global ime bank Long Banner Ad

गृहपृष्ठ देशमा लगानीमैत्री वातावरण बनेपनि ठूला उद्योग खोल्न किन चाहेदैनन् लगानीकर्ता ?

देशमा लगानीमैत्री वातावरण बनेपनि ठूला उद्योग खोल्न किन चाहेदैनन् लगानीकर्ता ?

देशमा लगानीमैत्री वातावरण बनेपनि ठूला उद्योग खोल्न किन चाहेदैनन् लगानीकर्ता ?

देशमा लगानीको वातावरण सुध्रँदै गरेको दाबी गरिए पनि पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा ठूला र मझौला उद्योगमा लगानी घट्दो क्रममा छ ।

उद्योग विभागका अनुसार साना उद्योग दर्ताका निम्ति घटाइएको थ्रेसहोल्ड अर्थात् न्यूनतम सीमाका कारण लगानी बढेका कारण समग्र उद्योगमा लगानी बढेको देखिन्छ । तर, यही अवधिमा ठूला र मझौला उद्योग दर्ताको अवस्था भने निराशाजनक छ ।

गत आर्थिक वर्ष २०८०–८१ मा कुल ४ सय ३४ उद्योग दर्ता हुँदा ठूला उद्योगको संख्या ४९ मा सीमित छ भने मझौला उद्योग पनि ५२ वटामात्र दर्ता भए । जबकि साना उद्योग दर्ता संख्या भने ३ सय ३३ रहेको छ । अघिल्लो आव २०७९–८० मा ६६ वटा ठूला उद्योग दर्ता भएका थिए भने ७० वटा मझौला उद्योग दर्ता भएको विभागको तथ्यांक छ । सो आवमा साना उद्योग भने १ सय ८६ को संख्यामा दर्ता भएका थिए ।

आव २०७८–७९ को तथ्यांकमा भने ठूला उद्योग दर्ता संख्या ९१ रहेको छ भने मझौला उद्योग सो आवमा १ सय ८ वटा दर्ता भएका थिए । तर, वैदेशिक लगानीमा ५ करोडको न्यूनतम थ्रेसहोल्ड कायम रहेको सो आवमा ९३ वटामात्र साना उद्योग दर्ता भएका थिए । उद्योग दर्ता बढी भए पनि सो आवमा कुल उद्योगबाट १६ हजार एक सय रोजगारी सिर्जना हुने अपेक्षा गरिएको थियो । २०७९–८० को उद्योग दर्ताबाट २३ हजार र गत आवको दर्ताबाट २५ हजार ५ सय ५१ रोजगारी सिर्जनाको लक्ष्य राखिएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा पर्याप्त तरलता रहे पनि मुलुकमा आर्थिक गतिविधि बढ्न नसक्दा ठूला र मझौला उद्योग खुल्न नसकेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल बताउँछन् । कोभिड महामारीपछि लामो समयसम्म चलेको रुस र युक्रेनको युद्धका कारण संसारभर अनिश्चयको वातावरण देखा परेको र त्यसले नेपालमा पनि असर देखिएको उनको भनाइ छ ।

नेपालमा भने युवा पलायनको भयावह समस्या देखिँदा लगानीकर्ताहरु अझै पनि ‘पर्ख र हेर’को अवस्थामा रहेको नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा बताउँछिन् । उनका अनुसार युवा जनशक्ति पलायनले ‘नेपालमा भविष्य छैन’ भन्ने डरलाग्दो भाष्य निर्माण गरिरहेका कारण नयाँ लगानीकर्ता पनि डराइरहेको अवस्था छ । ‘हामीले यो भाष्य चिर्न सकेनौं र युवालाई रोक्न सकेनौं भने थप क्षति ब्यहोर्नुपर्ने हुन सक्छ,’ राणा भन्छिन्, ‘लगानीकर्ताले भविष्य हेरेर लगानी गर्ने हो तर यहाँ भविष्य नै अनिश्चयपूर्ण देखियो ।’

सानो लगानीमै खोल्न सकिने उद्योगमा तुलनात्मक रुपमा कम जोखिम हुन्छ र लगानी जुटाउन पनि सहज हुन्छ । ठूलो लगानीमा जोखिम बढी हुनाले लगानीकर्ताले वातावरण नबुझी लगानी नगर्ने चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् । उनका अनुसार सरकारले लगानीमैत्री वातावरण बनाउन नसक्दा ठूला लगानीका उद्योग स्थापना हुन सकेको छैन । नौ महिनामै लक्ष्यभन्दा बढी साना उद्योग दर्ता भइसके पनि मध्यमस्तरीय र ठूला उद्योग दर्ताको अवस्था भने नाजुक रहेको विभागको तथ्यांक छ ।

औद्योगिक व्यवसाय ऐन २०७६ को परिभाषाअनुसार ५० करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको उद्योगलाई ठूलो उद्योगको सूचीमा राखिएको छ । यस्तै, १५ करोड रुपैयाँभन्दा बढी तथा ५० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको उद्योगलाई मझौला उद्योगका रुपमा ऐनले वर्गीकरण गरेको छ । लघु उद्यम र घरेलु उद्योगलाई भने साना उद्योगको सूचीमा समावेश गरिएको छ । जसमा घरजग्गा बाहेक बढीमा २० लाख रुपैयाँसम्मको स्थिर पुँजी रहेको, उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको तथा उद्यमीसहित बढीमा नौ जनासम्म कामदार रहेको हुनुपर्ने शर्त तोकिएको छ । यस्ता उद्योगको वार्षिक कारोबार एक करोड रुपैयाँभन्दा कम रहेको, इञ्जिन, उपकरण वा मेसिनको प्रयोग गरेको भएमा त्यसमा खपत हुने विद्युतीय ऊर्जा, इन्धन वा अन्य तेल इञ्जिनको क्षमता २० किलोवाट वा सोभन्दा कम रहेको हुनुपर्ने उल्लेख छ ।

 

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु