गृहपृष्ठ मधेश प्रदेशका मुख्यमन्त्रीसँग बिहारका सचिव अजयकुमारको शिष्टाचार भेट
मधेश प्रदेशका मुख्यमन्त्रीसँग बिहारका सचिव अजयकुमारको शिष्टाचार भेट
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको बिहार राज्यको सत्तारूढ जनता दल (युनाइटेड) का प्रदेशका सचिव अजयकुमार कुशवाहाले आज शिष्टाचार भेट गरेका छन ।
जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा मुख्यमन्त्री सिंह र जनता दल (युनाइटेड) का सचिव अजयकुमारबीच धर्म संस्कृति र पर्यटन प्रवर्द्धनका विषयमा कुराकानी भएको थियो ।
मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच पौराणिक कालदेखि नै नागरिकस्तरमा धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताउँदै यसलाई थप सुदृढ एवं दीर्घकालिन बनाउन दुई देशबीच धार्मिक पर्यटन विकासमा जोड दिनुपर्ने बताए । उनले मधेश प्रदेशमा भारतका राष्ट्रपति, प्रधानमन्त्री, उत्तरप्रदेशका मुख्यमन्त्रीलगायतका उच्चस्तरीय नेताको भ्रमणबाट जानकीको नगरी जनकपुरधामप्रति भारतका धार्मिक पर्यटकको रूची बढेको उल्लेख गरे।
मुख्यमन्त्री सिंहले रामायणमा उल्लेखित जनकपुरधामलगायत स्थलहरूको विकास तथा प्रसार गरी पर्यटनका माध्यमले धार्मिक एवं नैतिक पथागमनका लागि प्रेरित गर्ने उद्देश्यले ल्याइएको रामायण सर्किट र सीता सर्किटको पूर्णताबाट दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताए।
मुख्यमन्त्री सिंहले केही दिन आफ्नो अयोध्या भ्रमणको प्रसङ्गबारे चर्चा गर्दै त्यहाँ राम मन्दिरको निर्माण सनातनीहरूका लागि गौरवको विषय भएको बताए। उनले सीताविना राम अधुरो भएको भन्दै राममन्दिर दर्शन गर्न पुग्नेलाई सीता माताको आशीर्वाद लिन मधेश प्रदेशमा आउन सुझाउनुपर्ने समेत उल्लेख गरे। “मैले सीमावर्ती भारतीय राज्यका राजनीतिक नेतृत्व र अधिकारीलाई भारतका धर्मस्थलसँग जोडिएका प्रचार सामग्रीमा जनकपुरधामलगायत नेपालका धार्मिक नगरीका विषयमा उल्लेख गरिदिन आग्रह गरेको छु”, उनले भने ।
मुख्यमन्त्री सिंहले बिहारमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा भएका प्रयास, अभ्यास तथा चुनौतीबाट आर्जित अनुभव साझा हुनुपर्ने भन्दै सिमाञ्चलको संवेदनालाई जोड्न देशपार विवाहको परम्परा र साहित्यले भूमिका निर्वाह गरिरहेको चर्चा गरे ।
प्रकाशित समय : २२:०४ बजे


















