गृहपृष्ठ एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी कम्पनीको सेयर मूल्यमा आएको गिरावटसँगै मङ्गलबार विश्वभरका प्रमुख सेयर बजारमा पनि दबाब देखिएको छ ।

युरोपमा फ्रान्सको सिएसी ४० सूचकाङ्क प्रारम्भिक कारोबारमा शून्य दशमलव आठ प्रतिशतले घटेर आठ हजार ५५ दशमलव ८६ अङ्कमा झरेको छ । जर्मनीको डिएक्स शून्य दशमलव आठ प्रतिशतले घटेर २५ हजार २४८ दशमलव ७५ अङ्कमा पुगेको छ भने बेलायतको एफटिएसइ १०० करिब शून्य दशमलव आठ प्रतिशतले घटेर दश हजार ६१५ दशमलव ४५ अङ्कमा सीमित भएको छ ।

अमेरिकी सेयर बजारमा पनि गिरावटको सङ्केत देखिएको छ । डाउ फ्युचर्स शून्य दशमलव सात प्रतिशतले घटेर ५२ हजार ५०५ अङ्कमा रहँदा एस एन्ड पी ५०० फ्युचर्स शून्य दशमलव छ प्रतिशतले घटेर सात हजार ६५० दशमलव ५० अङ्कमा झरेको छ ।

एसियामा जापानको प्रमुख सूचकाङ्क निक्केई २२५ बिहानी कारोबारमा उकालो लागे पनि दिउँसोको कारोबारमा उक्त वृद्धि गुमाएको थियो । सूचकाङ्क अन्ततः शून्य दशमलव एक प्रतिशतभन्दा कमले घटेर ६३ हजार ४८४ दशमलव १० अङ्कमा बन्द भयो ।

ओपनएआईमा ठूलो लगानी रहेको जापानी कम्पनी सफ्टबैङ्क ग्रुपको सेयर भने टोकियोमा सात दशमलव पाँच प्रतिशतले बढेको छ । यससँगै कम्पनीले अघिल्लो दिनको गिरावट पूर्ति गरेको छ ।

एआई क्षेत्रमा देखिएको बजार दबाब ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीइओ)साम अल्टम्यानको पछिल्लो टिप्पणीपछि थप बढेको हो । उहाँले ‘फच्र्युन’ पत्रिकालाई दिएको अन्तर्वार्तामा ओपनएआईले वाल स्ट्रिटमा सेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने बताएको थिए । यसले सफ्टबैङ्क तथा ओपनएआईका अन्य प्रारम्भिक लगानीकर्ताले ठूलो मात्रामा नगद प्राप्त गर्ने सम्भावित अवसरमा ढिलाइ हुने देखिएको छ ।

अन्य एसियाली बजारमा पनि गिरावट देखिएको छ । अस्ट्रेलियाको एसएण्डपि÷एएसएक्स २०० सूचकाङ्क शून्य दशमलव नौ प्रतिशतले घटेर आठ हजार ६७२ दशमलव ५० अङ्कमा झरेको छ । दक्षिण कोरियाको कोस्पी शून्य दशमलव नौ प्रतिशतले घटेर छ हजार ६२७ दशमलव २६ अङ्कमा पुगेको छ । हङकङको ह्याङ सेङ एक प्रतिशतले घटेर २४ हजार ६६७ दशमलव २४ अङ्कमा झरेको छ भने चीनको साङ्घाई कम्पोजिट शून्य दशमलव पाँच प्रतिशतले घटेर तीन हजार ८६४ दशमलव २८ अङ्कमा सीमित भएको छ ।

एआई प्रविधिमा अत्यधिक उत्साहका कारण यस क्षेत्रका कम्पनीको सेयर मूल्य अस्वाभाविक रूपमा बढेको हुनसक्ने चिन्ताले पनि लगानीकर्ताको धारणा प्रभावित गरेको छ । एआई उद्योगका केही अगुवाले यसको विकासको गति मानव सुरक्षालाई ध्यानमा राख्दै केही सुस्त बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

मिजुहो बैङ्कका विश्लेषक एनजी जिङ वेनले एक प्रतिवेदनमा अमेरिकी कम्पनीबीच तथा अमेरिका र चीनबीच जारी तीव्र प्रतिस्पर्धालाई हेर्दा एआई विकासको गति समन्वयात्मक रूपमा सुस्त बनाउने सम्भावना अझै अनिश्चित रहेको बताएको छन् ।

यसैबीच, एन्थ्रोपिकका सीइओ डारियो अमोडेईले एआईको विकासमा जानाजानी र विश्वव्यापी रूपमा केही सुस्तता ल्याउनुपर्ने आह्वान गरेका छन् । उनका टिप्पणीले पनि एआई क्षेत्रमा बढ्दो मूल्याङ्कन र विकासको गतिबारे लगानीकर्ताको चिन्ता थप बढाएको छ ।

तेलको मूल्यमा वृद्धि
ऊर्जा बजारमा भने कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य दुई दशमलव १९ प्रतिशतले बढेर प्रतिब्यारेल १०३ दशमलव ६१ डलर पुगेको छ । अन्तरराष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य पनि दुई दशमलव १३ प्रतिशतले बढेर प्रतिब्यारेल १०७ दशमलव ९३ डलर पुगेको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध जारी रहेकाले तेलको मूल्यमा दबाब परेको हो ।

दुई क्षेत्रीय अधिकारीले ‘एसोसिएटेड प्रेस’लाई दिएको जानकारीअनुसार, गत साता भएको आक्रमणपछि साउदी अरबको एउटा महत्त्वपूर्ण तेल पाइपलाइन आगामी केही हप्तासम्म अधिकांश समय बन्द रहनेछ । उक्त पाइपलाइनले साउदी अरबलाई तेल निर्यात लाल सागरतर्फ सार्दै फारसको खाडीस्थित स्ट्रेट अफ हर्मुजलाई छल्ने विकल्प प्रदान गर्दै आएको थियो ।

स्ट्रेट अफ होर्मुजमा इरानी आक्रमणका कारण तेल ट्याङ्करको आवागमन अवरुद्ध भएपछि विश्वव्यापी तेल आपूर्तिप्रति चिन्ता बढेको छ ।

मुद्रा बजारमा अमेरिकी डलर १५४ दशमलव ३० येनबाट बढेर १५४ दशमलव ९९ जापानी येन पुगेको छ । युरोको मूल्य भने एक दशमलव १५५७डलरबाट घटेर एक दशमलव १५३३ डलरमा झरेको छ ।रासस

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु