काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णालीमा ‘परागसेचक रणनीति’ निर्माण

3.97K
shares

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘परागसेचक रणनीति’ निर्माण गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र लि–बर्डद्वारा वीरेन्द्रनगर सुर्खेतमा संयुक्तरूपमा आयोजित दुईदिने कार्यशालामार्फत ‘परागसेचक रणनीति’ निर्माण गरिएको हो । आज सम्पन्न कार्यशालामा कृषिमन्त्री भीमप्रकाश शर्माले रणनीति निर्माणले कर्णाली प्रदेश सरकारको प्राङ्गारिक प्रदेश बनाउने अभियानमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले भने “लि–बर्डसहित साझेदार निकाय, प्राध्यापक, विषय विज्ञ, कर्मचारीसहित सम्बन्धित सरोकारवालाहरूको सक्रिय सहभागितामा परागसेचक रणनीति बनेको छ । यसको कार्यान्वयनका लागि ठोस कार्यक्रम सरकारले बनाएर अगाडि बढ्छ ।” मानव जीवनका लागि कृषि अनिवार्य भएको जनाउँदै कृषिमन्त्री शर्माले रणनीतिले मौरीलगायत परागसेचकको संरक्षण र उत्पादनमा वृद्धि हुने बताए।

मन्त्रालयका सचिव डा नरहरिप्रसाद घिमिरेले रणनीतिले परागसेचक क्षेत्र, यसले विभिन्न बालीमा पुर्याएको योगदान, संरक्षण, प्रवर्द्धन र उपयोगमा समेत सहयोग पुग्ने बताए । “रणनीतिले अत्यधिक महत्व बोकेको छ”, उनले भने, “यसले यहाँको पारिस्थितिकीय प्रणाली तथा जैविक विविधता र बाली विविधिकरण गर्न तथा कीराजन्य परागसेचकको पालन तथा संरक्षणमा सहयोग पुग्ने सचिव घिमिरेले बताए।

‘परागसेचक रणनीति’ निर्माणसँगै कर्णालीमा मौरी विकास कार्यालय स्थापनाका लागि आजै चार पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेत, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर, मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र कृषि तथा वन विश्वविद्यालय रामपुरबीच कार्यालय स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीपत्रमा मन्त्रालयका तर्फबाट सचिव डा नरहरिप्रसाद घिमिरे, व्यावसायिक कीट विकास केन्द्रको तर्फबाट केन्द्र प्रमुख भोजराज सापकोटा, मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा डा केशरसिंह राना, र कृषि तथा वन विश्वविद्यालयको तर्फबाट प्रा डा पुण्यप्रसाद रेग्मीले हस्ताक्षर गरेको छ । समझदारीअनुसार मन्त्रालयले कर्णाली प्रदेशमा मौरी विकास कार्यालय स्थापनाका लागि उपयुक्त स्थानाको छनोट तथा जग्गा प्राप्तिलगायतका कार्यहरूमा पहल गर्नेछ ।

व्यावसायिक कीट विकास केन्द्रले कार्यालय स्थापनाका लागि पूर्वाधार निर्माणलगायतका कार्यहरू गर्न र सङ्घीय सशर्त अनुदान उपलब्ध गराउन आवश्यक पहल गर्नुपर्नेछ । त्यस्तै मध्यपश्चिम विश्वविद्यालयले कार्यालयको जग्गा प्राप्तिका कार्यमा मन्त्रालयसँग आवश्यक सहकार्य गर्ने र कृषि तथा वन विश्वविद्यालयले विषयविज्ञ प्राध्यापकमार्फत भएका स्थानीय प्रजातिका मौरीसम्बन्धी अध्ययन अनुसन्धानका कार्यमा मन्त्रालयसँग सहकार्य गर्नुका साथै विश्वविद्यालयमा परागसेचक ज्ञान डबली सञ्चालन गर्ने समझदारी भएको छ ।

नेपालको कृषि प्रणालीमा दिगो परागसेचन व्यवस्थापन परियोजनाअन्तर्गत ‘परागसेचक रणनीति’ निर्माण कार्यशालामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय जीव विज्ञान विभाग काठमाडौँ, कृषि तथा वन विश्वविद्यालय भरतपुर, ब्रिस्टोल विश्वविद्यालय, हर्ड इन्टरनेशनल र डार्विन इनिसियटिभ लगायतका संस्था तथा मौरीपालक किसान, पर्यावरण तथा प्राणी विज्ञसहितका सरोकारवालाको सहभागिता थियो ।