गृहपृष्ठ नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : ६५ प्रतिशत काम सम्पन्न, निर्माणमा ढिलासुस्ती
नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : ६५ प्रतिशत काम सम्पन्न, निर्माणमा ढिलासुस्ती
बहुप्रतीक्षित नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन निर्माणको ६५ प्रतिशत काम सम्पन्न भएको छ । ०७६ भदौ २४ मा औपचारिक उद्घाटन गरिएको परियोजनाको हालसम्म ६५ प्रतिशत काम सम्पन्न भएको हो ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले भने ६ महिनाभित्र पाइपलाइनबाट पेट्रोल आयात गरिने दाबी गरे । ‘फिल्ड हेर्दा करिब ६५ प्रतिशत काम सकिएको छ । आउँदो मेमा सकेर जुनको अन्तिमसम्म अटोमेसनमा जान सकिन्छ,’ उनले भने, ‘काम तीव्र गतिमा गर्न भनेका छौं, ६ महिनामा पाइपलाइनबाट पेट्रोल आयात गर्न पक्कै सकिन्छ ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइन उद्घाटन गरेपछि प्रतिघण्टा २ सय ५० किलोलिटर डिजेल आयात भइराखेको छ । पहिलो चरणको कार्ययोजनाअनुसार डिजेल आयात भए पनि दोस्रो चरणको काममा भने ढिलाइ भएको छ । नेपाल आयल निगमले दोस्रो चरणअन्तर्गत पाइलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्ने लक्ष्य राखेको छ । त्यसका लागि चाहिने ट्यांकी, रिफिलर, अत्याधुनिक प्रयोगशाला, फायरफाइटिङ सिस्टमलगायत निर्माणको काम भारतीय आयल कर्पोरेसन (आईओसी) ले जिम्मा लिएको छ । परियोजनाको पूर्वाधार निर्माण गर्न आईओसीले भारतीय कम्पनी लिखिता इन्टरनेसनललाई जिम्मा दिएको छ ।
लिखिताले पूर्वाधार निर्माणमा ढिलाइ गरिदिँदा निर्धारित समयमै काम सकिनेमा शंका उब्जिएको छ । परियोजना निर्माणका लागि सन् २०२४ मार्चसम्मको सम्झौता रहेको निगमको अमलेखगन्ज डिपो प्रमुख विनीतमणि उपाध्यायले जनाए । तर मार्चभित्रै काम सकिनेमा आशंका रहेको उनको भनाइ छ ।
दोस्रो चरणको परियोजनाका लागि आईओसी र निगमले संयुक्त लगानी गर्ने गरी सम्झौता भएको छ । यसअनुसार निगमले १ अर्ब ५४ करोड र आईओसीले ७५ करोड भारु लगानी गर्नेछ । उक्त बजेटमा २ वटा पेट्रोल ट्यांकी, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, मिश्रित इन्धन राख्न २ वटा ट्रान्समिक्स ट्यांकी, डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्यांकीलगायत पूर्वाधार निर्माण हुनेछन् । पाइपलाइनको दोस्रो चरणअन्तर्गत भण्डारण, सिभिल संरचना, टीएलएफ सेटसहितको निर्माणको काम भइराखेको छ । त्यसमध्ये पानी भण्डारण गर्ने ट्यांकीको काम भने सकिएको प्राधिकरणले जनाएको छ ।
‘१६ सय किलोलिटरका दुई वटा ट्यांकीको काम सकिएको छ । ४१ सय किलोलिटरका दुई वटा पेट्रोल ट्यांकी निर्माणका क्रममा छन्,’ डिपो प्रमुख उपाध्यायले भने, ‘२५० किलोलिटरका दुई वटा ट्रान्समिक्स ट्यांकीको काम अगाडि बढिसकेको छ । पाइपलाइनलाई सपोर्ट गर्ने सिभिलको काम पनि सकिएको छ ।’ प्रोजेक्टअनुसार बटम र टप लोडिङको व्यवस्था पनि निर्माण गरिनेछ । ‘बटम लोडिङ बे’ को पहिलो सुरुवात हो । अमलेखगन्जमा अहिले ३ हजार किलोलिटरको पेट्रोल भण्डारण क्षमता छ । १९ हजार किलोलिटर डिजेल क्षमताको भण्डारण छ । डिजेलपछि पेट्रोल आयात गर्नुपरे त्यसअघि मट्टीतेल प्रयोग गर्नुपर्छ । पेट्रोलपछि फेरि डिजेल ल्याउनुपरे बीचमा मट्टीतेल ल्याउनुपर्छ । उक्त मट्टीतेल प्रयोग गर्न मिल्ने हुन्छ । यी सबै प्रक्रिया पूरा गर्न थप पेट्रोल र मट्टीतेलको ट्यांकी बनाउनुपरेको हो ।
अब अमलेखगन्जमा ८ हजार २ सय किलोलिटर पेट्रोल भण्डारण क्षमता हुनेछ । २४ हजार किलोलिटरको डिजेल भण्डारण क्षमता हुनेछ । ‘आईओसी र निगम स्वयंले निर्माण गरिरहेको ट्यांकीसहित जोड्दा अमलेखगन्ज मुलुककै सबैभन्दा ठूलो भण्डारण क्षमता भएको डिपो हुनेछ,’ उपाध्यायले भने ।
आईओसीसँगै नेपालका तर्फबाट बनिरहेको प्रोजेक्टको काम करिब ८५ प्रतिशत सकिएको छ । एक महिनामा सबै काम सकिने नेपाल र भारतले बनाइरहेको परियोजनाको नेपालतर्फका प्रमुख प्रदीप यादवले जनाए । ‘२०२२ नोभेम्बरमा सुरु भएको प्रोजेक्टको काम ८५ प्रतिशत सकिएर परीक्षणको काम भइराखेको छ, एक महिनामा सबै काम सकिन्छ,’ उनले भने । यादवको नेतृत्वमा नेपालले बनाउने परियोजनाअर्न्तगत अमलेखगन्जमा ५ हजार किलोलिटरको एउटा पेट्रोल र ५ हजार किलोलिटरको अर्को डिजेलको भण्डारण गृह बनाइरहेको छ । यी सबै निर्माण सकिएपछि पाइपलाइनबाट पेट्रोल आयात गरिने जनाइएको छ । पाइपलाइन नहुँदा डिजेल लिन भारतको बरौनीसम्म ट्यांकर पठाउनुपर्थ्यो ।
ट्यांकरबाट ढुवानी गर्दा सीमा क्षेत्रमा हुने अवरोध, सडक जाम, बन्द, हडताललगायतले समस्या पार्दै आएको थियो । । पाइपलाइनबाट आयात भएको डिजेल विराटनगर, जनकपुर, काठमाडौं, पोखरा र भैरहवामा स्टक ट्रान्सफर गरिन्छ, स्थानीय बजारमा पनि बिक्री हुन्छ । अहिले डिजेल मात्रै आए पनि दोस्रो चरणको आयोजना निर्माण सकिएपछि पेट्रोल, डिजल र मट्टीतेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुनेछ ।
प्रकाशित समय : १४:२१ बजे



















