गृहपृष्ठ सहायक प्रविधि समावेशीता र सहभागिता बढाउने महत्वपूर्ण माध्यम : चुडामणि ढुंगाना
सहायक प्रविधि समावेशीता र सहभागिता बढाउने महत्वपूर्ण माध्यम : चुडामणि ढुंगाना
काठमाडौं । सूचना प्रविधि विभागका निर्देशक चुडामणि ढुंगाना ले सहायक प्रविधि समावेशीता, सहभागिता र स्वतन्त्र जीवनयापनका लागि महत्वपूर्ण माध्यम भएको बताएका छन्।
तेस्रो विश्व सहायक प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सहायक प्रविधि अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि मात्र नभई सबैका लागि उपयोगी रहेको बताए।
उनले भने, ‘मैले देखेको सहायक प्रविधि सबैका लागि आवश्यक छ। हामीसँग उपलब्ध प्रविधिहरूको अधिकतम उपयोग गर्दै अगाडि बढ्नुपर्छ। सहायक प्रविधि समावेशीता र सहभागिता बढाउने माध्यम हो, जसले विशेषगरी अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सहयोग पु¥याउँछ।’
ढुंगानाले सहायक प्रविधिको मुख्य उद्देश्य व्यक्तिको क्रियाशीलता र स्वतन्त्रता कायम राख्नु रहेको उल्लेख गरे।
‘हरेक व्यक्तिमा क्षमता हुन्छ र त्यो क्षमता प्रयोग गर्दै क्रियाशील रहन आवश्यक छ। स्वस्थ, उत्पादनशील, स्वावलम्बी र सम्मानित जीवनका लागि विभिन्न प्रकारका सहायक प्रविधिहरू आवश्यक पर्छन्,’ उनले भने।
उनले दिगो विकासका लक्ष्य हासिल गर्न तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनका लागि पनि सहायक प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए।
नेपालको कानुनी व्यवस्थाबारे चर्चा गर्दै उनले संविधानले सबै नागरिकलाई समान अवसर र मौलिक हकको सुनिश्चितता गरेको उल्लेख गरे।
‘संविधानमा मौलिक हकको व्यवस्था छ, जसले सबै नागरिकलाई समान रूपमा अवसरमा पहुँच र अधिकारको उपभोग सुनिश्चित गरेको छ। साथै, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले पनि उनीहरूको अधिकारलाई कानुनी रूपमा सुनिश्चित गरेको छ,’ उनले बताए।
प्रकाशित समय : २१:१३ बजे



















