nmb bank

गृहपृष्ठ सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय पहल

सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय पहल

सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय पहल

बाँकेको राप्ती नदीस्थित सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय भेलामार्फत पहल थालिएको छ । हिन्दु धर्मावलम्बीले मानिसको मृत्युपश्चात् अन्तिम दाहसंस्कार गर्दै आएको डुडुवा गाउँपालिका–४ राप्ती नदीस्थित सिधनियाघाटलाई व्यवस्थित रुपले निर्माण गर्नका लागि सरोकारवाले बृहत् छलफल गरेका हुन् ।

मलमपट्टी मर्निङ वाक ग्रुप नेपालगञ्जको समन्वयमा शुक्रबार भएको छलफलमा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणाले घाटलाई व्यवस्थित रुपले निर्माण गर्नका लागि आफूले संसदीय विकास कोषबाट आगामी आर्थिक वर्षमा एक करोड ५० लाख विनियोजन गर्ने र एक महिनाको पारिश्रमिक प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

घाट निर्माणका लागि पहिलो काम जग्गा प्राप्ति गर्नुपर्ने भन्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले सर्वप्रथम कानुनी रुपले एउटा समिति गठन गर्नुपर्ने सुझाव दिए । उक्त स्थानमा सार्वजनिक जग्गा भएमा समितिले प्रस्ताव बनाएर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिमा पेस गर्न र उक्त प्रस्तावलाई सिफारिस गरी संसद्मा पठाउने तथा मन्त्रिपरिषद्ले पास गरेमा जग्गासमेत प्राप्ति हुन सक्ने उल्लेख गरे ।

मलमपट्टी मर्निङ वाक ग्रुपका संरक्षक डा .सुरेशकुमार कनोडियाले आगामी एक वर्षभित्रमा तत्कालका लागि आवश्यक भौतिक संरचना दाहसंस्कार गृह, मलामी बस्नका लागि टहरालगायत कार्य गर्नका लागि प्रयास गरिने बताए।

सहभागीले राप्ती नदीस्थित उक्त घाटमा नदीको कटानका कारण स्थायी रुपले दाहसंस्कार गर्ने स्थल बनाउन समस्या रहेको, कहिले पूर्व कहिले पश्चिमतिर दाहसंस्कार गर्नुपर्ने बाध्यता रहेको, मलामी बस्ने ठाउँ नहुँदा गर्मी महिना र वर्षाको महिनामा अत्यन्तै समस्या रहेको लगायतका विषयमा छलफल भएको ग्रुपका सदस्य एवं अधिकारकर्मी भोला महतले बताए।

भेलाले संरक्षक डा. कनोडियाको संयोजकत्वमा मूल समिति गठन गरेको छ । कार्यक्रममा ग्रुपका सदस्य डा. बद्री चापागाईंले व्यवस्थित घाट निर्माणका लागि आवश्यक योजनाका बारेमा प्रस्तुतीकरण गरे ।

त्यस अवसरमा समाजसेवी अशोककुमार श्रेष्ठले घाट निर्माणका लागि आफूले पाँच लाख एक हजार एक सय ११ आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरे ।  छलफल कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यद्वय बादशाह कुर्मी र आदेश अग्रवाल, जिल्लास्थित सबै राजनीतिक दलका नेता, बुद्धिजीवी, व्यवसायी, उद्योगी, जनप्रतिनिधि, समाजसेवी, कानुन व्यवसायी, नागरिक समाजका अगुवा, साहित्यकारलगायतको सहभागिता थियो ।

प्रकाशित समय : १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु