गृहपृष्ठ ओली–प्रचण्डः स्वार्थ मिल्दा चाटाचाट, नमिल्दा काटाकाट
ओली–प्रचण्डः स्वार्थ मिल्दा चाटाचाट, नमिल्दा काटाकाट
माओवादी शान्तिपूर्ण राजनीतिमा आएदेखि एमालेसँगको पार्टी एकता हुँदै फेरि फुटको नियतीसम्म आइपुग्दा यी दुईको मिलन र बिछोडको लामै फेहरिस्त छ । नेपालका दुई ठूला कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको माया, प्रेम र गालीगलौजको राजनीतिक श्रृंखला लामै छ । त्यसमा पनि अहिले यी दुईबीचको सत्तायात्रा टुटेपछि अर्काे नयाँ श्रृंखला थपिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बन्ध बुझेर पनि बुझिनसक्नु छ । सत्ता सहकार्य गर्दा एकअर्काको प्रशंसा गर्न कुनै कञ्जुस्याईं नगर्ने उनीहरु छुट्टाछुट्टै कित्तामा पुगेपछि भने सत्तोसरापमा लागिपर्छन् ।
कुनैबेला स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने वाचाकसम खाएका उनीहरू अहिले एक अर्कालाई तल देखाउन भगीरथ प्रयासमा छन् । साढे तीन महिनाअघिसम्म एउटै कित्तामा बसेर काम गरेका ओली–प्रचण्डबीच अहिले एकअर्काप्रति निरन्तर कटाक्ष चलिरहेको छ । जुन पछिल्लो दुई दिनमा आएका उनीहरूका अभिव्यक्तिले पनि पुष्टि गर्छ ।
शनिबार माओवादीले सरकारविरुद्ध खबरदारी सभा गरेको थियो । जहाँ सरकारका समग्र पक्षको खबरदारीका लागि भनिएपनि सभालाई सम्बोधन गर्ने प्रचण्डसहितका नेताहरु प्रधानमन्त्री ओलीप्रति मात्र लक्षित देखिए । आफु र ओलीबीच भएको सँगै बाच्ने र मर्ने कुराकानीदेखि ओलीले दिएको धोका र ओलीले भ्रष्टाचारीलाई जोगाउन गरेको कसरतसम्मका विषयमा प्रचण्डले आलोचना गरे । विगतको तितो ओकले । उनले ओलीलाई गलहत्याएर सडकमा फ्याँक्नेसम्मको धम्की दिए ।
यता नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पनि प्रचण्डलाई काउण्टर दिन कुनै कसर बाँकी राखेनन् । पटकपटक माओवादीले गरेको जनयुद्धलाई आतंकको संज्ञा दिँदै आएका ओलीले पुनः एकपटक माओवादीलाई आतंककारी कै रुपमा चित्रण गरे । आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरू हतियार चलाउने जस्तो नभएको टिप्पणी गर्दै धम्क्याएको भरमा खान नआउने भन्दै माओवादीलाई प्रहार गरे । आफुहरूलाई हतियार चलाउन नआए पनि अरुलाई बिसाउने तरिका थाहा भएको भन्दै प्रधानमन्त्री ओलीले माओवादीप्रति कटाक्ष गरे । प्रचण्डले हतियार चलाउन नबिर्सिएको भन्दै दिएको अभिव्यक्तिमाथि कटाक्ष गर्दै ओलीले भने– ‘उहाँहरुले हतियार बुझाउन पनि बिर्सिनु भएको छ ।’
एमाले र माओवादी मिल्नु र फुट्नुले नै काँग्रेसको आगामी भविष्य अँध्यारो हुने कि उज्यालो हुने निक्र्यौल गर्ने हुँदा काँग्रेसले यी दुईबीचको जुहारीमा भरपूर फाइदा उठाइरहेको छ । अघिल्लो प्रतिनिधिसभामा २३ सिट मात्रै भए पनि १२१ सिटको एमालेलाई प्रतिपक्षमा राखेर सरकारको नेतृत्वमा पुगेको काँग्रेस अहिले सदनमा पहिलो दल नै बन्न सफल भएको छ । त्यतिमात्रै होइन, कहिले प्रचण्ड त कहिले ओलीलाई काँध हालेर सरकारमा रजगज गरिरहेको छ ।
कुनै समय नेकपा नामक एउटै विमानका दुई पाइलट भएका ओली–प्रचण्डको मेल र बेमेलले आन्तरिक राजनीतिमा हुने गरेको सत्ता उलटपुलट त सामान्य जस्तै भइसक्यो । तर, नेपालमा कम्युनिष्ट मिलेको हेर्न चाहने अथवा मिलाउन चाहने चिनियाँलाई पनि हायलकायल बनाएका छन् । तर विश्लेषकहरु भने सबैलाई गुमराहमा राख्दै स्वार्थ अनुकूल ओली र प्रचण्डका सत्तामुखी मिलन र बिछोड चलिरहने बताउँछन् । लामो समय एमाले र ओलीसँग सहकारी गरि बीचमा माओवादी प्रवेश हुँदै पुनः एमालेमा फर्किएर अहिले वामपन्थी नेताका रुपमा मात्र रहेका राधाकृष्ण मैनाली पनि ओली–प्रचण्ड मिलन र विछोडको कुनै ठेगान नभएको बताउँछन् ।
पटक पटक दोहोरी पर्ने ओली र प्रचण्डको गाली र तारिफको श्रृंलखा विगतदेखिकै श्रृंखला हो । हिन्द महासागरमा गएर कोशी र सेतीको पानी छुट्याउन नसकिने भन्दै एमाले र माओवादी एकतामात्रै होइन, अन्तरघुलित नै भएको दाबी ओलीले २०७५ मा पार्टी एकता हुँदा नै हौसिएर भनेका थिए । नेकपा एमाले अध्यक्ष ओली र माओवादीका सुप्रिमो प्रचण्डको सम्बन्धलाई नियाल्दा–स्वार्थ मिल्दा चाटाचाट, नमिल्दा काटाकाटको स्थिति छ ।
यसरी हेर्दा यो ओली र प्रचण्डको सम्बन्ध व्यक्तिगत टकराव, सिंहदरबारको यात्रा र वर्चस्वको भिडन्तमात्र जस्तो लाग्छ । ओली र प्रचण्डबीचको प्रतिस्पर्धामा सत्ताको राजनीति त छँदैछ, त्यसका साथै देशमा कम्युनिष्ट राजनीतिका दुईधार माओवादी र एमालेमा को ठूलो कम्युनिष्ट नेता र पार्टी भन्ने प्रतिस्पर्धा र प्रतिष्ठाको लडाइँ पनि चलिरहेको छ ।
प्रकाशित समय : १०:०० बजे


















