गृहपृष्ठ लिपिङ खोलाको ८२ प्रतिशत निर्माण पूरा, जेठभित्र उत्पादन थाल्ने लक्ष्य

लिपिङ खोलाको ८२ प्रतिशत निर्माण पूरा, जेठभित्र उत्पादन थाल्ने लक्ष्य

लिपिङ खोलाको ८२ प्रतिशत निर्माण पूरा, जेठभित्र उत्पादन थाल्ने लक्ष्य

सिन्धुपाल्चोकको तातोपानीस्थित लिपिङ खोलामा निर्माणाधीन १६.२६ मेगावाटको लिपिङ खोला जलविद्युत् आयोजनाको काम ८२ प्रतिशत पूरा भएको छ । हिम रिभर पावर लिमिटेडले आयोजनाको निर्माण साढे ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।

निर्माण सुरु भएको २२ महिना मै काम अन्तिम चरणमा पुर्‍याएको कम्पनीका कार्यकारी अध्यक्ष सुदीपकुमार चौधरीले बताए । उनका अनुसार यही गतिमा आयोजनाको निर्माण भइरहेमा आगामी २०८१ जेठभित्र उत्पादन सुरु हुनेछ ।

‘आयोजनाको बाँध, सुरुङ, विद्युत्‌गृह र प्रसारण लाइन सबै क्षेत्रको काम भइरहेको छ,’  ‘आयोजनाको बाँध क्षेत्रको ८० प्रतिशत निर्माण पूरा भएको छ । डिसान्डर लगायतका काम बाँकी दुई महिनाभित्र पूरा गर्ने गरी काम भइरहेको छ ।

‘सोमबार ४४ मिटर लामो ड्रप साफ्ट र २ मिटर लामो इन्क्लाइन्ड पेनस्टकको ‘ब्रेक थ्रु’ भएको छ । १४५० मिटर लामो सुरुङ खन्ने काम पनि अन्तिम चरणमा पुगेकोले डेढमहिनाभित्र पूरा हुनेछ । सुरुङको सबै काम तीन महिनाभित्र पूरा गर्ने गरी काम भइरहेको छ’ उनले भने ।

विद्युत्‌गृहको सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको छ । एउटा मेसिनको जग खन्ने काम पूरा भइसकेको छ भने अर्कोकाे मेसिनकाे जग खन्ने काम अन्तिम चरण पुगेको छ । उनले २५ दिनभित्र इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम सुरु गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।आयोजनाको सबै काम पूरा गरी २०८१ जेठभित्र उत्पादन गर्ने लक्ष्य रहेको छ । विद्युत् खरिद सम्झौताअनुसार आयोजनाबाट २०८१ असारभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य भएपनि एक महिना अगावै बिजुली उत्पादन थाल्ने योजनासहित काम भइरहेको आयोजना निर्देशक बमबहादुर थापाले बताए ।

आयोजना सम्पन्न गर्न ३ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ३० प्रतिशत स्वपुजी र ७० प्रतिशत ऋण लगानी छ । आयोजनामा सिद्धार्थ बैंकको एकल लगानी छ ।

भाैगाेलिक अवस्थाका कारण पहुँचमार्गकाे सट्टा दुइ वटा रोपवेमार्फत आयोजनाकाे काम भइरहेको छ । आयोजनाले हेडरेसको आउटलेट र बाँधसम्म रोपवे निर्माण गरेको छ ।

आयोजनाबाट उत्पादन विद्युत् १४.५ किलोमिटर दुरीमा रहेको २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ को स्वीचयार्डमा जोडिनेछ । माथिल्लो चाकु ‘ए’ सम्मको लाइनको काम पनि भइरहेको छ । आयोजनाकाे विद्युत चाकुकाे लाइन हुँदै बाह्रबिसे नगरपालिका–४ स्थित बेतेमा निर्माणाधीन सबस्टेसनमा पुर्‍याइने छ ।

प्रकाशित समय : २१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु