पर्यटकलाई आकर्षित गर्दै हात्तीदह सिमसारु
वि.सं.२०८१ कात्तिक ३ शनिवार ०५:४०
shares

सिरहा । लहान नगरपालिका–१५ स्थित चुरेका फेदमा अवस्थित ‘हात्तीदह सिमसार’ क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको लागि प्रसिद्धस्थल हो । चाडपर्वलाई लक्षित गरि नयाँ संरचना निर्माण गरिएपछि अहिले यस क्षेत्र थप आकर्षण बनेको छ ।
झण्डै तीन वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ को विकास गरिएपछि यहाँ पुग्ने कोही पर्यटकको मन लोभ्याउने गरेको छ ।
सिरहा, सप्तरी, धनुषालगायत घनाबस्ती रहेको तराईवासीको लागि शान्त र रमणीयस्थल बनेको छ ‘हात्तीदह सिमसार’ क्षेत्र ।
पछिल्लो समय यस क्षेत्रमा दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्, स्थानीयवासी मुगालाल चौधरीले भने,पर्यटक दिनदिनै बढेपछि यहाँका स्थानीय हर्षित भएका छन्, हामी हर्षित छौँ ।
पूर्वाधारको विकास गर्दै यसको प्रचारप्रसारलाई व्यवस्थित गरी पर्यटक आगमनमा अझ वृद्धि गर्नुपर्नेमा उनले जोड दिए । असार र भदौ महिनामा पर्यटकको उपस्थिति न्यून हुने भए तापनि चाडपर्व सुरु भएसँगै अहिले पर्यटक सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र संरक्षण तथा सञ्चालक समितिका अध्यक्ष रुद्रनारायण चौधरीले बताए ।
उनले भने, अरु समयमा भन्दा चाडपर्वमा बढीनै पर्यटक आउँने गर्दछन् । त्यसैले यस वर्षको दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि थप विभिन्न संरचना बनाएका थियौँ । सोहीअनुरुप दसैँमा उल्लेख्य मात्रामा पर्यटकको आगमन भयो । जसले गर्दा हामी अझै उत्साहित भएका छौँ । अघिल्लो वर्षमात्र एक लाख २१ हजार आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।
लहान नगरपालिका, राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रम डिभिजन वन कार्यालय लहान, संसदीय विकास कोष, वृहत् जलाधार व्यवस्थापन कार्यालय उदयपुर लगायतको सहयोगमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रमा रुपान्तरण गरिएको हो ।
चुरे पर्वतको फेदमा हरियाली वनजङ्गल, बीचमा ‘बोटिङ’ सहितको स्वच्छ र सफा पोखरी, प्राणी उद्यान केन्द्र सञ्चालन, चिसो हावापानी र शान्त वातावरण यहाँको आकर्षण हुन् । त्यसैगरी ‘चिल्ड्रेन पार्क’ तथा सेल्फी खिच्नका लागि विभिन्न आकर्षक डिजाइनले पर्यटकलाई लोभ्याउने गर्दछ ।
आगामी दिनमा पर्यटकलाई थप आकर्षित गर्नको लागि साहसिक पर्यापर्यटन, सामुदायिक होमस्टे प्रवद्र्धन, घोडा सवारी, पोखरीमाथि ‘सेल्फी पुल’ निर्माण तथा सूचना केन्द्र स्थापना गर्ने जस्ता योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिए । उनले यस पर्यटकीय क्षेत्रको आन्तरिक आम्दानीबाट स्थानीयको रोजगारीमासमेत सहयोग मिलेको बताए ।

























