गृहपृष्ठ भन्सार छुट हुनुपर्ने भन्दै सरकारबिरुद्ध टयाक्सी व्यवसायीको प्रदर्शन
भन्सार छुट हुनुपर्ने भन्दै सरकारबिरुद्ध टयाक्सी व्यवसायीको प्रदर्शन
टयाक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् । आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय सरकारले लिएको भन्दै उनीहरुले त्यसको बिरोधमा बुधवार काठमाडौंको तीनकुनेमा र्यालीसहितको बिरोधसभा आयोजना गरेका हुन् ।
१० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय टयाक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरुले बिरोधको कार्यक्रम शुरु गर्नुपरेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले बताए । उनले एक भारतीय कम्पनीको सेटिङमा सरकारले विद्युतीय टयाक्सी खरिद गर्ने निर्णय गरेर आफूहरुको बिचल्ली बनाएकाले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।
संघर्ष समितिले विद्युतीय टयाक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ । उनीहरुले नेपाली पहिचान हुने गरी इम्बोष्ट नम्बर प्लेटको व्यवस्था गर्न, इन्स्योरेन्समा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् ।
प्रकाशित समय : १४:४९ बजे


















