गृहपृष्ठ यस वर्षको मनसुनमा औसतभन्दा धेरै वर्षा र धेरै गर्मी हुने अनुमान
यस वर्षको मनसुनमा औसतभन्दा धेरै वर्षा र धेरै गर्मी हुने अनुमान
यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै औसतभन्दा बढी हुने जनाएको हो ।
जेठ १८ गतेदेखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी वर्षा हुने विभागको अनुमान छ । विभागका अनुसार यस वर्ष नेपालको पूर्वी भागमा औसत, मध्य नेपालमा औसतभन्दा केही धेरै तथा पश्चिममा औसतभन्दा धेरै वर्षा हुने देखिन्छ । यस्तै अधिकतम तापक्रम र न्यूनतम ताक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना छ ।
अनुमान सार्वजनिक गर्दै विभागकी प्रवक्ता एवम् वरिष्ठ मोसमविद् विभूति पोख्रेलले प्रि–मनसुन सिजनमै औसतभन्दा बढी वर्षा भई माटोको चिस्यान बढेकाले मनसुनको शुरुआतमा हुने वर्षाले पनि क्षति पु-याउन सक्ने बताइन् । उनले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको बताइन् ।
उनले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने बताइन् । जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ। मनसुनको समयमा नेपालमा हरेक वर्ष तीन सय बढीको ज्यान जाने र २ सय मिलियन डलरभन्दा बढी क्षति हुने गरेको विभागले जनाएको छ।
प्रकाशित समय : १६:५९ बजे



















