गृहपृष्ठ योजना छनौट गर्न कर्णालीका सांसद निर्वाचन क्षेत्रमा
योजना छनौट गर्न कर्णालीका सांसद निर्वाचन क्षेत्रमा

आगामी आर्थिक बर्षमा कर्णाली प्रदेश सरकार कार्यान्वयन गर्ने योजना छनद्यट गर्न कर्णाली प्रदेशका सांसदहरु आफ्नो गृह जिल्लामा गएका छन् । स्थानीयको मागमा आधारित योजना बनाउन प्रदेशका सांसदहरु बस्तीसम्म पुगेका हुन् ।
योजना छनौटमा बिचौलियाहरूको प्रभाव रोक्न र पहुँचका आधारमा बजेट बाँड्ने बेथितिलाई अन्त्य गर्न कर्णाली प्रदेश सरकारले वडाबाटै तहगतरूपमा छनौट भएर प्राथमिकतामा परेका योजनाहरू मात्रै आगामी बर्षको बजेटमा समावेश गर्ने निति लिएको छ ।
गत फागुन १४ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले ‘आयोजना प्रस्ताव तथा छनौट प्रक्रियासम्बन्धी कार्यविधि’ स्वीकृत गरेको थियो । अहिले जिल्ला–जिल्लामा योजना छनौट भइरहेका छन् ।
सुरूमा वडाबाट पालिका, पालिकाबाट जिल्ला र जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरूको समितिमा योजना पठाउने गरिएको छ । अहिले उक्त योजना छनौटको काम अन्तिम चरणमा पुगेको छ ।
प्रदेश सरकारले एकद्वार प्रर्णालीबाट योजना छनौट गर्न कानुन निर्माण गरेर काम गरिरहेको छ । सरकारले बनाएको कार्यविधिअनुसार अहिले हरेक जिल्लामा योजना छनौट भएका छन् ।
योजनाहरू वैशाख ७ गतेभित्र सम्बन्धित मन्त्रालयमा पठाइसक्नु पर्ने छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले बिचौलिया रोक्ने नीतिले सरकारको विकास बजेटमा समेत लाभ हुने बताए । अहिले जिल्ला–जिल्लामा योजना छनौट भइरहेको र सकारात्मक धारणा बनेको उनले जानकारी दिए । उनी पनि योजना छनौटको क्रममा गृह जिल्ला डोल्पा पुगेका थिए ।
सबैक्षेत्रबाट सकारात्मक भाव पैदा भएकाले आगामी वर्षका लागि बन्ने योजना नागरिकमुखी हुने उनको भनाइ छ । मन्त्री बुढाले भने, ‘पहिलाको जस्तो बजेट निर्माण प्रक्रिया सुरु भएसँगै योजना माग्न राजधानी छिर्ने, मन्त्रालय धाउने परम्परा अन्त्य भएको छ ।
आवश्यकताका आधारमा जनताका योजना छान्ने काम भइरहेको छ, यसले नयाँ सन्देश दिनेछ ।’ कार्यविधिले १५ लाखभन्दा कमका योजना प्रदेशबाट कार्यान्वयन गर्न रोक लगाएको छ ।
‘झ्यालबाट योजना हाल्ने’ प्रवृत्ति अन्त्य गर्ने नीति प्रदेश सरकारले लिएको मुख्यमन्त्री यामलाल कँडेल बताउँछन् ।
कानून निर्माण गरेर योजना छनौटलाई व्यवस्थित बनाउन लागिएको उनले जनाए । मुख्यमन्त्री कँडेलकाअनुसार बनेको कार्यविधि अनुरूप अहिले दशवटै जिल्लामा धमाधम योजना छनौट भइरहेका छन् ।
अहिले सांसददेखि मन्त्रीसम्म योजना छनौटका लागि जिल्ला केन्द्रित भएका छन् । कार्यविधिअनुसार कुनै पनि योजना छनौट गर्दा त्यसको पहिचान, प्रस्ताव, विश्लेषण, मूल्याङ्कन तथा प्राथमिकीकरण र छनौट प्रक्रियालाई बस्तुनिष्ठ, माग र आवश्यकतामा आधारित बनाउनुपर्ने छ ।
छनौट प्रक्रियामा कार्यान्वयन गर्ने निकायलाई सहभागी तथा उत्तरदायी बनाउँदै आयोजना अनुशासन कायम गर्नुपर्ने छ । साथै छनौट भएका आयोजना प्रदेश आयोजना बैंकमा समावेश गरिने छ । त्यसपछि मात्रै आयोजना छनौट तथा कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाइने कार्यविधिमा उल्लेख छ ।
प्रदेशको तीव्र आर्थिक वृद्धिमा पु-याउने सहयोग, जनसहभागिताको अवस्था, दिगो विकासका समग्र लक्ष्य हासिलमा पु-याउने सहयोग, सामाजिक समावेशीकरण र लैङ्गिक मूल प्रवाहीकरणमा पु-याउने योगदान, आयोजनाको पूर्वतयारीको अवस्था र सम्पन्न हुन लाग्ने समय र प्रदेशको प्राथमिकता वा तुलनात्मक क्षेत्रमा पु-याउने योगदानलगायतका सामान्य आधार छन् । कार्यविधिमा उल्लेख भए अनुसार अब प्रदेश सरकारबाट १५ लाखभन्दा कम रकमका आयोजना छनौट गरिने छैन ।
कार्यविधि अनुसार कर्णालीका सबै जिल्लामा जिल्लास्तरीय आयोजना प्रस्ताव छनोट सिफारिस समितिको वैठकले आयोजना प्राथमिकीकरण गरेको बताइएको छ ।
छनौट भएका आयोजनाहरुलाई बिस्तृत आयोजना अध्ययन प्रतिवेदन (डीपीआर) बनेको, समुदायको आवश्यकता, प्रतिफल छिटो दिने, नागरिकहरुको जीवनस्तर उठाउने र उपार्जनमा सघाउने बहुउद्देश्यीय आयोजनालाई प्राथमिकता दिइने सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले बताए ।
प्रकाशित समय : १६:४६ बजे