सिकायो ।

देश विपत्तिबाट गुज्रिएर नागरिक भोग र शोकमा परेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘रेडकार्पेट’मा हिड्ने रहर जागेर आयो । अनि तिनैलाई रैतीहरुले ‘श्री ५ को सरकार’ भन्दै सामाजिक सञ्जाल रंग्याइरहेका छन् । श्री ५ को सरकारलाई न संविधानले चिन्छ, न विधि विधानले चिन्छ । त्यो मात्र इतिहास हो । तर रैतीहरुलाई दरबारको धङधङीले अहिलेसम्म छोडेको छैन । मनको लडडु घिउसँग चोपिरहेकाछन् ।

पूर्वराजालाई प्रजा बन्न मन छ । अर्थात् उनी सामान्य जीवनयापनमै खुशी छन् र आम नागरिकसरहकै जीवन बाँच्न चाहन्छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका पुत्र पारसले त केही समयअघि भन्दै थिए– के को राजावादी ? के को गणतन्त्रवादी ? यो वादी त्यो वादी केही होइन । सब नेपालवादी हो । अर्थात् पूर्वराजपरिवारलाई मतलब छैन । उनीहरु प्रजासरहकै आम जिन्दगी बाँच्न खोजिरहेका छन् । तर राजा र रैतीको जुग सकिएपनि आधुनिक युगका रैतिहरु भन्दैछन्- होइन हामीलाई त दास नै बनाउनुपर्छ ।

देश विपत्तिले तहसनहस पारेको छ । मुखमा दशैंको उत्सव छ । माफियाराज र भ्रष्टाचारीले घेरेको सरकारले गर्नुपर्ने काम फिटिक्कै गरेको छैन । राहत र उद्दारसहित पीडितको पुनःस्थापनाका कामहरु लथालिङगै छन् । यस्तो बेला के राजा के प्रजा – के नेता के जनता । सबै मिलेर विपद्को सामना गर्नुपर्ने हो । तर यता सरकारमा भएको नेतृत्वले समस्या बुझ्दैन । उता विज्ञप्तीका नाममा कागजको खोस्टो फालेर जनताको सारो चिन्ता छ भन्ने देखाएका पूर्वराजा भुटानमा पुगेर रेड कार्पेटमाथि हिड्दै थप चिड्याइरहेका छन् । के संकटका बेला पीडितको घाउमा महलम लगाउने कर्तव्य उनको पनि होइन र ?

यसैपनि ज्ञानेन्द्र शाह राजाभन्दा बढी व्यापारी थिए । अहिले पनि उनी अर्बौ सम्पत्ति र सयौं कम्पनीका मालिक हुन् । उनी नेपालका १० धनीको सूचीमा रहेको र विनोद चौधरी बराबरकै सम्पत्ति रहेको भन्नेसम्मको चर्चा हुन्छ । तर विपद्का बेला दुई चार करोड वा अर्ब नै फालिदिएमात्रै पनि बाढीले बगाएका बस्ती बन्न सक्छन् । शरीरमा एकसरो लुगा र एक छाक नपाएकाले पूर्वराजा देशमै छन् भन्ने आभाष गर्ने मौका पाउन सक्छन् । तर देश विपद्ले तहसनहस बनि जनता शोकमा परेका बेला पूर्वराजा भुटानमा रेडकार्पेटमाथि ‘क्याटवाक’ गरिरहेका छन् ।

यीनी त देशको एक कुनामा थन्किएका सामान्य आम मानिसमात्रै हुन् । पूर्व राज्यप्रमुखका हिसाबले भुटानले सम्मान गरेको विषय नेपालीकै सम्मानसरह बन्ला । तर आफ्ना एक लाख जनता नेपाली भाषी भएकै कारण देश निकाला गरेको भुटानका बारेमा बाँकी बोल्नै परेन । तर देश अहिले दुःखीरहेको पूर्वराजाका कारण नभई अहिलेकै नेतृत्वका कारण हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका नाडीमा २ करोड ८० लाख भन्दा बढीको घडी छ भन्दा तपाईँलाई विश्वास नलाग्ला । तर भर्खरै सार्वजनिक एक खबरका अनुसार ओली पातेक फिलिप ब्राण्डको २ लाख १५ हजार अमेरिकी डलर पर्ने घडी लगाएर हिड्छन् । उद्दार र राहत नपाएर जनता मर्ने देशका प्रधानमन्त्रीको हातमा झण्डै तीन करोडको घडी हुनु प्रचण्डलाई पनि उछिनेर माथि पुग्नु हो । किनकि माओवादी अध्यक्ष प्रचण्डको हातमा मात्रै ८० लाखको रोलेक्स घडी छ । सर्वहाराका दुवै कम्युनिष्ट नेताहरुले करोडौंका घडी र परिवारले लाखौंका ब्याक बोक्नु अब सामान्य मान्नुभन्दा परको विषय रहेन ।

त्यसमा पनि प्रधानमन्त्रीले लगाएकै घडीको मूल्य हेर्दा झ्याप्लेखोलामा पहिरो छल्नसक्ने सडक बन्नसक्छ । रोशीमा भत्केको सडक र केही घर उठ्न सक्छन् । तर सरकारकै ढुकुटी खर्चिएर समेत विपद्मा नागरिकलाई मलहम लगाउन नसक्ने सरकारका प्रधानमन्त्रीबाट यस्ता अपेक्षा गर्नु ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ जस्तै हो ।

विपद्का बेला सरकार बेपत्ता छ भने, सांसदहरुसमेत जनताको बीचमा पुग्न सकिरहेका छैनन् । बरु प्रतिपक्षमा हुँदा गरिएको स्टन्ट नै सही, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाढीले सबैभन्दा बढी प्रभावित बनाएको क्षेत्र नख्खु हुँदै काभ्रेसम्म पुगे । अस्पतालमा पुगेर घाइतेको अवस्था बुझे । सिन्धुलीमा उनै पार्टीका लेखनाथ दाहाल र सिन्धुपाल्चोकमा माधव सापकोटा राहत उद्दार र अवरुद्ध बाटो खुलाउन सक्रिय बनेको देखिन्छ । नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत र एमाले गोकुल बास्कोटासमेत निर्वाचन क्षेत्र केन्द्रीत नै छन् । रास्वपाकी तोसिमा कार्की घाइतेको उपचार गर्दै गरेको फोटो हालेकी छन् । काँग्रेसका सांसद उदयशम्शेर राणा पनि फिल्डमै छन् । तर छिटफुट सांसद पुग्ने ठाउँमा सरकार पुग्न सकिरहेको छैन । अर्थात् सरकारका मन्त्रीलाई सिंहदरबारबाट निस्किने फुर्सद नै छैन । गृहमन्त्री रमेश लेखक पनि निरीह बनेका छन् भने यस्तो अवस्थामा काँग्रेसका गगन थापा र विश्वप्रकाश शर्माहरु जनताको बीचमा देखिने कुरा पनि भएन ।

विपद्का बेला लुक्ने नेताहरुको सूची लामै छ । त्यसमा पनि प्रधानमन्त्री केही समय अमेरिकामै लुके । क्यानडा हुँदै अमेरिका र त्यसपछि कतार हानिएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबारमात्रै स्वदेश फर्किएकी छन् । अर्थात् विपद्मा जनताको बीचमा हुनुपर्छ र नागरिकको जिउधन नै पहिलो प्राथमिकता हो भन्ने कुरा आरजुले बिर्सिइन् । सम्भवतः मन्त्री भएपछि उनी नेपाललाई ट्रान्जिटमात्रै बनाइरहेकी छन् । तीन देश घुमेर फर्किएकी उनी फेरि विदेश गइहाल्ने कार्यतालिका तयार छ ।

मन्त्री बनेपछि जनतालाई आभाष हुनेगरि काम गर्ने हो । तर सरकारका मन्त्री र अधिकांश जिम्मेवार निकायका प्रमुख विदेशीतिर छन् । प्रहरी प्रमुख र विपद् प्राधिकारणका प्रमुख विदेश भ्रमणमा छन् । मुख्यसचिव नै बाढी पहिरोले जनता बग्दा बढुवाको सम्मान थाप्दै बाजागाजा बजाएर उत्सव मनाइरहेका थिए । यदि घुम्नै मन छ भने ढुक्कसँग घुम्ने हो । तर पदबाट राजीनामा दिएर लुटेको धनमा घुमे भइगो नी । अहिले यस्ता टिकाटिप्पणीसमेत हुन थालेका छन् ।

विपद्का बेला जो–जोले जनतामाथि अन्याय गरेका छन्, उनीहरु अझै पनि पदमा बस्न लायक छन र ? प्रथमतः मौसम विज्ञान विभागले गरेको भविष्यवाणी हावादारी थिएन । तर दुर्भाग्य, सरकारले आफ्नै निकायले गरेको पूर्वानुमानलाई विश्वास नगरी यति ठूलो भवितव्य निम्त्यायो । प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीलगायत थुप्रै विदेश सयरमा निस्किए । के उनीहरुमाथि कारबाही हुनुपर्दैन ? आवश्यकताभन्दा पर गएर अनावश्यक कार्यक्रममा भाग लिएर विदेशमै बस्ने मन्त्रीमाथि कारबाही हुनुपर्दैन ? नागरिकको जिउ ज्यान नै सिद्धिने गरि भएको भवितव्यको जिम्मेवारी कसले लिन्छ ? के नागरिकको मृत्यु यति सस्तो भइसक्यो ?

सरकारले गम्भीरतापूर्वक लिएको भए वा पूर्वानुमानलाई पत्याएको भए यति ठूलो जनधनको क्षति नै हुने थिएन । तथापी हुनुपर्ने भइसक्यो भनेर छुट दिन पनि नमिल्ला । अब सबै मिलेर यसको सामना गर्नुको विकल्प छैन ।

प्रकाशित समय : १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु