गृहपृष्ठ ढल्केबर–हेटौडा प्रसारण लाइनले मुअब्जा दिनुपर्ने माग
ढल्केबर–हेटौडा प्रसारण लाइनले मुअब्जा दिनुपर्ने माग
चन्द्रपुर नगरपालिका वडा नम्बर १ बागमतीका स्थानीय बासिन्दाले ढल्केबर हेटौडा विद्युत प्रसारण लाइनले पोल र तार जडान गर्नु अगाडि नै स्थानीय बासिन्दालाई मुआब्जा दिनुपर्ने नत्र अन्यत्र पोल सार्नुपर्ने माग राखेका छन् ।
प्रसारण लाइनको पोल र तारका कारण स्थानीय बासिन्दालाई ठूलो समस्या उत्पन्न भएको भन्दै उनीहरुले संघर्ष समिति समेत बनाएका छन् । पोल टाँगिएको स्थान र त्यसको वरपरको जमिनपछि बैंकमा राखेर ऋण लिन समेत नपाउने, तारका कारण मानिसहरू सुस्त हुने, त्यसबाट सुत्केरी महिलाहरू प्रभावित हुने लगायतका समस्याहरू रहेको भन्दै स्थानीय बासिन्दाले सरकार समक्ष दुई बुँदे माग राखेर सङ्घर्ष समिति गठन गरेका छन् ।
स्थानीय बासिन्दाले कि त आफूहरूलाई मुआब्जा दिनुपर्ने कि त तार र पोल अन्यत्र सार्नुपर्ने माग राखेका छन् । नेपाल विद्युत प्राधिकरणको ढल्केबर हेटौडा प्रसारण लाइनको तार र पोलका कारण आफूहरू पछि गएर समस्यामा पर्ने भन्दै उनीहरुले दुई सुत्रिय माग राखेर संघर्ष समिति गठन गरेका हुन् ।
सो विषयमा उनीहरूले ढल्केबर हेटौंडा प्रसारण लाइनका कर्मचारीसँग शनिबार कुरा गरेको भएपनि त्यो प्रभावकारी हुन नसकेका कारण काम रोकिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर १ बागमतीका स्थानीय बासिन्दाले तार टाँग्ने काम रोकेको संघर्ष समितिका सदस्य समिर बाबु कार्कीले जानकारी दिएका छन् ।
समितिको अध्यक्षमा दयाराम दाहाल ,सचिवमा सञ्जीवकुमार श्रेष्ठ ,सदस्यमा समिर बाबु कार्की ,सुरज दाहाल ,देवबहादुर सुवेदी ,कृष्ण हरि श्रेष्ठ टेकुमाया यसमाइली ,सन्तोष इस्माइली लगायतका रहेका छन् । उनीहरूले पोल र तार टाँगिएको आफ्नो जमिनको कुनै मूल्य नै नरहने र त्यसबाट विभिन्न शारीरिक समस्या समेत उत्पन्न हुने हुँदा त्यसको निराकरणका लागि सम्बन्धित निकायले तत्काल आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।
नेपाल विद्युत प्राधिकरणको ढल्केबर हेटौडा १ ३३ केभीको काम अहिले तीव्र गतिमा भइरहेको अवस्थामा स्थानीय बासिन्दाले दुई सुत्रिय माग राखेर काम रोकेका छन् । स्थानीय बासिन्दाले आफूहरूको माग राज्यपक्षले सम्बोधन नगरेको खण्डमा आफूहरू चरणबद्ध आन्दोलनमा उत्रने संघर्ष समितिका अध्यक्ष दयाराम दाहालले जानकारी दिएका छन् ।
प्रकाशित समय : १०:२१ बजे



















