खानेपानी मन्त्री शेष नारायण यादवको उदाहरणीय कार्य
वि.सं.२०८२ वैशाख ३ बुधवार १५:१६
shares

मधेश प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादवले उदाहरणीय परिपाटीको अभ्यास थालेका छन् । एक योजनाको आफँै शिलान्यास नगरी ज्येष्ठ नागरिकबाट शिलान्यस गराई उदाहरणीय परिपाटीको अभ्यास थालेका हुन । कुनै कार्यक्रमको प्रमुख अतिथि बन्न, उद्घाटन तथा शिलान्यासका लागि मन्त्री तथा नेताहरुबीच एक आपसमा होडबाजी र मारामार गर्ने परिपाटीको अन्त्य गर्दै मन्त्री यादवले एक योजनाको शिलान्यास ज्येष्ठ नागरिकबाट गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ स्थित कवर्ड हल नजिक निर्माण हुन लागेको डिलक्स सार्वजनिक शौचालयको शिलान्यास मन्त्री यादवले स्थानीय ज्येष्ठ नागरिक तथा समाजसेवी योगेन्द्र रायबाट गराएका हुन् ।
हिन्दू वैदिक विधिअनुसार पूजापाठसहित सम्पन्न शिलान्यास कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री यादवले आफ्नो स्थानबाट नै सम्मानजनक उपस्थित जनाउँदै शिलान्यासको कार्य राय मार्फत गराएका हुन । आफैँले शिलान्यास नगरेको सन्दर्भमा संचारकर्मीले राखेको जिज्ञासामा मन्त्री यादवले भने, “हामी जनप्रतिनिधिको प्रमुख कार्य नीतिगत योजना निर्माण र बजेट सुनिश्चितता गर्नु हो ।
काम जनताको हितको लागि हो भने त्यसमा श्रेय लिन होइन, सम्मानपूर्वक सहभागी गराउनु महत्वपूर्ण हुन्छ ।” ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको बजेटबाट करिब ३० लाख रुपैयाँको लागतमा बन्न लागेको उक्त सार्वजनिक शौचालयमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै ६ वटा शौचालय, दुईवटा पिशाब घर, र दुईवटा स्नानगृह निर्माण गरिने छ ।
























