गृहपृष्ठ आईसीटीमार्फत ग्रामीण विद्यालयको सबलीकरण, बागलुङमा डिजिटल शिक्षा परियोजनाको दीर्घकालीन प्रभाव सकारात्मक
आईसीटीमार्फत ग्रामीण विद्यालयको सबलीकरण, बागलुङमा डिजिटल शिक्षा परियोजनाको दीर्घकालीन प्रभाव सकारात्मक
काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले एपीएनआईसी फाउन्डेसनको सहयोगमा बागलुङमा सञ्चालन गरेको ‘डिजिटल विभाजन न्यूनीकरण : सूचना तथा सञ्चार प्रविधि (आईसीटी) मार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण’ परियोजनाको दीर्घकालीन प्रभाव सकारात्मक देखिएको जनाएको छ।
परियोजनाको प्रभाव मूल्यांकनका लागि एपीएनआईसी फाउन्डेसनका प्रतिनिधिमण्डलले बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२, भीमापोखरास्थित विद्यालयहरूको स्थलगत अवलोकन गरेको हो। सन् २०२४ डिसेम्बर १४ मा सम्पन्न परियोजनाले ग्रामीण क्षेत्रमा डिजिटल शिक्षामा दिगो पहुँच विस्तार गर्दै पठनपाठनमा सकारात्मक परिवर्तन ल्याएको एनआईएफले जनाएको छ।
परियोजनाअन्तर्गत श्री जनप्रिय आधारभूत विद्यालय र श्री भीमदरबार आधारभूत विद्यालयका १०० विद्यार्थी तथा १९ शिक्षक प्रत्यक्ष लाभान्वित भएका छन्। विद्यालयमा कम्प्युटर, स्मार्ट शिक्षण उपकरण, आईसीटी कक्षाकोठा तथा भरपर्दो इन्टरनेट जडानको व्यवस्था गरिएको छ। साथै, बाह्य वायरलेस एक्सेस पोइन्टमार्फत विद्यालय परिसरबाहिर पनि इन्टरनेट सेवा विस्तार गरिएकाले स्थानीय समुदायसमेत लाभान्वित भएको जनाइएको छ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले विद्यालयका आईसीटी पूर्वाधार, कक्षाकोठा तथा डिजिटल सिकाइ अभ्यासको अवलोकन गरेको थियो। टोलीले शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायसँग अन्तरक्रिया गर्दै परियोजनाको प्रभावबारे जानकारी लिएको थियो।
अवलोकनका क्रममा डिजिटल पूर्वाधार प्रभावकारी रूपमा सञ्चालनमा रहेको र राम्रोसँग संरक्षण गरिएको पाइएको जनाइएको छ। शिक्षकहरूले डिजिटल उपकरणले कक्षाकोठाको सिकाइलाई थप अन्तरक्रियात्मक र प्रभावकारी बनाएको बताए भने विद्यार्थीहरूले नियमित पठनपाठनमा कम्प्युटर र इन्टरनेटको प्रयोगप्रति आत्मविश्वास बढेको अनुभव सुनाएका थिए। स्थानीय समुदायले पनि विद्यालयमार्फत डिजिटल सेवा र अनलाइन स्रोतमा पहुँच विस्तार भएको बताएका छन्।
भ्रमणकै क्रममा श्री जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई ५० वटा स्कुल ब्याग वितरण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिले शिक्षा क्षेत्रमा निरन्तर सहयोग पुर्याएको भन्दै एपीएनआईसी फाउन्डेसन र नेपाल इन्टरनेट फाउन्डेसनलाई प्रशंसापत्रसमेत प्रदान गरेको थियो।
नेपाल इन्टरनेट फाउन्डेसनले परियोजना सम्पन्न भएको एक वर्षभन्दा बढी समयपछि पनि दुवै विद्यालयमा आईसीटी कक्षाकोठाको प्रभावकारी उपयोग भइरहेकाले यसको दिगोपन पुष्टि भएको जनाएको छ। भरपर्दो इन्टरनेट, गुणस्तरीय डिजिटल पूर्वाधार र सामुदायिक स्वामित्वले विकट क्षेत्रमा पनि गुणस्तरीय डिजिटल शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको फाउन्डेसनको निष्कर्ष छ।
फाउन्डेसनले एपीएनआईसी फाउन्डेसनप्रति निरन्तर सहयोग र साझेदारीका लागि आभार व्यक्त गर्दै यस्ता सहकार्यले डिजिटल विभाजन न्यूनीकरण, ग्रामीण शिक्षा प्रणाली सुदृढीकरण तथा दुर्गम क्षेत्रका बालबालिकालाई गुणस्तरीय डिजिटल शिक्षामा समान पहुँच सुनिश्चित गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
प्रकाशित समय : ०८:४५ बजे



















