global ime bank Long Banner Ad

गृहपृष्ठ इरान–अमेरिका युद्धविराम विस्तार

इरान–अमेरिका युद्धविराम विस्तार

इरान–अमेरिका युद्धविराम विस्तार

तीन महिनादेखि जारी युद्धलाई ६० दिनका लागि युद्धविराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ चरणको वार्ता सुरु गर्ने विषयमा अमेरिका र इरानका वार्ताकारहरूबीच अस्थायी सम्झौता भएको छ ।

तर इरानले भने अहिलेसम्म उक्त सम्झौताको औपचारिक पुष्टि गरेको छैन । अमेरिकी पक्षबाट उपराष्ट्रपति जेडी भान्सले सम्झौता भएको जानकारी दिनुभएको छ । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अनुमोदन गर्ने वा नगर्ने विषय अझै स्पष्ट नभएको बताइएको छ । उहाँका अनुसार केही प्राविधिक तथा भाषागत बुँदाहरूमा छलफल जारी छ र अन्तिम सहमति अझै टुङ्गिएको छैन ।

सम्झौतासँगै हर्मुज जलघाँटीसम्बन्धी प्रावधानहरू पनि अगाडि सारिएको जनाइएको छ । प्रस्तावअनुसार इरानले उक्त सामरिक जलमार्गमा टोल लगाउने अधिकार प्रयोग गर्न नपाउने तथा ३० दिनभित्र त्यहाँ राखिएका सबै खानी हटाउनुपर्ने व्यवस्था समेटिएको छ । ती अधिकारीले सार्वजनिक रूपमा बोल्न अधिकार नभएकाले नाम नखुलाउने सर्तमा जानकारी दिएका हुन् । युद्धका क्रममा इरानले यो जलमार्ग प्रभावकारी रूपमा बन्द गरेपछि विश्व व्यापारमा प्रयोग हुने तेल र ग्यासको करिब पाँचौँ भाग प्रभावित भएको बताइएको छ ।

यसैबीच, अमेरिकाले इरानी बन्दरगाहहरूमा गरिएको नौसैनिक दबाब क्रमशः हटाउने र प्रतिबन्धहरू खुकुलो पार्दै इरानलाई थप तेल बिक्री गर्न अनुमति दिने तयारी गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सम्झौता अन्तिम भएपछि तेलको मूल्य छिट्टै घट्न सक्ने अनुमान व्यक्त गरेका छन । यद्यपि, अमेरिकाले इरानी तेल बिक्रीसँग सम्बन्धित थप प्रतिबन्धहरू पनि लगाएको छ, जसले आर्थिक दबाब अभियान अझ विस्तार गरेको देखिएको छ ।

इरानले केही व्यावसायिक जहाजहरूलाई आवतजावत गर्न दिएको दाबी गरे पनि यस महिनामा औसत दैनिक जहाज आवागमन युद्धपूर्वको तुलनामा निकै घटेको छ । यसबीच इस्लामिक गणतन्त्रले केही जहाजबाट टोल पनि असुल गरेको आरोप छ र यसै सन्दर्भमा नयाँ औपचारिक नियन्त्रण निकाय स्थापना गरिएको उल्लेख गरिएको छ ।

सम्झौताको मुख्य संवेदनशील विषय इरानको अत्यधिक संवर्धित युरेनियम भण्डारण रहेको बताइएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानसँग ४४०।९ किलोग्राम युरेनियम छ, जुन ६० प्रतिशतसम्म संवर्धित छ र यो हतियार–स्तर ९० प्रतिशतभन्दा केही तल मात्र रहेको प्राविधिक सीमा हो । वार्ताकारहरूले उक्त भण्डारणको भविष्यबारे प्रारम्भिक सहमति खोज्ने प्रयास गरिरहेको जनाइएको छ, जसको विस्तृत रूप आगामी वार्तामा तय हुने अपेक्षा गरिएको छ ।

उपराष्ट्रपति भान्सले आणविक सामग्री, संवर्धित भण्डार र संवर्धन प्रक्रियासम्बन्धी विषय अझै छलफलमै रहेको बताउँदै लामो समयसम्म असर पार्ने किसिमको समाधान खोज्ने प्रयास भइरहेको उल्लेख गरे । तर इरानले भने आफ्ना युरेनियम भण्डार पूर्ण रूपमा त्याग्ने प्रतिबद्धता अझै सार्वजनिक रूपमा जनाएको छैन । केही विश्लेषकहरूले उक्त भण्डारलाई चीन वा रूसजस्ता तेस्रो पक्षलाई जिम्मा दिने विकल्पबारे छलफल हुन सक्ने सङ्केत गरेका छन् । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो योजनामा सहज नहुने स्पष्ट पारेका छ न।

यता इरानले वार्तामा लेबनानमा इजरायली सैन्य कारबाही रोक्ने विषय पनि समावेश हुनुपर्ने अडान दोहोर्‍याएको छ । यसैबीच लेबनानको राजधानी बेरुत आसपास र दक्षिणी क्षेत्रमा भएको आक्रमणपछि तनाव अझ बढेको छ, जसमा कम्तीमा १४ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

क्षेत्रीय सुरक्षाको अवस्था थप जटिल बन्दै जाँदा कुवेतले आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत इरानबाट प्रक्षेपित मिसाइल र ड्रोनहरू रोकिएको जनाएको छ । कुवेतको विदेश मन्त्रालयले यसलाई स्पष्ट आक्रमण भन्दै निन्दा गरेको छ भने अमेरिकी सेन्ट्रल कमान्डले यसलाई गम्भीर युद्धविराम उल्लङ्घनको रूपमा व्याख्या गरेको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार हालैका दिनहरूमा इरानमाथि थप कारबाही गरिएको छ । यसमा ड्रोनहरू खसाल्ने र केही सैन्य संरचनामा आक्रमण गर्ने कार्य पनि समावेश छ । इरानले भने आफ्ना रिभोलुसनरी गार्डमार्फत प्रतिकारात्मक आक्रमण गरेको जनाएको छ । यद्यपि त्यसको विस्तृत लक्ष्यबारे स्पष्ट जानकारी दिएको छैन ।

अस्थायी सम्झौताको विवरण पहिले समाचार संस्था एक्सियोसले सार्वजनिक गरेको थियो । यद्यपि दुवै पक्षले आंशिक सहमति र आंशिक असहमतिको अवस्थामा वार्ता जारी राखिरहेका छन् । अमेरिकी उपराष्ट्रपति भान्सका अनुसार युद्धविराम पूर्ण रूपमा स्थिर नभए पनि हालसम्म ‘धेरै हदसम्म टिकिरहेको’ छ र वार्ता निरन्तर अगाडि बढिरहेको छ ।

पछि बिहीबार इरानको प्रतिरक्षा प्रणालीले दक्षिणी सहर जाम नजिकै एक ‘शत्रुतापूर्ण विमान’ नष्ट गरेको दाबी गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार घटनाबारे थप विवरण तत्काल उपलब्ध नभए पनि क्षेत्रीय तनाव अझै उच्च अवस्थामा रहेको छ ।
रासस

प्रकाशित समय : १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु