गृहपृष्ठ भौतिक मन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति
भौतिक मन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति
वर्तमान सरकार गठन भएको २०० दिनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । आज (शुक्रबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
उनले २०० दिनका लागि मन्त्रालयले निर्धारण गरेको कार्य प्रगति लक्ष्यउन्मुख रहेको बताए । उनले विगतमा वर्षा र बाढीको प्रकोपका कारण लक्ष्य प्राप्तिमा कमी आएपनि संवद्ध सबैको सकारात्मक सहयोगले उपलब्धिमुलक कार्य सम्भव भएको बताए । उनले ठूला आयोजना व्यवस्थापनमा देखिएका समस्या तथा स्रोत साधनको सिमितताका बाबजुत उच्च प्रतिफल हासिल गर्न आवश्यक सबै प्रयत्न गरेको जिकिर गरेका छन् ।
उनले भने, ‘पहिलो सय दिनका लागि निर्धारित १० वटा र २०० दिनका लागि निर्धारित १२ कामका क्षेत्रमा किटान गरिएको लक्ष्यहरुको प्रगति लक्ष्य उन्मुख रहेको छ । यसबीचमा वर्षात र बाढीका प्रकोपद्वारा सिर्जित आपतकालीन सडक तथा यातायात व्यवस्थापनको कार्यमा लाग्नुपरेको कारण लक्ष्य प्राप्तिमा केही कमी भएको भएपनि यो उपलब्धि हासिल गर्न मन्त्रालय र अन्तर्गत विभाग र फिल्डमा मेहनतपूर्वक खट्ने सबै तहका कर्मचारी । सबै सरोकारवालाहरु र मिडियाबाट प्राप्त सहयोगबाट नै सम्भव भएको उल्लेख गर्न चाहन्छु । यस अवधिमा मन्त्रालयले कतिपय ठूला आयोजना व्यवस्थापनमा देखिएका समस्या र स्रोत साधनको सीमितताका बाबजुद उच्च प्रतिफल हासिल गर्न आवशयक सबै प्रयत्न गरेको जानकारी गराउन चाहन्छु । आगमी दिनमा आयोजना व्यवस्थापनका समस्या समाधान गरी जनअपेक्षा पूरा गर्न यस कार्यमा अझै प्रभावकारी ढङ्गले लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु ।’
मन्त्री दाहालले चालु वर्षमा मन्त्रालयका लागि विनियोजित बजेटमध्ये साउनदेखि माघ मसान्तसम्म कुल २८ दशमलव १५ प्रतिशत खर्च भएको बताए । उनले दुई लेनको २४६ किलोमिटर तथा लेनमाथिको ३० दशमलव ५८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको बताए । उनले बर्दिवास—चोचा रेलमार्ग खण्डमा थप तीन किलोमिटर ट्रयाकवे निर्माण भएको तथा यातायात व्यवस्थापनतर्फ जिपिएस जडान लगायतका कार्य निरन्तर भइरहेको बताए ।
उनले भने, ‘आब २०८१/८२ मा यस मन्त्रालयको लागि चालुतर्फ ७ अर्ब ४८ करोड ६३ लाख र पुँजीगततर्फ एक अर्ब ५ करोड गरी कुल १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन रहेकोमा माघ महिनासम्म मन्त्रालय र अन्तर्गतको क्ल खर्च २८ दशमलव १५ प्रतिशत रहेको छ । सडकतर्फ कुल कालोपत्रे स्तरको नयाँ सडक २ लेनको २४६ किलोमिटर र २ लेन माथिको सडक ३० दशमलव ५८ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ ।
प्रकाशित समय : २०:२६ बजे


















