काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

4.14K
shares

महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा आएका साधुसन्तलाई बिदाइ गरिएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा आज गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधुसन्तलाई पीताम्बरी, रूद्राक्ष, घण्ट, कमण्डलुसहित दक्षिणा दिएर बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई नौ वर्गमा वर्गीकरण गरेर दक्षिणा दिएको काठमाडौँ शाखा प्रमुख बैकुण्ठप्रसाद रेग्मीले राससलाई जानकारी दिए । फागुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गरेको सामग्रीसहित संस्थानले साधुसन्तलाई दक्षिणा बाँडेको हो ।

संस्थानले सभापति, अखडाका संरक्षकलाई नौ हजार, श्रीमहन्त सेक्रेटरी श्रीमहन्त थानापति, रम्तापञ्चका श्रीमहन्तलाई पाँच हजार १०० दक्षिणा दिएको छ । दक्षिणा लिन साधु सन्त पशुपतिनाथ मन्दिरको पश्चिम मूल ढोकाअघि लाम बसेका थिए ।

थानापति, सेक्रेटरी, श्री दिगम्बर, मण्डल श्री महन्त, अष्ट कौशल महन्तलाई तीन हजार छ सय, जमातीया महन्त, कोठारी, भण्डारी, पुजारी, कारोबारीलाई दुई हजार चार सय, नागाबाबा, महन्त, अवधुतानीलाई एक हजार सात सय ५०, अवधुत (आधा सन्यास) लाई एक हजार छ सय दक्षिणासहित बिदाइ गरिएको छ । महापुरूषलाई एक हजार सय, ब्रह्मचारी, भेषधारीलाई पाँच सय ५१ र मगन्ते नारायणलाई दुई सय गरी नौ वर्गमा वर्गीकरण गरेर दक्षिणा दिइएको उनले सुनाए। नौ वर्गका गरी संस्थानले दुई हजार तीन सय ६१ जना साधुसन्तलाई दक्षिणा दिएको छ ।

संस्थानले अहिलेसम्म २० लाख ३० हजार ६७ दक्षिणा स्वरूप बाँडिसकेको जनाएको छ । पत्र दिएका केहीलाई अझै दक्षिणा दिन बाँकी रहेको काठमाडौँ शाखा प्रमुख रेग्मीले सुनाए । पत्र बाँडेका सबैलाई दक्षिणा दिँदा करिब २१ लाख लाग्ने संस्थानले जनाएको छ । शनिबार छुटपुटलाई पनि दक्षिणा दिएर सकिने भएको छ ।

कोषले भने अधिकतम् सात हजार पाँच सय र न्यूनतम् एक सय एक दक्षिणा साधु सन्तलाई दिएको प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए । कोषले बाँडको दक्षिणाको विस्तृत विवरण शनिबार आउने उनले सुनाए ।