global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘मानवबस्ती जोगाउन जङ्गली जनावरको आतङ्क नियन्त्रण अनिवार्य’

‘मानवबस्ती जोगाउन जङ्गली जनावरको आतङ्क नियन्त्रण अनिवार्य’

प्रतिनिधिसभा सदस्यहरूले जङ्गली जनावरको आतङ्क नियन्त्रणमा ढिलाइ गरे गाँउघरको बस्ती रित्तिने चिन्ता व्यक्त गर्दै सरकारको ध्यानार्कषण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्र बजगाइँले प्रस्तुत गरेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद शेरबहादुर कुँवरले बसाइँसराइ रोक्नुपर्ने, कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गर्नेदेखि श्रमशक्तिलाई पलायन हुन नदिने कुरामा ध्यान दिनुपर्ने बताए ।

“गाँउघर रितिँदै छ । गाउँघर बन्जर हुँदैछ, यस्तै हो भने गाउँघरमा मान्छे होइन जनावर मात्र भेटिने छन्”, सांसद कुँवरले भने, “अब उत्पादनको क्षेत्रमा राज्यको ध्यान केन्द्रित गर्नुपर्छ । समाधान खोज्न ढिलाइ गदैन ।”

सांसद सराज अहमद फारुकीले जङ्गली जनावरको आताङ्क नियन्त्रणका लागि सामुदायिक पहरेदारीदेखी ड्रोनको प्रयोग गर्न सुझाव दिए । सांसद अम्मरबहादुर रायमाझीले ठाँउ विशेषको जङ्गली जनावरबाट आतङ्क बढेको चर्चा गर्दै  पहाडतिर दुम्सी र बाँदरको आतङ्कले मानवीय बस्ती विस्थापित भएको बताए ।

सांसद अशोक चौधरीले वन विनास र आवास क्षेत्रको सङ्कुचनले जङ्गली जनावर मानवीय बस्तीतर्फ आउने क्रम बढेको बताए । उनले मानव वन्यजन्तु द्वन्द्व नीतिगत खाका निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए।

सांसद विनिता कठायतले जङ्गली जनावरको बासस्थानमाथि मानवीय बस्ती र विकास निर्माणले हस्तक्षेप गरेकातर्फ ध्यानार्कषण गराए । उनले जङ्गली जनावरको आतङ्क रोक्ने नीति बनाउँदै गर्दा जनावरको संरक्षणमा असर पर्न नहुनेतर्फ सचेत गराए ।

सांसद देवप्रसाद तिमलसेनाले हात्ती, बाघ, दुम्सी र निलगाईलाई समावेश गरेर जङ्गली जनावरको आतङ्क नियन्त्रणका लागि यथाशीघ्र समाधान खोज्न सरकारसँग आग्रह गरे ।

सांसद रुपा सोशी चौधरीले जङ्गली जनावरको आतङ्क नियन्त्रणका लागि भारतको अभ्यासबाट सिक्न सकिने बताए । उनले घुम्ती अस्पताल बनाएर बादरको बन्ध्याकरण गर्न सुझाव दिए।

वन्यजन्तुबाट मानव र बालीनाली जोगाउन ठोस नीति निर्माण गर्नुपर्ने

सोही प्रस्तावमाथिको छलफलमा भाग लिने अन्य सांसदले पनि बाँदर, बँदेल, हात्ती, नीलगाई, दुम्सीलगायत वन्यजन्तुबाट मानिस र बालीनाली जोगाउन ठोस नीति निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।  सांसदहरूले नीतिगत रूपमै समस्या समाधानका लागि अघि बढ्न वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आग्रह गरे ।

सांसद सुशीला थिङले किसानको घरदैलोमा जाँदा बाँदरको समस्या समाधान गर्न माग हुने गरेको भन्दै समस्या समाधानका लागि तत्काल आवश्यक नीतिसहित अगाडि बढ्नुपर्ने बताए । सांसद मुक्तादेवी यादवले बाँदर र बँदेलका साथै नीलगाईले पनि किसानलाई समस्या भइरहेकाले यो प्रस्तावमा नीलगाईलाई पनि समावेश गर्न आग्रह गरे ।

सांसद प्रतीक्षा तिवारीले प्रस्तावमा हात्ती, नीलगाई, दुम्सी र बाघलाई पनि समावेश गरेर जानुपर्ने बताए । यी वन्यजन्तुले मानिस र कृषि दुवैमा समस्या पारेकाले ठोस नीति बनाएर नियन्त्रण गरिनुपर्ने उनको भनाइ थियो ।

सांसद नारायणप्रसाद आचार्यले प्रस्तावले समस्या समाधानमा सहयोग गर्ने विश्वास व्यक्त गरे । खेतीयोग्य जमिन बाँदर, बँदेल, नीलगाई, हात्ती, दुम्सीजस्ता वन्यजन्तुका कारण कम हुन थालेको उनले सुनाए ।

सांसद लक्ष्मी तिवारीले भारतमा बाँदर, बँदेल व्यवस्थापनको तालिम लिएकाले अरुलाई सिकाइरहेका छन् कि छैनन् भनी खोजी गरिनुपर्ने बताए। स्थानअनुसार बाँदरको जात फरक हुने भएकाले किन वन छोडेर बस्तीमा पस्न थाले भनी अनुसन्धान गरिनुपर्ने उनको भनाइ थियो ।

सांसद ठाकुर गैरेले बाँदरले ग्रामीण क्षेत्रमा घरभित्र बनाएको खानाको कसौँडी नै लगेर खाने समस्या आएको सुनाए । बन्ध्याकरण, चिडियाघरमा राखेर वा उपयुक्त उपायबाट बाँदर, बँदेललगायत वन्यजन्तुको समस्या समाधान गरिनुपर्नेमा जोड थियो ।

प्रकाशित समय : २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु