गृहपृष्ठ डिप्लोमा इन्जिनियरहरूको रोजाइमा नेपाल इन्जिनियरिङ कलेजको विडिएच, ४८ सिटका लागि एक सयभन्दा बढीको प्रतिस्पर्धा
डिप्लोमा इन्जिनियरहरूको रोजाइमा नेपाल इन्जिनियरिङ कलेजको विडिएच, ४८ सिटका लागि एक सयभन्दा बढीको प्रतिस्पर्धा
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजको ‘ब्याचलर अफ इन्जिनियरिङ (सिभिल) फर डिप्लोमा होल्डर्स (बीडीएच)’ कार्यक्रममा यस वर्ष उल्लेखनीय आकर्षण देखिएको छ। ४८ सिटका लागि लिइएको प्रवेश परीक्षामा एक सयभन्दा बढी विद्यार्थी सहभागी भएका छन्।
शनिबार ललितपुरको प्रयागपोखरीस्थित नेक–सिपिएस परिसरमा भएको प्रवेश परीक्षामा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट विद्यार्थी सहभागी भएका थिए। कक्षा ९ देखि १२ सम्म प्राविधिक विषय अध्ययन गरेका तथा सिटिइभिटीअन्तर्गत सिभिल इन्जिनियरिङमा डिप्लोमा पूरा गरेका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा विगतका वर्षको तुलनामा बढी आवेदन परेको कलेजले जनाएको छ।
बीडीएच कार्यक्रम संयोजक रमेश ज्ञवालीका अनुसार पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कार्यक्रममा छात्रवृत्तिसहित ४८ सिटका लागि एक सयभन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गरेका हुन्। विगतमा मुख्यतः डिप्लोमा पूरा गरी सरकारी सेवामा कार्यरत प्राविधिकहरूको सहभागिता रहने गरे पनि यस वर्ष कक्षा १२ सम्म विज्ञान विषय अध्ययन गरेका विद्यार्थीको समेत उल्लेखनीय आकर्षण देखिएको उनले बताए। यसले कार्यक्रमप्रतिको विश्वास बढ्दै गएको संकेत गरेको उनको भनाइ छ।
कलेजका कार्यवाहक प्राचार्य मोहनध्वज केसीले डिप्लोमापछि उच्च शिक्षा हासिल गर्न चाहने प्राविधिक जनशक्तिको संख्या बढ्दै जाँदा कार्यक्रमप्रतिको आकर्षण पनि बढेको बताए। सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका विद्यार्थीलाई विश्वविद्यालय तहको शिक्षा हासिल गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको र यसले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्दै व्यावसायिक दक्षता अभिवृद्धि गर्न सहयोग पुर्याउने उनले बताए।
नेपाल इन्जिनियरिङ कलेजले विसं २०५७ सालदेखि पोखरा विश्वविद्यालयको सम्बन्धनमा डिप्लोमा होल्डर्सका लागि बीडीएच कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजका अनुसार यस अवधिमा सयौं विद्यार्थीले स्नातक उपाधि हासिल गरी नेपाल सरकारका विभिन्न निकाय तथा निजी क्षेत्रमा जिम्मेवार प्राविधिक पदमा कार्यरत छन्।
सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत प्राविधिकलाई लक्षित गर्दै कलेजले साँझको समयमा नियमित कक्षा तथा शनिबार र सार्वजनिक बिदाका दिन प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको छ। यस व्यवस्थाले रोजगारी नछोडी उच्च शिक्षा हासिल गर्न सहज भएको कलेजको दाबी छ।
सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक सीप विकासमा जोड दिइने भएकाले पूर्वाधार विकास, निर्माण व्यवस्थापन तथा इन्जिनियरिङ क्षेत्रका व्यावसायिक चुनौती सामना गर्न सक्षम जनशक्ति उत्पादनमा कार्यक्रमले योगदान पुर्याउँदै आएको कलेजले जनाएको छ। अनुभवी प्राध्यापक, व्यावहारिक शिक्षण पद्धति र लचिलो अध्ययन प्रणालीका कारण बीडीएच कार्यक्रम डिप्लोमा इन्जिनियरहरूको रोजाइ बन्दै गएको कलेजको भनाइ छ।
प्रकाशित समय : ०८:४२ बजे



















