गृहपृष्ठ विष्णु माझीको गुमनाम हुने रहर कि परिबन्ध ?
विष्णु माझीको गुमनाम हुने रहर कि परिबन्ध ?
नेपाली कला क्षेत्रमै पहिलोपटक निकै रहस्य र गुपचुपको जिन्दगी बाँचिरहेकी सर्वाधिक चासोको पात्र हुन्, विष्णु माझी । उनका गीत आएपछिमात्रै तीज आउँछ, तर उनी आउँदिनन् । यस्तो रहस्यमय, बेखबर र गुमनामको जिन्दगी विष्णु माझीलाई रहरले बाँच्नु परेको होला कि परिबन्धले ? कि उनी कसैको हस्तक्षेप र मुठ्ठीभित्रको कब्जामा छिन् ? यी प्रश्न बर्षाैदेखि जवाफ खोजिरहेका सवाल हुन् ।
नेपाली समाज र कलाकारिता यस्तो बन्दैछ । जहाँ अनुहार खोल्नेदेखि लुगा खोलेर रातारात भाइरल हुनेहरुको मुठ्ठीमा पुग्दैछ । जो चलेका छन्, अधिकांश यसैगरि चलेका छन् । जसले विस्तारले पोल्नेदेखि विहेअघि दिन्न बरिलैसम्मको भाव बोल्छन् । तर एउटा छिन्, विष्णु माझी । जो बर्षाैदेखि कालो सलको घुम्टोभित्र अनुहार छोपेर गाउँछिन् । तीजको असली मर्म बोकेर आउँछिन् । तर अनुहार कहिल्यै देखिएको छैन । न उनी देश विदेशका सांगितिक कार्यक्रममा पुग्छिन् । न उनी कुनै भिडियोमा देखिन्छन् । उनलाई सार्वजनिक मञ्चमा उतार्नका लागि मान्छेहरु लाखौं तिर्न तयार छन् । तर काठमाडौंमै भएपनि कसैलाई थाहा छैन, उनी कहाँ बस्छिन्, कस्तो अवस्थामा बस्छिन् । लोक सांगितिक क्षेत्रका विषयमा उनको विचार के छ ? कसैलाई थाहा छैन ।
बितेको दुई दशकदेखि अविच्छिन्न लोक गायनको अग्रस्थानमा छिन् । पाँच हजार बढी गीतमा आवाज दिएकी छिन् । करोड क्लबमा पुग्ने अधिकांश उनकै गीत छन् । तर विष्णु माझीको गुमनाम जीवनबारे उनका श्रीमान सुन्दरमणि अधिकारीमाथि प्रश्न उठ्दै आएको छ । अहिले संसदमै उनीको अवस्थाबारे प्रश्न उठेको छ ।
000
अवस्था यस्तो बन्दैछ, विष्णु माझीले गाएका गीत आएपछिमात्रै असली तीज आउँछ ।
यसपाली पनि गीतमा श्रीमानले पीडा दिएको र सौता हालेको भाव आयो । धेरै कुरा आमालाई भन्न चाहेको तर कसरी भनौं भन्दै उनी यसरी लयमा बगिन्, जुन रातारात चर्चामा पुगेर अहिले झण्डै एक करोड ४१ लाख बढीले हेरेका छन् ।
प्रत्येक बर्षको तीजमा उनका गीत आउँछन् । गीतमा बर्षौसम्म माइतीसँग टाढिएकी छोरीको बेदना र परिबन्धमा परेको खबर आउँछ । तर गीत आएपनि विष्णु माझी कहिल्यै बाहिर आउँदिन्नन् । अर्थात् सधैं चर्चा र चासोमा रहेकी विष्णु माझी एक रहस्य र गुमनाम छिन् ।
विष्णु माझीको जीवन यसअघि यस्तो थिएन । २०४३ सालमा स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटमा जन्मिएकी विष्णु १३ बर्षकै उमेरदेखि लोकगीत प्रतियोगिताहरुबाट गाउन थालेकी हुन् । जतिबेला उनी सार्वजनिक मञ्चमै देखिएर गाउँथिन् ।
तर विष्णुको जीवन त्यतिबेला बद्लियो । जतिबेला उनी सुन्दरमणि अधिकारीको सम्पर्कमा पुगिन् । विष्णुलाई गायनको क्षेत्रमा ल्याउने व्यक्ति हुन् गायक नारायण लेकाली । उनका अनुसार विष्णु र सुन्दरमणिको भेट २०६१ सालमा पाल्पामा भएको थियो । विष्णुको गायिकीबाट सुन्दुरमणि पहिलोभेटमै प्रभावित भएका थिए । विष्णु काठमाडौं आएपछि भने सुन्दरमणिले आफैसँग राखे । सँगै बसेको आठसम्म पनि उनीहरुको बिहे भएको थिएन । जतिबेला विष्णु चर्चाको शिखरमा थिइन् । कुन गीत गाउने, कसरी गाउने, कसलाई भेट्ने वा नभेट्ने सबै निर्णय सुन्दरमणिकै हस्तक्षेपमा थियो । तर आठबर्षपछि उनीहरुले गुपचुप रुपमै पोखराको एक मन्दिरमा पुगेर विवाह गरे । त्यसपछि झन अवस्था यस्तो आयो, जब उनी गीत गाउन स्टुडियो छिर्छिन्, तब पर्दा लाग्छ । उनी निस्किएपछिमात्रै खोलिन्छ । जुन अहिलेसम्म चलिरहेको छ ।
‘मैले त उहाँलाई लोकदोहोरीकै क्षेत्रमा जन्माएको गुरु भएको नाम नाताले सधैं सम्मान र शुभकामना दिन्छु ।’, केही समयअघि दिएको एक अन्तवार्तामा कलाकार नारायण लेकालीले भनेका छन्, ‘०६० मा सालमा सुन्दरमणिजीलाई जिम्मा दिएको आज १८/२० बर्ष बढी भइसक्यो । सुन्दरमणिजीको अधिकार होला । तर विष्णु माझीलाई हेर्ने ३ करोड नेपालीको पनि अधिकार हो । किनकि उनी राष्ट्रको सम्पत्ति हुन् ।’ उनले भने ।
विवाह भएपछि पनि विष्णु माझी माइतीको सम्पर्कमा थिइनन् । ११ बर्षपछिमात्रै उनका बाबु ताराबहादुर माझीले छोरीलाई भेट्न पाएका थिए । त्यसपछि विष्णुलाई श्रीमानले बन्धक बनाएको हुनसक्छन् भन्दै उनको अवस्था सार्वजनिक गर्न आवाज उठ्न थाल्यो । मानव अधिकार आयोगले पत्राचार गरेपछि स्याङजा प्रहरी खोजी गर्दै उनको माइतीघरमा पुग्यो । तर त्यहाँ कोही भेटिएनन् । प्रहरीले उनका श्रीमान सुन्दरमणिलाई फोन गरि ‘आफै लिएर आउने कि, हामी आउ’ भनेपछि २०७५ पुस २२ गते विष्णु प्रहरी कार्यालयमा उपस्थिती भएकी थिइन् । यो तस्बीर त्यतिबेलाकै हो ।

तर प्रहरीमा समेत विष्णुलाई श्रीमानले बन्धक बनाएको वा कुनै हिंसा अथवा दबाब दिएर गुपचुप बस्न बाध्य पारेको पुष्टि भएन । त्यतिबेला सुन्दरमणिले अन्तरजातिय विवाह भएका कारण आफुलाई छुटाउन खोजेपछि गुमनाम भएको बयान प्रहरीलाई दिएका थिए । आफ्नो छुट्टै लक्ष्य भएकाले पनि सार्वजनिक हुन नचाहेको बताएका थिए । त्यसपछि फेरि विष्णु माझी उसैगरि गुमनाम भइन् । कतिसम्म भने, केहीबर्ष अघिमात्रै उनकी आमाको एकमहिना अघि र बाबुको एकमहिनापछि निधन भयो । तर आफ्नै आमाबुबाको निधनमा समेत विष्णु नगएको खबर सार्वजनिक भए । अहिले फेरि उनको तीज गीत सार्वजनिक भएपछि उनको अवस्थाबारे सार्वजनिक चासो बढेको छ । संसदमै गुल्मीबाट निर्वाचित नेपाली सांसद चन्द्र भण्डारीले विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने आवाज उठाएका छन् ।
‘उनको यति राम्रो गीत गाउने त्यो स्वर र व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालको हरेक मनले भनेको छ ।’, सांसद भण्डारीले भने, ‘यदि कुनै उपाय छ भने, कुनै धारणा मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस् ।’
उनी बेखबर बन्नुको कारण के होला ? अनि उनका श्रीमानले प्रहरीमा दिएको बयान अनुसार आफ्नो छुट्टै लक्ष्य भएका कारण पनि सार्वजनिक नभएको बताएका थिए । यसले उनी श्रीमतीलाई गुमनाम राखेर स्टारडममार्फत फाइदा उठाउन खोजिरहेका छन् भन्ने प्रश्न पनि कलाकारिता क्षेत्रकै व्यक्तिहरु गर्छन् । उनी अहिलेकी सर्वाधिक महंगी कलाकार हुन् । झण्डै तीन लाख एउटै गीत गाएको लिन्छन् । केहीबर्ष अगाडी विष्णु माझीको जीवन सुन्दरमणिको रिमोट कन्ट्रोलमा रहेको भन्दै केही कलाकारले आलोचना गरेका थिए । कतिले अझै पनि श्रीमानको बन्धक बनेको दाबी गर्छन् । त्यसैले उनीहरु कलाकारहरुको अभिभावक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सार्वजनिक गर्नुपर्ने मागसमेत गरिरहेका छन् । तर विष्णु माझीले गाउने गीतका शब्द सुन्दरमणि आफैले लेख्छन् । पछिल्ला बर्ष सर्वाधिक हिट भएका तीज गीतका शब्द पनि उनैले लेख्ने र लय भरेका हुन् । उनका दुई छोरी पनि छन् । त्यसैले उनी स्वेच्छामा यसरी गुपचुपको जीवन बाँचिरहेको पनि देखिन्छ ।
‘कुनै दुःख दिएर, लुकाएरै राखेर, लाउन खानै नदिएर वा मिडियामा नबोल भनेर राखेको भए त हामी ढोकै फोड्न जान्थ्यौं ।’, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरले भनिन्, ‘स्टुडियोमा जाँदा सुन्दरमणिजी सँगै गएको देख्छौं । मायालु तरिकाले गीत गाउन सिकाइरहेको देख्छौं ।’
हेर्नेकथाले बाहिर ल्याएका प्रकाश ३५ बर्षसम्म आफ्नै देशको एउटा कुनामा हराएका थिए । विष्णु माझी गुमनाम भएको पनि दुईदशक नै हुन थाल्यो । अहिले पनि हरेक नेपालीहरुलाई विष्णु माझीको एकै झल्को देख्न मन छ । उनको आगन टेक्न मन छ ।
अहिलेसम्म विष्णुको खोजीमा जति पनि काम भएका छन्, त्यो मौखिक रुपमा र व्यक्तिगत पहलमा भएको छ, सतही रुपमा । त्योभन्दा माथि उठेर जाने ठाउँ संविधानले पनि दिएको छैन । संविधानले मौलिक अधिकारअन्तर्गत व्यक्तिलाई स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार दिएको छ । गोपनियताको हक पनि छ । उनलाई उनकै हालतमा छोड्देउ, व्यक्तिगत जीवनबारे दख्खल नदेउ भन्ने आवाज पनि आउँछ । तर सर्वाधिक चासो र चर्चामा रहेकी एउटा गायकी आफ्नै इच्छाका कारणले मात्रै गुमनाम भएकी होलिन् त ? के सुन्दरमणिभन्दा अर्काे व्यक्तिसँग विहे गरेको भएपनि उनी यसैगरि गुमनाम हुन्थिन् ?
त्यसैले धेरै वर्षदेखि गायिका विष्णु माझीको गुमनाम जीवनमाथि उठिरहेको प्रश्न हो, उनको भूमिगत जीवन स्वेच्छा हो कि परिबन्ध ? आजसम्म पनि यो प्रश्नको जवाफ अनुत्तरित छ । किनकि जवाफ हामीसँग पनि छैन । उनलाई गित गाउन लगाउनेहरुसँग पनि यसको जवाफ छैन । उनका लागि धेरैले शब्द कोरे । लयबद्ध गरे । उनीसँगै स्वर मिसाएर धेरैले गीत गाए । तर विष्णु माझीको जीवनबारे जति हामी जानकार छौं, तपाईँ जानकार हुनुहुन्छ । उनीहरु पनि त्यति नै जानकार छन् । जब उनी गीत गाउन स्टुडियो छिर्छिन्, तब पर्दा लाग्छ । उनी निस्किएपछिमात्रै खोलिन्छ । त्यसैले जबसम्म उनी सार्वजनिक हुँदिनन्, तबसम्म उनका श्रीमान सुन्दरमणिमाथि प्रश्न उठिरहनेछ ।
प्रकाशित समय : १०:०० बजे



















